#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240113965066743958822835459
नेपाल641224111747846233

प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा नियुक्ति रोकिएको कांग्रेसको आरोप

फाइल फोटो/कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं । देशका १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । कतिपय आयोगहरुमा कार्यकाल सकिएर पद रिक्त रहेको छ भने कतिपय आयोगहरुमा नियुक्त भएका पदाधिकारीहरुले समेत राजीनामा दिएका छन् ।

समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि कोही पनि नियुक्त भएका छैनन् । प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल अध्यक्ष नियुक्त भएपनि चार सदस्य रिक्त रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त छैनन् । अहिले अख्तियारमा प्रमुख आयुक्त पद पनि रिक्त रहेको छ । आइतबार नवीन घिमिरेको कार्यकाल सकिएपछि प्रमुख आयुक्त पद खाली भएको हो । आयुक्त राजनारायण पाठक घुस काण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।

त्यस्तै निर्वाचन आयोगमा इला शर्मा र सुधीर शाहको कार्यकाल सकिएपछि कोही पनि नियुक्त भएका छैनन् । अहिलेसम्म पनि मधेशी, दलित र आदिवासी जनजाति आयोगले अध्यक्ष पाएका छैनन् । यी आयोगमा अध्यक्षसहित चार जना अन्य पदाधिकारी रहने व्यवस्था छ । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै सत्ताधारी दलबाट प्रचार भइरहेका बेला नेपाली कांग्रेसले भने प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदपूर्ति हुन नसकेको आरोप लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा मात्र क्रियाशिलता बढाएको कांग्रेसको आरोप छ । लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदपूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।

प्रवक्ता शर्माले कुनै पनि नियुक्ति गर्दा हामीलाई यो पद दिनुपर्छ भनेर विन्ति नचढाएको दाबी गरे । संवैधानिक परिषद्को व्यवस्थाअनुसार राज्यका महत्वपूर्ण अंगहरुमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामित्व हुनुपर्छ भन्ने कांग्रेसको धारणा भएपनि आफूहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको उनले प्रष्ट पारे । साथै लामो समयसम्म आयोग पदाधिकारी विहिन हुँदा पनि ध्यान पु¥याउन नसकेकाले पूर्ण रुपमा सरकार असफल भएको प्रवक्ता शर्माको भनाइ छ ।

सम्बन्धित समाचारहरु