नेपालमा हालसम्म ४७ हजार ४९६ जनाको कोरोना परिक्षण

नेपालमा हालसम्म ४७ हजार ४९६ जनाको कोरोना परिक्षण


काठमाडौं ।
अहिले सम्म कुल संक्रमित ४८ जना छन भने १० जना निको भएर घर फर्किइसकेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको बताए । उनले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताए । उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक/एक जना रहने छन् । हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा २ समूह, उपमहानगरपालिकामा ३ समूह र महानगरपालिकामा ५ वटा समूहका दरले खटाइने समेत उनले बताए । प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताए ।

यस्तै प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनैपनि नयाँ बिरामी नथपिएको बताए । उनले प्रदेश नम्बर एकमा परीक्षणको दायरालाई बढाइएपनि नयाँ संक्रमण फेला नपरेको बताए । यद्यपी उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोशि अस्पतालमा पठाइएको उनले बताए ।

प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्यसहित टोली परिचालन गरिएको उनले बताए । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको उनले बताए ।

अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ । यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएको समेत उनले बताए ।

प्रदेश नम्बर १ मा अहिले सम्म ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । उनले अहिलेसम्म देशभर १२ हजार ९ सय ८५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेको बताए । यस्तै काठमाडौं उपत्यकामा ३ र उपत्यकाबाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको समेत उनले बताए ।

Logo