महानगरका ३२ वडामा आरडीटि परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

महानगरका ३२ वडामा आरडीटि परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


काठमाडौं ।
काठमाडौं महानगरपालिकाको ३२ वडामा विदेशबाट आएका र शंकास्पद व्यक्तिको ¥यापिड डाइनोस्टिक टेस्ट (आरडीटि) परीक्षण गरिएको छ ।  काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएपछि महानगरले परीक्षणलाई तीव्रता दिएको हो ।

अहिलेसम्म परीक्षण गरिएका १ हजार १६ जनाको रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएको छ । शनिबार मात्रै वडा नम्बर–११, १२, १६, २५, २८, २९, ३० र ३२ का १ सय १५ जनाको ¥यापिड टेष्ट गरिएको महानगरका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिए ।

महानगर प्रमुख बिद्यासुन्दर शाक्यले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोवास गरिरहेका, कोरोना लक्षणको शंका लागेका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण गरिएको बताए ।
‘हामीले आजसम्म ३२ वटै वडाका १ हजार १६ जनाको आरडीटि परीक्षण सम्पन्न गरेका छौँ । अझै पनि परीक्षणका क्रममा कोही छुटेका छन् र त्यस्तो जानकारी कसैलाई छ वा त्यस्तो व्यक्ति महानगरभित्र बसोवास गरिरहेको कसैले देख्नुभएको छ भने सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्नुहोला’–प्रमुख शाक्यले भने–‘हामी उहाँहरुको तत्काल परीक्षण गरेर उहाँलाई, उहाँको परिवारलाई र समग्र महानगरवासीलाई कोरोना संक्रमणको भयबाट मुक्त गराउन चाहन्छौँ ।’

त्यस्तै काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले अहिलेसम्म ६२ हजार २ सय बढीलाई राहत वितरण गर्नुका साथै १८ हजार ४ सय ६३ जनालाई खाना खुवाएको जानकारी दिए ।

Logo