१ हजार ८ सय पर्यटन मजदूरलाई रोजगारी सिर्जना गरिंदै

१ हजार ८ सय पर्यटन मजदूरलाई रोजगारी सिर्जना गरिंदै


काठमाडौं ।

नेपाल पर्यटन बोर्ड, नेपाल पर्वातारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) लगायत अन्य निकायसँगको सहकार्यमा पर्यटन क्षेत्रका १ हजार ८ सय मजदूरलाई एक महिना भित्र रोजगारी सिर्जना गरिने भएको छ।

कोरोना भाइरसका कारण मुलुक चैत ११ गतेदेखि लकडाउनमा रहेको छ। यसरी मुलुक लकडाउन भएकोले देशको समग्र पर्यटन क्षेत्र तहसनहस भएको छ। यसको प्रभावले पर्यटन क्षेत्रमा मात्रै २ अर्ब भन्दा बढिको क्षति हुने अनुमान गरिसकिएको छ।

मुलुक ३३ दिनदेखि लकडाउनमा रहेकाले पर्यटन क्षेत्रमा दैनिक ज्याला मजदूरी गर्ने बीस हजार मजदूरको रोजगारी गुमेको छ। लकडाउन तत्काल खुल्ने र कोरोना भाइरस पनि अहिले नै नियन्त्रण भइहाल्ने स्थिति पनि छैन र तत्काल सबै मजदूरलाई रोजगारी दिने पनि अवस्था नरहेकाले केही पर्यटन क्षेत्रमा काम गर्ने मजदूरलाई रोजगारी होस् भनेर पर्यटन व्यवसायीहरूको छाता संस्था टान, एनएमए, पर्यटन बोर्डसहित अन्य निकायहरुको सक्रियतामा हिमाल तथा पर्यटकीय पदयात्रा सफाइ तथा मर्मत र सम्पदा सर–सफाइमा तत्कालका लागि रोजगारी सिर्जना गर्ने विषय अगाडि सारिएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए ।

उनका अनुसार बोर्डले संयुक्त राज्य विकास कार्यक्रम (यूएनडीपी) सँग सहकार्य गरि एक हजार जना तथा ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ टानका ६ सय जना र बाँकि अन्य क्षेत्रका गरि करिब १ हजार ८ सय मजदूरलाई रोजगारी दिने गरि छलफल अघि बढाइएको छ ।

उनले भने, ‘यस विषयमा यूएनडीपीसँग छलफल भइरहेको छ यदि सम्झौता भयो भने तत्काल पर्यटन क्षेत्रका अठार सय मजदूरले काम पाउने छन् ।’ यसरी सबै निकायको समन्वयमा पर्वातारोहण बाटो सफा पनि हुने र केही समयका लागि रोजगारी गुमेका मजदूरहरुलाई केही राहत मिल्ने भएकाले केही समयको लागि मौसम अनुसार काम गर्ने मजदूरलाई रोजगारी सिर्जना गरि आयआर्जनको माध्यम बनाउन लागिएको उनको भनाइ छ।

सरकारले कोरोना भाइरसको असर भन्दा पहिलेदेखि देशमा नै रोजगारी सिर्जना गरि बेरोजगार हटाउने उद्देश्यले प्रधानमन्त्री कृषि कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कोष, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अगाडि बढाएको छ । अब यस्ता कार्यक्रम मार्फत रोजगार गुमेका मजदूरलाई व्यवस्थापन गर्नु पर्ने प्रवक्ता लामिछानेले बताए ।

पर्यटन बोर्डले यूएनडीपीसँगको प्रारम्भिक छलफल अनुसार क्षेत्रगत रुपमा मजदूरहरूलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, काठमाडौंका सम्पदा सरसफाइ र नदी सरसफाइका लागि मजदूर परिचालन गर्नेछ । हिमाल आरोहणमा संलग्नले पर्यटक मजदूरलाई हिमाल सरसफाइ, पदयात्राका मजदूरले पदमार्ग निर्माण, टुरिष्ट गाइडको काम गर्नेले सम्पदा सरसफाइ र र्याफ्टिङ पेसामा आबद्धले नदी सरसफाइमा काम गर्न लगाउने प्रारम्भिक छलफल गरेको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटनमा आश्रित मजदूर, गाइड, भरियासहितको लाखौंका जनशक्ति बेरोजगार बनेको बताउँदै केही रोजगारी खोज्ने विकल्पमा हिमाल तथा पर्यटकीय पदमार्ग सफा गर्ने योजना अघि बढाइएको बताए । उनले भने, ‘यसले पर्यटन क्षेत्रमा लागेका कामदारलाई यो विषम परिस्थितिमा यसरी रोजगारी दिंदा केही राहत मिल्नेछ।’

कोभिड १९ का कारण सम्पूर्ण पर्यटन क्षेत्र प्रभावित भएकाले पर्यटन क्षेत्रका करिव बीस हजार मजदूर बेरोजगार बनेका छन् । त्यसैले अहिले पर्यटन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र तीनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पर्यटन बोर्ड र व्यवसायी संघ संस्थाले छलफल गरिरहेको अध्यक्ष सुवेदीले बताएका छन् ।

Logo