सीमामै अड्‍‍किए २ हजार ३१८ नेपाली

सीमामै अड्‍‍किए २ हजार ३१८ नेपाली


काठमाडौं ।
कोराना संक्रमणका कारण नेपाल–भारत सीमाना बन्द भएपछि नेपालका सीमावर्ती १८ जिल्लाको सीमापारि भारतीय क्षेत्रको क्वारेन्टाइनमा २ हजार ३ सय १८ नेपाली अड्किएका छन् । त्यस्तै नेपालका सीमावर्ती १९ जिल्लामा ११ सय ९४ भारतीय अड्किएका छन् ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको नेपाल प्रहरीको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार पारेको उक्त विवरणमा दुवैतर्फको सीमावर्ती क्षेत्रमा रहेका नेपाली र भारतीयको संख्या प्रत्येक दिन घटबढ हुने गरेको देखिन्छ ।

सीमा क्षेत्रमा क्वारेन्टाइनमा भएका नेपालीलाई ल्याउने प्रक्रिया सुरु भइसकेको छ । उक्त विवरण अनुसार सीमापारि अड्किएका कुल नेपालीमध्ये सुदूरपश्चिम प्रदेशको कैलाली, बैतडी, दार्चुला र कञ्चनपुर जिल्लाका सीमापारि मात्रै झन्डै ७२ प्रतिशत अर्थात् १६ सय ६० नेपाली अड्किएका छन् । जबकि यी चार जिल्लाको नेपालतर्फको सीमानामा २२ भारतीय मात्रै अड्किएका छन् । प्रदेश ५ का ६ सीमावर्ती जिल्ला बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका भारतीय नाकामा ४ सय २७ नेपाली अड्किएका छन् । यी जिल्लाको नेपालतर्फको नाकामा ४ सय २५ भारतीय अड्किएका छन् ।

प्रदेश २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको सीमापारि भारतीय क्षेत्रमा एक सय २० नेपाली अड्किएका छन् । जबकि यिनै जिल्लाको नेपाली सिमानामा ४ सय ४९ भारतीय छन् । स्रोतबाट प्राप्त विवरण अनुसार प्रदेश २ मा सबैभन्दा धेरै नेपाली अर्थात् ९३ जना सर्लाहीपारिको भारतीय सीमामा अड्किएका हुन् । त्यस्तै पर्साको सीमामा सबैभन्दा धेरै अर्थात् १ सय ७६ भारतीय अड्किएका छन् ।

भारतसँग सीमानामा जोडिएका प्रदेश १ का चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीको पारिपट्टि भारतीय नाकामा ४१ नेपाली अड्किएका छन् । त्यस्तै यी जिल्लाको नेपालतर्फका नाकामा २ सय १७ भारतीय अड्किएका छन् ।कान्तिपुरबाट

Logo