#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30597584954038739600522247541
नेपाल615933901738343820

असोज दोस्रो साताबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सरकारको तयारी

file photo

काठमाडौं ।

व्यवसायीहरुले सरकारले गरेको निर्णय अनुसार असोज १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्न तयार रहेको बताएका छन् । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिहरुको भेटपछि व्यवसायीहरुले भोलिदेखि नै लामो दूरीका बसहरु संचालन गर्न तयार रहेकाले सरकारले भोलि बिहानसम्ममा बस संचालनको कार्यविधि उपलब्ध गराउन माग गरेका छन् । मन्त्रालयले बस सञ्चालन कार्यविधि बनाउने जिम्मा यातायात व्यवस्था विभागलाई दिएको छ ।

मन्त्रीसँगको भेटपछि लामो दूरीका सार्वजनिक यातायात संचालनको निर्णय गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले बुधबार नै संयुक्त विज्ञप्ती निकालेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाका अनुसार भोलिदेखि नै बस सञ्चालन गर्ने गरी व्यवसायी तयारी अवस्थामा रहेको बताए । हामी सरकारको निर्णय अनुसार भोलिबाट नै बस सञ्चालनमा ल्याउँछौं । उनले,‘भोलि नै कति यात्रु पाइन्छ त्यही अनुसार नै बस सञ्चालनमा ल्याउछौं ।’

त्यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बस सञ्चालनको कार्यविधि तयार भइसकेको बताए । उनका अनुसार बस सञ्चालन गर्ने कार्यविधिमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सवारीसाधन संचालन गर्न पाइने व्यवस्था गरिएको छ ।

यस्तो छ बस सञ्चालनको कार्यविधि

कोरोना महामारीका कारण लकडाउन तथा निषेधाज्ञा हुँदा ६ महिनासम्म बन्द रहेको लामो दूरीको यातायात सञ्चालनका लागि स्वास्थ्य मापदण्डसहितको नयाँ कार्यविधि अनुसार बस सञ्चालन गर्नु पर्ने भएको छ । त्यसका लागि विभागले कार्यविधि बनाएको छ । कार्यविधिमा बसहरुले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने व्यवस्था गरिएको छ । यस्तै, भौतिक दूरी कायम हुने गरी एक पंक्तिको एक सिटमा एक जना मात्र यात्रु राख्नु पर्ने, सिटबाहेक अन्यत्र यात्रु राख्न नपाइने, यदि ४० सिट क्षमताको सवारीसाधन छ भने २० जना मात्रै यात्रु बोक्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, सवारी चढ्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्ने, यात्रु चढ्ने समयमा सवारीसाधनको ढोकामा र भित्र अनिवार्य रुपमा सेनिटाइजर राख्नु पर्नेछ । चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाउनु पर्ने तथा दैनिक रुपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ । चालक बस्ने ठाउँलाई पनि खुल्ला छाड्न पाइने छैन । चालक एरियालाई प्लाष्टिकले नै भए पनि बेर्नु पर्ने वा कभर गर्नुपर्ने पनि व्यवस्था गरिएको छ । बसले आधा मात्रै यात्रु वोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने व्यवस्था पनि सरकारले नै गरेको छ ।

माथि उल्लेखित कार्यविधि पालना भए नभएको अनुगमन यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक प्रहरीले गर्नेछन् ।

स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर सवारीसाधन संचालन नगरिए कोरोना संक्रमण गाउँगाउँसम्म पुग्न सक्ने भएकाले सार्वजनिक यातायात संचालन गर्दा स्वास्थ्य मापदण्डमा कडाई गर्नुपर्ने विभागले जनाएको छ ।

यसअघि यातायात व्यवसायीहरुले सरकारले असोज १ गतेबाट अर्थात विश्वकर्मा पूजाका दिनदेखि सरकारले स्वीकृति नदिए निषेधाज्ञाको अवज्ञा गरेर बस चलाउने निर्णय गरेका थिए । तर सरकारले व्यवसायीको माग अनुसार नै असोज १ गतेबाट नै यातयात सञ्चालन गर्न अनुमति दिएको हो ।

असोज दोस्रो सातादेखि अनलाइन अग्रिम टिकट बुकिङ खुल्ने

यातायात व्यवस्था विभागले असोज दोस्रो साताबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीहरुलाई प्रस्ताव गरेकाले यही प्रस्ताव अनुसार नै अग्रिम अनलाइन टिकट बुकिङ खुल्ने महानिर्देशक हमालले केन्द्रविन्दुलाई बताए । उनका अनुसार टिकट बुकिङका लागि बसपार्कमा भिड बढ्ने भएकाले सकेसम्म अग्रिम टिकट बुकिङ गर्दा विद्युतीय अनलाइनबाटै टिकेटिङको व्यवस्था गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार