कोरोना प्रभाव : होटल व्यवसाय पुरानै अवस्थामा आउन २ वर्ष लाग्ने

कोरोना प्रभाव : होटल व्यवसाय पुरानै अवस्थामा आउन २ वर्ष लाग्ने


काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको एक महिना भन्दा बढी भइसकेको छ । यसले मानविय क्षति हुनबाट देशलाई जोगाएको छ । तर अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ । देशका सबै क्षेत्रहरु ठप्प छन् । सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । देशभर सञ्चालनमा रहेका होटलहरु पनि पूर्ण रुपमा बन्द छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ । पर्यटन क्षेत्र भित्र पनि होटल व्यवसायमा सबैभन्दा धेरै नोक्सानी भएको छ । नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टे लगायत अन्य होटलहरु पूर्ण रुपमा बन्द भएका छन् । यसबाट होटल व्यवसायमा अर्बौको नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने खतरा समेत बढेको छ । खासगरी तारे होटल, होमस्टे एवं रिसोर्टहरुका ग्राहक पर्यटक हुन् । तर देश लकडाउनमा भएपछि सबै उडानहरु स्थागित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अर्बौको नोक्सानी भएको छ ।

नेपालमा १५ भन्दा बढी पाँचतारे होटल, ८ वटा चारतारे होटल, ३७ वटा तीनतारे होटल, ४३ वटा दुईतारे, ३३ भन्दा बढी एकतारे होटल सञ्चालनमा रहेका छन् । यसबाहेक देशभर साढे दुईसय भन्दा बढी होमस्टे सञ्चालनमा छन् भने पर्यटक स्तरका होटलहरु १ हजार १ सय भन्दा बढी सञ्चालनमा छन् । यी सबै होटलहरु अहिले बन्द रहेका छन् । जसका कारण होटल क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको छ । नेपालको होटल क्षेत्रमा बैंकहरुले समेत कर्जा लगानी गरेका छन् । व्यवसाय नै ठप्प भएपछि बैंकको किस्ता भुक्तानी गर्न समेत होटल व्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ । होटलको अकुपेन्सी रेट शुन्य अवस्थामा आउँदा पनि अहिलेसम्म होटल क्षेत्रको क्षतिको लागि सरकारले कुनैपनि प्याकेज ल्याएको छैन ।

होटल व्यवसायीहरुले छोटो समयमा देखिएको यो संकटले अर्को दुई वर्षसम्म असर पार्न सक्ने बताउँदै आएका छन् । देश लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ । नेपालमा चिनियाँ, भारतीय एवं युरोपियन पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका छन् । कोरोना भाइरस महामारीका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि स्थगित भइसकेको छ । पर्यटन वर्षमा धेरै पर्यटक ल्याउन ठूलो लगानी गरेका होटल व्यवसायीहरु होटल बन्द गरेर बस्नु परेपछि अझ बढी समस्यामा छन् । सरकारले होटल क्षेत्रका लागि उचित समयमै उचित राहत दिन नसके खर्बाैं रुपैयाँ लगानी भएको होटल क्षेत्र बन्द हुने मात्र नभई नेपालको पर्यटन क्षेत्र नै बन्द हुने अवस्थामा पुग्ने छ । यसबाट देशले खर्बौंको आम्दानी गुमाउने मात्र नभई लाखौं नागरिकको रोजगारी समेत गुम्ने छ ।

Logo