#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32663446991034758019624092216
नेपाल706144591828951866

एन्फालाई मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

काठमाडौं ।

मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रस्ताव गरेका छन् । कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेका हुन् ।

कोरोनाले प्रभावित बनेका दक्षिण एसियाली मुलुकसँगै क्यारेबियन मुलुकबाट समेत मैत्रिपूर्ण खेलका लागि प्रस्ताव आएको छ । एन्फाले दुई होम गेमसँगै एक अवे खेलका लागि प्रस्ताव आएको जानकारी दिएको छ ।

नेपाललाई दक्षिण एसियाली मुलुक बंगलादेशसँगै एसियाली मुलुक मंगोलिया र क्यारेबियन मुलुक डोमेनिकन रिपब्लिकको प्रस्ताव आएको हो । बंगलोदशले नेपाललाई अवे खेलका लागि समेत प्रस्ताव राखेको छ भने मंगोलिया र डोमेनिकन रिपब्लिक भने नेपाल आउन पनि राजी भएको छ ।

सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण फुटबलका गतिविधि सुरु हुन पाएका छैनन् । गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सरकारले खेलकूदका गतिविधि पूर्ण रुपमा बन्द गरेको छ । जसका कारण मैत्रीपूर्ण खेलका लागि एन्फाले मिति तय गरेको छैन ।

नेपालसँगै बंगलादेशले पनि फिफा विश्वकप २०२२ को दोस्रोचरणको छनोट खेल खेलिरहेको छ । कोरोना महामारीका कारण हाल एसियाली फुटबल महासंघले आफ्ना सम्पूर्ण प्रतियोगिताहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको छ । नेपाल फिफा बरियतामा १ सय ७० औं स्थानमा रहेको छ । मंगोलिया १ सय ९० औं र डोमेनिकन रिपब्लिक १ सय ५८ औं स्थानमा रहेको छ ।

यता प्रशिक्षण खुल्ला गर्न राखेपसँग एन्फाको माग

त्यस्तै यता एन्फाले फुटबल प्रशिक्षण खुल्ला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालसँग भेट गरि खेलाडीलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारले खेलाडीलाई प्रशिक्षणका लागि तत्काल अनुमती प्रदान गर्नुपर्ने बताएका थिए । अन्य सबै क्षेत्र विस्तारै खुल्दै गएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले खेलकुदलाई समेत खुल्ला गर्ने बिषयमा सरकारको ध्यानकर्षण गराएका हुन् ।

‘तत्काल प्रशिक्षण मात्र भए पनि खोलौं । अवस्था सामान्य भएपछि प्रतियोगिताको बिषयमा सोचौला तर खेलाडीलाई अभ्यासमा फर्काउन ढिला गर्न हुदैन । सरकारले यसमा बिशेष ध्यान दिन आवश्यक छ ।’ शेर्पाले भने ।

एन्फाले सरकारले अनुमती प्रदान गरेको अवस्थामा बिना दर्शक अन्र्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा गर्न सकिने प्रस्ताव गरेको छ । एन्फाले मैत्रीपूर्ण फुटबल खेलका लागि धेरै देशबाट प्रस्ताव आएको उल्लेख गर्दै सरकारले तत्काल प्रशिक्षणको अनुमती दिनुपर्ने माग गरेको हो ।

एन्फासँगको छलफलमा सदस्य सचिव सिलवालले खेलाडीलाई प्रशिक्षणमा फर्काउन आफूले पहल गर्ने जानकारी गराएका थिए । एन्फाको मागप्रति आफू सकारात्मक रहेको बताउँदै उनले यस बिषयमा सरकारसँग संवाद गर्ने आश्वासन दिएका छन् ।

सरकारले यसअघि भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलका लागि प्रशिक्षण खुल्ला गर्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमण फैलिएको भन्दै सरकारले सम्पूर्ण खेल गतिविधि बन्द गरेको छ । सरकारले यस बिषयमा आवश्यक निर्णय नगर्दा खेलाडी सामान्य प्रशिक्षणमा फर्कन पाएका छैनन् भने सम्पूर्ण खेलकुद गतिविधि ठप्प अवस्थामा छ ।

सम्बन्धित समाचारहरु