रामेछामको ओख्रेनीमा प्रवेश गर्न अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने

रामेछामको ओख्रेनीमा प्रवेश गर्न अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने


काठमाडौं ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ६ ओख्रेनीमा बाहिरबाट वडामा प्रवेश गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण आफ्नो वडामा फैलिन नदिन सो व्यवस्था गरिएको हो ।

वडाध्यक्ष धन बहादुर खड्काले कोरोना भाइरसको रोकथामका लागि बाहिरबाट वडामा प्रवेश गर्ने सबैले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । उनले भने–‘वडामा उपलब्ध स्वास्थ्यकर्मीहरु मार्फत १२ घण्टा अध्यक्ष सहितको टोलि प्रत्येक टोलटोलमा बाहिरबाट आउनेको निगरानी राखेका छौँ । बाहिरबाट आउने सबैले अनिवार्य स्वास्थ्य परीक्षण गर्नु पर्दछ ।’

त्यस्तै वडाध्यक्ष खड्काका अनुसार वडाका विभिन्न स्थानमा २ सयभन्दा बढी सावुन पानीले हातधुन मिल्ने पानी ट्याङ्कीको व्यवस्था गरिएको छ । लकडाउनका कारण समस्यमा परेका नागरिकले आफूलाई सम्पर्क गर्न सक्ने अध्यक्ष खड्काले बताए ।

त्यस्तैगरी लकडाउनका कारण समस्यामा परेका नागरिकलाई काठमाडौंबाट निशुल्क वडासम्म ल्याउने व्यवस्था समेत गरिएको छ । बाहिरबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षण गरेर सेल्फ क्वारेन्टाइनमा राखिएको छ । साथै, यस वडामा आएकाको अभिलेख समेत राखिँदै आएको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहतका नाममा चामल र दाल मात्र उपलब्ध गराएर नहुने भन्दै समाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

उनका अनुसार घरमै पुगेर भत्ता उपलब्ध गराइएको छ । साथै, अत्यावश्यक औषधिको अभाव हुन थालेको गुनासो आएकाले त्यसको विवरण संकलन गर्ने काम भइरहेको छ ।

Logo