#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31490311969362740153023119419
नेपाल652764271761147238

ब्लग : आत्महत्या !

  • दीपिका भुसाल

एक जना मान्छेको मन अर्को उस्तै मान्छेले किन बुझ्न सक्दैन होला । भाषा मिल्ने, बोलीचाली रहनसहन सबै मिल्ने, सँगै खाने, बस्ने , सुत्ने उठ्ने सम्पूर्ण सृष्टिले तोकेका कामहरू सँगै गर्ने तर एकले अर्कोको ‘मन’ पटक्कै नबुझ्ने या बुझ्न नसक्ने यो कस्तो सृष्टि होला भगवानले बनाएको । अर्को मान्छे रुँदा आँसु आएको देख्ने तर ‘किन रोयो होला’ भन्ने नबुझिने कस्तो संसार होला यो ? उसलाई दुख्यो त्यो थाहा हुने तर उ भित्र कति पीडा छ त्यो थाहै नहुने कस्तो चलन होला यो । कास मान्छेले मान्छेको मन बुझ्न सक्दो हो भने पीडामा रहेको आफन्तको मन छामेर मल्हम पो लगाइदिन्थ्यो कि ।

सामाजिक सञ्जालमा आएका समवेदना र आत्महत्याका समाचार हरूले मलाई विचलित बनाउँछन् । ‘आत्महत्या’ गर्नुपर्ने परिस्थिति कसरी सृजना हुन्छ या गराइन्छ त्यो आत्महत्या गरेको मान्छेले मात्र बुझेको हुन्छ या अन्य विकल्प नभएर लगभग मृत्युको मुखमा पुगिसकेको तर आत्महत्या गर्नबाट जोगिएको कुनै मान्छेले मात्र त्यसलाई बयान गर्न सक्दछ । निर्मम छ मान्छे र उत्ति नै निर्मम छ समाज हाम्रो । गल्ती गरेकाहरू उपेक्षाको सिकार हुन्छन् नै । यहाँ गल्ती नै नगरेकाहरू समेत पल पल उपेक्षित भएर बाँचिरहेका हुन्छन् । त्यही उपेक्षाले निम्त्याउँछ डिप्रेसन र डिप्रेसनले पुर्याउँछ मृत्युको मुखमा ।

आफ्नै असफलताहरूलाई आफैले झेल्न नसक्दा । अरूले गरेको अपमानलाई सहन नसक्दा या क्षणिक आवेगलाई नियन्त्रण गर्न नसक्दा अचानक गर्न पुगेका आत्महत्याको कुरा बेग्लै होला नत्र लामो समयसम्म आफू भित्र पालेर राखेको ‘डिप्रेसन’ ले नै मान्छेलाई आफ्नै प्राण त्याग्न दुरुत्साहन गर्ने हो । चरम दुःखको समयमा त्यस्तो निर्णय गर्ने सोच धेरै जनाले बनाएका हुन्छन् । कोही त्यो निर्णय गलत हो भनेर आफै‌ँ सच्चिन्छन् । कसैलाई डाक्टरले उपचार गरेपछि निको हुन्छ कोही भने पीडामा भित्र भित्रै पिल्सिएर अन्त्यमा आफैँलाई सिद्ध्याउने काम गर्दछन् ।

मेरी यौटी साथी थिइन् , गीता भट्टराई । मलाई बैनी भन्ने र अत्यन्तै स्नेह गर्ने । ‘बैनी तिमीले लेखेको ब्लग पढेर साथी हुन आएकी हुँ भनेर म्यासेज गर्थिन् । हामी दुःख विसाउँथ्याैँ सामाजिक सञ्जालका च्याट रुममा । मैले आफूले काटेका दुःख र कसला सुनाउँथेँ कहिलेकाहीँ, उनले “तिम्रो कथा पढेरै बुझिसकेकी थिएँ यी कुरा” भन्थिन् ।

आज ती मेरी प्यारी दिदीले आफ्नो जिन्दगी आफैँसँग खोसेको समाचार पढ्नु पऱ्यो । कविता लेख्थिन, गजल लेख्थिन् खासमा मैले बुझ्ने भन्दा माथिल्लो स्तरको साहित्य लेख्थिन ती मेरी दिदी । म पढ्थेँ उनका सृजनाहरू, आधा बुझ्थेँ आधा म बुझ्दिनथेँ-उनको अनुहार हेरेरै मैले उनीभित्र अथाह पीडा छ भन्ने अनुमान गर्थेँ  तर उनको अनुहारमा त्यो पीडा कहिल्यै देखिँदैन थियो । एकदम फरासिलो बोली, मिजासिलो व्यवहार र हँसिलो अनुहार थियो गीताको । आवरण हेरेर उनले आत्महत्या गर्न सक्छिन् भनेर कसले अनुमान गरोस् र –कास उनको मन बुझ्ने कोही भइदिएको भए उनी यसरी अल्पायुमै अलप हुने थिइनन् ।

मलाई माया गर्ने एक जना दिदीले गीतासँग चिनाजानी गराइदिनु भएको थियो ।  त्यही दिदीले गीताको मृत्युको दुःखद खबर सुनाउनुभयो । मैले फोन गरेँ  मेरो गला अवरुद्ध भयो अनि समाचारको शीर्षक खोल्न नपाउँदै सँगै मुटु चिसो भयो । खोलेर पढ्ने हिम्मत गर्न सकिन मैले ।

गीताभित्र अथाह पीडा थियो । उनले खुलस्त नभने पनि उनको बोली र उनका केही रहर बाट त्यो कुरा अनुमान गर्न सकिन्थ्यो ।  म पनि विदेश आउँछु बैनी, आफ्नो लागि केही गर्छु बैनी भन्थिन गीता दिदी, उनमा बाँच्नको लागि म आफैँ केही गर्नुपर्छ भन्ने भावना थियो कतै न कतै । तर परिस्थिति यस्तो क्रूर भइदियो की उनले जीवनलाई अगाडि बढाउनै चाहिनन् त्यसैले उनी आज हामी माझ छैनन् ।

मनको कुरा कसैले बुझ्ने चेष्टा गरेन सायद ।  त्यसैले उनले  विलीन हुने निर्णय गरिन् । मेरो मनले आफ्नै सुदूर अतितको  यौटा फन्को लगाउँछ अनि म मनमनै डराउँछु । म त्यही अवस्थामा थिएँ  कुनै दिन । एक्लै जस्तो, विरक्त र निराश जस्तो । भरोसाका हातहरूको पकड खुकुलो हुँदै गए जस्तो । टेक्ने डाली लच्कँदै गए जस्तो र समाउने हाँगो नै नभए जस्तो, आफू  एक्लो अत्यन्तै एक्लो भए जस्तै ।

मेरो नैराश्यताको कारणले म  त्यस्तै अवस्थामा पुगेको भए ? यस्तै निर्णय मैले गरेको भए यो संसार यती जालिम छ भनेर कसरी बुझ्न सम्भव हुँदो हो र ! यो संसार अत्यन्तै पापी  छ गीता दिदी । तिमी हामी जस्ता धेरैलाई त्यही बाटो देखाउँछ । धैर्य र कठोर मन गरेर बाँच्न पर्नेमा तिमीले मृत्युको बाटो रोज्यौ म विक्षिप्त भएँ ।

तिम्रो आत्महत्याको कारण खोतल्दा निस्कने अपराधीहरूलाई कुनै कानुनले दण्डित गर्न सक्दैन त्यसैले तिमीले गल्ती गऱ्यौ गीता दिदी । तिमीले यो संसारमा बाँचेर देखाउनु पर्थ्यो, तिम्रा सामाजिक तंगाराहरु भाँचेर देखाउनु पर्थ्यो । आफू जीवनसँगको युद्धमा हारको सङ्घारमा हुँदाहुँदै पनि तिमीले मलाई “बैनी तिमी योद्धा हौ जीवन सँगको यो युद्ध जित्नु पर्छ” भनेर दिएको त्यो ढाडस! म कहिल्यै बिर्सने छैन । तिमी आज बिलाएर गयौ/मेरो हृदयमा अमिट छाप छोडेर—अलबिदा गीता दिदी ।

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार