#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31243022965097744236222835563
नेपाल641224111747846233

भारतले प्याज निकासीमा रोक लगायो, प्रत्यक्ष असर नेपालमा

काठमाडौं ।

छिमेकी मुलुक भारतमा प्याजको भाउ बढ्दै गएपछि त्यसको असर नेपाली बजारमा परेको छ । प्याजको मूल्य बढेपछि भारतले सोमबार सूचना प्रकाशित गर्दै निकासीमा रोक लगाएको थियो । भारतले रोक लगाएसँगै मंगलबार नेपाली बजारमा १५ देखि २० रुपैँयाँ प्रतिकेजी प्याजको मूल्य बढेको छ । मंगलबार कालीमाटी तरकारी बजारमै प्याजको भाउ बढेको हो ।

सोमबार ५९ रुपैयाँमा बिक्री भएको प्याज मंगलबार प्रतिकेजी ७५ रुपैयाँ पुगेको छ । भारतले प्याज निकासी बन्द गरेसँगै यसपालीको दशैंमा प्याजको मूल्य अझै बढ्ने आँकलन गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भारतमा मूल्य बढेकाले नेपालमा स्वतः मुल्य बढ्ने बताए । भारतबाट निकासी हुँदासम्म चीनबाट पनि खासै प्याज नआउने भएकाले स्थानीय बजारमा प्याजको मूल्य बढेको उनको भनाइ छ । नेपाली बजारमा झण्डै ८० प्रतिशत हिस्सा भारतीय प्याजको रहँदै आएको छ । भारतीय प्याजमा रोक लागेसँगै नेपाली बजारले त्यसको प्रत्यक्ष मार खेप्ने गरेको छ ।

प्याजको उपलब्धता बढाउने तथा घरेलु बजारमा बढिरहेको प्याजको मूल्य नियन्त्रण गर्न भारतको विदेश ब्यापार महानिर्देशालयले प्याजको निकासीमा रोक लगाएको जनाएको छ ।

महानिर्देशनालयका अनुसार भारतले बेंगलुरु रोज तथा कृष्णापुरम जातको प्याजको निकासीमा पनि रोक लगाएको छ । भारत सरकारले हालसम्म यी दुई प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाएको थिएन । दक्षिण भारतका विभिन्न राज्यमा यसपाली धेरै पानी परेका कारण प्याजको बालीमा नोक्सान भएको छ । जसका कारण उत्पादनमा कमी भएपछि भारतका स्थानीय घरेलु बजारमै प्याजको मूल्यमा वृद्धि भएको छ । घरेलु बजारका साथै थोक मन्डीहरुमा पनि गत अगस्टदेखि नै प्याजको भाउ बढिरहेको महानिर्देशालयले जनाएको छ । भारतमा प्याजको कारोबार मूल्य किलोको ५० भारु सम्म पुगेपछि सरकारले प्याजको निर्यातमा रोकेको थियो ।

त्यस्तै, कोरोना भाइरसको महामारीको समयमा पनि भारतबाट प्याजको धेरै नै निर्यात भएको छ । अप्रिलदेखि जुनको अवधिमा भारतबाट १९ करोड ८० लाख डलर बराबरको प्याज निर्यात भएको महानिर्देशालयले जनाएको छ । गत वर्ष भारतले विभिन्न मुलुकमा ४४ करोड डलरको प्याज निर्यात गरेको थियो । भारतबाट बंगलादेश, श्रीलंका, मलेसिया र यएई लगायतका मुलुकहरुमा सबैभन्दा बढी प्याज निर्यात हुँदै आएको देखिएको छ ।

सम्बन्धित समाचारहरु