#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32131180982517744432823704335
नेपाल678044361741449954

प्याजमा कालोबजारी तीब्र : दुई दिनमै ९० रुपैयाँले मूल्यबृद्धी, कालीमाटी बजारमा स्टक नै सकियो

काठमाडौं ।

सोमबारदेखि भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृतिम अभाव गरि कालोबजारी सुरु भएको छ । प्याज निर्यात नहुने भएपछि व्यवसायीहरुले आफूखुशी मूल्यबृद्धी गरेर किनबेच गर्न सुरु गरेका छन् ।

कालीमाटी तरकारी बजारको मूल्य अनुसार दुई दिन भित्रमा नै प्याजको मूल्य शतप्रतिशत भन्दा बढीले बृद्धी भएको छ । सोमबार विहानसम्म प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको प्याज बुधबार १ सय ३० रुपैयाँ पुगेको छ ।

प्याजको मूल्य एक्कासी बढ्न थालेकाले यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न थालेको छ । यतिबेला आम उपभोक्ता विश्वभर फैलिएको कोरोना महामारीको चपेटामा परेका छन् । यसरी कोरोना महामारीको चपेटामा परेका आम उपभोक्ता प्याज तथा तरकारीको मूल्य दैनिक बृद्धी हँुदै गएकाले अझ बढी मारमा परेका हुन् ।

प्याजको निर्यात दुई दिनदेखि नभएकाले बजारमा व्यापारीहरुले आफूखुशी रुपमा मूल्य लिन लागेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सूचना अधिकारी विनायक श्रेष्ठले स्वीकार गर्दै प्याज अभाव हुने भएपछि केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको बताए ।

उनका अनुसार व्यवसायीले यसरी जथाभावी मूल्यबृद्धी गरेर प्याज किनबेच गर्ने थालेको गुनासो आएकाले मंगलबारदेखि नै बजार अनुमगन थालिएको श्रेष्ठले जानकारी दिए । नेपाल प्याजका लागि भारतसँग नै निर्भर रहेकाले यसको आयात रोकिंदा बजारमा स्वाभाविकरुपमा नै प्याजको अभाव हुन्छ । श्रेष्ठले भने, ‘कालीमाटी तरकारी बजारमा सोमबार ३५ टन प्याज निर्यात भएको तर मंगलबारदेखि आयात ठप्प रहेको छ ।’ नेपालमा भारतबाट दुई महिनामा ३४ सय टन प्याज आयात भएको पनि उनको भनाइ छ ।

पछिल्लो दुई महिनादेखि नेपाली बजारमा प्याजको मात्र नभएर हरेक तरकारीको मूल्य दोब्बर भन्दा बढीले बृद्धी हुँदै गएको छ । यसले गर्दा महामारीको चपेटामा परेका आम उपभोक्ताको दैनिक उपभोग्य सामाग्रीको मूल्यले ढाड सेक्न थालेको छ । दैनिक उपभोग्य बस्तु खाद्यान्नदेखि तरकारीको मूल्य आकाशिदै गएकाले कोरोनाका कारण रोजगारी गुमाएर बसेका सर्वसाधारण तथा उपत्यकाबासी नै समस्यामा पर्न थालेका छन् । बजारमा अन्य हरियो तरकारी तथा गुन्द्रुकको मूल्य भन्दा कुखुराको मासु सस्तो भएको छ ।

सोमबारसम्म बजारमा ७६ रुपैयाँ प्रतिकिलो मूल्य रहेको प्याज एकै दिनमा ५४ रुपैयाँले बढेर बजार १३० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, बजारमा प्याज बाहेक अन्य तरकारीको मूल्य पनि आकाशीएको छ । बजारमा उपभोक्ताले हरेक तरकारीको मूल्य प्रतिकेजी ५० भन्दा कममा पाउन छोडेका छन् ।

कालिमाटी तरकारी बजारमा आज गोलभेडा १०० रुपैयाँ प्रतिकेजी पुगेको छ । त्यस्तै, आलु प्रतिकेजी ८० रुपैयाँ, काउली १००, मूला ५०, बन्दा ६५, काउली १००, घिउ सिमी १००, तनेबोडी ८० रुपैयाँमा खुद्रा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ । अहिले मौसमी तरकारीको मूल्य समेत उस्तै रहेको छ । मौसम अनुसार तरकारीको मूल्य घटबढ भइरहन्छ । तर यसरी बजारमा तरकारीको मूल्य उच्च भइरहे पनि कृषकहरु भने सोचे जस्तो मूल्य पाएका छैनन् ।

कालोबजारी गर्ने चार व्यवसायी पक्राउ

प्याजको अभाव हुने भएपछि बजारमा कृतिम अभाव गरेर बढी मूल्यमा बिक्रि गर्ने दुई व्यवसायी पक्राउ परेका छन् । बुधबार बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई प्याज कालोबजारी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बल्खु तरकारी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेच्दै गरेका व्यापारी सुनिल केसी लगायत अन्य तीन जनालाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालीमाटीको जिम्मा लगाइएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैँ बजार अनुगमनमा

सोमबारदेखि भारतबाट प्याजको निर्यात प्रतिबन्ध भएको तथा बजारमा प्याजको कालोबजारी गरेर मूल्यबृद्धी भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैँ बजार अनुगमनमा निस्केका छन् । बजारमा प्याजको कालोबजारी बढेको सबैतिर जनगुनासो बढ्न थालेपछि उपभोक्ता बनेर मन्त्री भट्ट काठमाडौँको कालीमाटी तरकारी बजार लगायत विभिन्न होलसेल पसलहरुमा प्याज किन्न पुगेका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले पनि एक महिना अगाडिदेखि बजार अनुगमनलाई तिब्रता दिएको छ । प्याज कोलोबजारीको विषयमा पनि दुई दिनदेखि निरन्तर तरकारी बजारमा अनुगमन गरिरहेको छ भने यता खाद्यसंस्थान तथा वाणिज्य विभागले पनि चार्डवार्ड लक्षित टोली बनाएर अनुगमन गरिरहेको विभागले जनाएको छ ।

कालीमाटीमा प्याजको मौज्दात छैनः समिति

भारतबाट प्याज निर्यात रोकिएको दुई दिनमा नै मौज्दात सकिएको छ । बुधबारदेखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मौज्दात सकिएको समितिका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बजारमा प्याजको मौज्दात सकिएकाले व्यवसायीले खुद्रा बजारमा मूल्यबृद्धी गरेर बेचेको हुन सक्ने बताएका छन् । कालीमाटी बजारमा प्याज किन्न आउने व्यवसायी प्याज नपाएर त्यतिकै फर्केका छन् । भारतबाट आउन छोडेपछि बजारमा प्याजको अभाव भएको श्रेष्ठले बताएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार