#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341592321018792770988825430552
नेपाल778174982089156428

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।  जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् । किसानको छोरा सुगा अहिले ७१ वर्षका भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका हुन् ।

प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सँधै प्रतिबद्ध रहेको बताए । उनले भने–‘मेरो लगाव सबै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु ।’ उनले आफूले सबैभन्दा बढी प्राथमिकता कोरोना विरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । त्यसका लागि सबैकोतर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे ।

उनको मन्त्रिपरिषद्मा पूर्व अर्थ मन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने संभावना देखिएको छ ।
सुगाले यसअघि लिएको मन्त्रिपरिषद्को मुख्य सचिवको जिम्मेवारी भने तत्कालीन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहेका सुगालाई यसअघि गत सोमबार पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो । सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । गत सोमबार भएको पार्टीभित्रको निर्वाचनमा उनले ३ सय ७७ मत पाएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै ल्याएका थिए ।

निवर्तमान प्रधानमन्त्री आबेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए ।
उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरि प्रधानमन्त्रीमा निर्वाचत भएका थिए । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री बनेका थिए ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका ६५ वर्षीय आवेले आफ्नो कार्यकाल करिब एक वर्ष बाँकी रहेकै बेलामा राजीनामा दिएका हुन् । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर काम गरेका थिए । जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइन्छ भने पार्टीभित्र पनि उनको प्रभाव धेरै छ ।–रासस/एपी/एएनआई

सम्बन्धित समाचारहरु