#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32657987990981757510124091905
नेपाल706144591828951866

अष्ट्रेलियालाई सिरिजकाे उपाधि

अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ विकेटले हराएकाे छ । तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिजकाे उपाधि २-१ ले जितेकाे छ ।

जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे । अष्ट्रेलियलाई उत्कृष्ट जित दिलाउन तल्लोक्रममा ग्लेन म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्का सहित १ सय ८ रनको सानदार इनिङ खेले ।

अर्का विकेटकिपर एलेक्स केरीले ११४ बलमा १०६ रन जोड्दै ओडिआई करिअरको पहिलो शतक प्रहार गरे । यी दुईबीचको साझेदारी ४८ औं ओभरको तेस्रो बलमा आदिल राशिदले टम करनबाट म्याक्सवेललाई क्याच गराउँदै तोडेका थिए ।

तेस्रो ओभरको पाँचौ बलमा क्रिस वोक्सले कप्तान ओरोन फिन्चलाई १२ रनमा एलबिडब्लू आउट गरे । वोक्सले पाँचौ ओभरको अन्तिम बलमा मार्कस स्टोइनिसलाई ४ रनमा कप्तान ओईन मोर्गनबाट क्याच आउट गर्दै पेभिलिएन फर्काए । ११ औं ओभरको पाँचौ बलमा जो रुटले डेभिड वार्नरलाई २४ रनमा बोल्ड आउट गर्दै ५१–३ को अवस्थामा पुर्याए । १३ औं ओभरको चौथो बलमा मिचेल मार्शलाई रुटले बटलरबाट २ रनमा क्याच आउट गराउँदै दबाब निरन्तर बढाए ।

१७ औं ओभरको पाँचौ बलमा मार्नस लाबुसेन २० रनमा रन आउट भएपछि बलियो लक्ष्य पछ्याई रहेको अष्ट्रेलिया ७३–५ को कमजोर अवस्थामा पुगेको थियो । तर छैटौं विकेटका लागि म्याक्सवेल र केरीले दोहोरो शतकीय साझेदारी गर्दै जितसम्म पुर्याए । मिचेल स्टार्क ११ र प्याट कमिन्स ४ रनमा अविजित रहे ।

पार्टटाइम स्पिनर जो रुटले ८ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चर र आदिल राशिदले १–१ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

एडम जाम्पाले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिएका थिए । मिचेल स्टार्कले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो ।

सम्बन्धित समाचारहरु