‘ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्नु हुँदैन’ : ऊर्जामन्त्री रायमाझी

‘ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्नु हुँदैन’ : ऊर्जामन्त्री रायमाझी


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् । विद्युत खपत र निर्यात गर्नु पर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनु पर्ने बताए। एमसीसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनु पर्ने उनको भनाई छ ।

ऊर्जामन्त्री रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण विद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उनको भनाई छ । मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्धाहरु नै गुम्ने स्थिति आएका कारण मध्यावधि निर्वाचनमा जानु परेको बताए। उनले मध्यावधि निर्वाचनमा जानु प्रगतिशिल कदम भएको टिप्पणी गरे । देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उनको भनाई छ । उनले प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताए ।

मन्त्री रायमाझीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको बिहिबार देखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्तर्विरोध न्युनिकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिए। मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्रमन्त्री स्तरिय नियमित भ्रमण रहेको बताए।

Logo