भोजपुरमा कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक

भोजपुरमा कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक


भोजपुर।

भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।

पौवादुङमा गाउँपालिका–६ ठूलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सिमानामा पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । त्यस्तै मार्ताङ नाकासँगै र धनकुटासँग सीमा जोडिएको अँधेरीघाट नाकामा क्वारेन्टाइन निर्माण गरिएको र कोही सुरक्षाकर्मीको आँखा छलेर लुकीछिपी गाउँपालिका प्रवेश गरेको पाइएमा २१ दिनसम्म सीमाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्र गाउँपालिकामा प्रवेश गर्न दिइने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । राईले आफ्ना नागरिकलाई जहाँ छन् त्यहाँ सुरक्षितरुपमा बस्न अनुरोध गर्दै गाउँपालिकाभित्र पनि आवतजावतमा पूर्णरुपमा बन्द गरिएको बताए ।

सुरक्षाकर्मीसँगै सबै वडाका स्थानीय युवा सीमा नाकाको सुरक्षामा रहेको अध्यक्ष राईले जानकारी दिए । “सुरक्षाकर्मीसँगै स्थानीय युवा आफैँ आफ्नो ठाउँको सुरक्षामा लागेका छन्, मध्यपहाडी लोकमार्ग पनि हाम्रो स्थानीय तह हुँदै जाने भएकाले त्यहाँ पनि कडाइ गरिएको छ, कतिपय अवस्थामा एम्बुलेन्सको प्रयोग गरेर मानिसहरु ओसार–प्रसार गरेको सुनिएको साथै ढुवानीका साधनले पनि मानिस ओसारप्रसार गरेको पाइएकाले त्यसो नगर्न हामीले अनुरोध गरेका छौँ, त्यस्तो भेटिएमा कारवाहीको दायरामा ल्याइने छ”, अध्यक्ष राईले भने ।

भोजपुरमा एक जनामा कोरोनाको पुष्टि

भोजपुरमा पनि कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएको पुष्टि भएको छ । भोजपुरको हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका ती युवकमा कोरोना पुष्टि भएको हो । भोजपुरमा गरिएको आरडिटी परिक्षणमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो । उनलाई धरानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । ती युवकलाई आज कोभिड अस्पताल विराटनगर लैजाने जनाएको छ ।रासस

Logo