#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30650024955152742523922269633
नेपाल615933901738343820

सर्वशक्तिमान बन्दै पूर्व अर्थमन्त्री डा‌. युवराज खतिवडा

फाइल फोटो

काठमाडौं । पूर्व अर्थ, सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडा सर्वशक्तिमान बन्ने भएका छन् । अर्थमन्त्रीबाट बाहिरिएको १० औँ दिनमै सिंहदरबारमा भित्रिएका पूर्व अर्थमन्त्री डा. खतिवडा सर्वशक्तिमान बन्न लागेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै परराष्ट्रमन्त्री एवं सरकारका वर्तमान प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पूर्वमन्त्री खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिएका थिए ।

मन्त्री सरह सुविधा पाउने गरी डा. खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो । भदौ २० गते ६ महिने पदावधि पूरा भएसँगै मन्त्री खतिवडाले बाध्यात्मक अवस्थामा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । यसअघि पनि उनी दुई वर्ष अर्थमन्त्री बनेका थिए । संविधानको धारा ८६ (३) ले एक तिहाइ राष्ट्रिय सभा सदस्यको पदावधि दुई वर्षको हुने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार अर्थमन्त्री खतिवडासहित अन्य १८ जना सदस्यको गत फागुन २० गते पदावधि पूरा भएको थियो । राष्ट्रिय सभाको दुई वर्षे पदावधि पूरा भएर गत फागुन २० गते बाध्यात्मक अवस्थामा अर्थमन्त्री डा. खतिवडाले राजीनामा दिएका थिए ।

राजीनामा दिएको २४ घण्टा नबित्दै पुनः उनलाई अर्थमन्त्रीमा नै फागुन २१ गते शपथ खुवाइएको थियो । सोही दिनदेखि सुरु भएको उनको कार्यकाल गत भदौ २० गते पूरा भएको हो । संघीय संसदको सदस्य नभएको व्यक्ति बढीमा छ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार उनले गत भदौ २० मा बालुवाटार पुगेर प्रधानमन्त्री ओली समक्ष राजीनामा दिएका थिए ।

डा. खतिवडाले राजीनामा दिएको केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग छलफल गरेका थिए । उक्त छलफलमा डा. खतिवडा पनि सहभागी भएका थिए । सोही दिनदेखि प्रधानमन्त्री ओलीले डा. खतिवडालाई सरकारको निकट राख्ने संकेत गरेका थिए । खतिवडालाई मन्त्री सरहको जिम्मेवारी दिएसँगै अब नयाँ अर्थमन्त्री नियुक्ति हुने सम्भावना न्यून भएको कतिपयको दाबी छ । किनभने राजीनामा दिएको केही समयमा नै सर्वशक्तिमान भएर सिंहदरबार भित्रिएका डा. खतिवडा हात्तीको देखाउने र चपाउने दाँत जस्तै हुन् । बाहिरि आवरणमा प्रधानमन्त्री ओली आफैले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् तर पर्दा पछाडि काम गर्ने राजीनामा दिएका अर्थमन्त्री डा. खतिवडा नै हुने छन् । संसद र संसदीय समितिमा जवाफ दिन र मन्त्रिपरिषदमा प्रस्ताव लैजान प्रधानमन्त्री ओलीले अर्थराज्यमन्त्री नियुक्त गर्न सक्ने सम्भावना भने देखिन्छ ।

त्यस्तै नेकपा कोटाबाट राजनीतिक नियुक्ति पाउनेमा डा. खतिवडा पनि भाग्यमानी मध्येका औँलामा गनिने व्यक्तिहरुमा पर्छन् । अहिलेसम्म डा. खतिवडाले पाएको राजनीतिक नियुक्तिमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय सभा सदस्य हुँदै दुई वर्ष अर्थमन्त्री, संघीय संसदको सदस्य नभएपनि छ महिना अर्थमन्त्री र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार रहेका छन् ।

उनको सिंहदरबार प्रवेशसँगै अर्थ मन्त्रालयसँगै अन्य सबै मन्त्रालयमा प्रभाव जमाउने आँकलन गरिएको छ । अर्थमन्त्री खतिवडा सरकारमा हुँदा पनि सबै मन्त्रालयका योजनाहरु बनाउँदा प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडातर्फ नै बढी झुकाब राखेको मन्त्रीहरुले गुनासो गर्दै आएका थिए । अर्थमन्त्रीसँग निकट भएर काम गरेकाहरु अब विशेष सल्लाहकारको भूमिकामा सिंहदरबार भित्रिएका डा. खतिवडाको सबै मन्त्रालयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्नता हुने दाबी गर्छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार