आरडीटी टेष्टका लागि काभ्रेमा मुस्लिम पहिचान गरिँदै

आरडीटी टेष्टका लागि काभ्रेमा मुस्लिम पहिचान गरिँदै


काभ्रे ।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिरहेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय यो हप्ता ‘मुस्लिम पहिचान, आरडिटी अभियान’ झैँ स्थानीयस्तरमा लागेको छ । “स्थानीयस्तरमा रहेका मुस्लिम समुदायका व्यक्तिको पहिचान गरी आरडिटी गराइरहेका छौँ”, कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार तीन दिनमा करिब ६० जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत हप्ता उदयपुरमा भेटिएका कोरोना सङ्क्रमितमध्ये केही भारतीय मुस्लिमसमेत रहेकाले काभ्रेमा बसोबास गर्दै आएका मुस्लिम समुदायका व्यक्तिको पनि ‘ट्राभल हिस्ट्री’ बुझ्दै आरडिटी गर्न थालिएको हो । स्थानीयस्तरमा ती समुदायका व्यक्तिलाई कोरोना भाइरसबारे सचेतना गराई उनीहरुको पछिल्लो यात्राबारे जानकारी लिँदै आवश्यकता अनुसार परीक्षण गर्दै आएको झाले बताए । उनले भने, “उनीहरुको ट्राभल हिस्ट्री लिएपछि मात्रै आवश्यकता अनुसार आरडिटी गर्छौं , आरडिटीमा पनि शङ्का लागेमा थप परीक्षण पिसीआर पनि गर्नेछौँ ।”

कार्यालयले गरेको प्रारम्भिक पहिचान अनुसार बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरमा मुस्लिम समुदायका व्यक्ति बसोबास गर्ने पाइएको छ । बनेपा नगपालिका–१० थापागाउँमा बस्ने ३० मुस्लिमको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको झाले जानकारी दिए। उनका अनुसार उनीहरुको हाल थप परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) गर्नुपर्ने देखिएको छैन । “थप परीक्षण गर्नुपर्ने आवश्यकता भए गर्न सकिन्छ”, झाले भने । उदयपुरमा आरडिटी गरिएको भारतीय मुस्लिमको थप परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

बनेपा नगपालिका–१० मा बस्ने ३० मुस्लिम समुदायका व्यक्ति उदयपुरस्थित मस्जिदको कार्यक्रममा सहभागी भएर आएको जानकारी प्राप्त भएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए। उनले भने, “उनीहरुको आरडिटीमा नेगेटिभ देखिए पनि पिसीआर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।” उनका अनुसार २७ पुरुष र तीन महिलालाई ‘होम क्वारेन्टाइन’मै बसाइएको छ । उनीहरु निर्माण तथा गहना बनाउने कामका सिलसिलामा वर्षौंदेखि बनेपामा बस्दै आएका छन् ।

यसअघि विभिन्न मुलुकबाट गत चैत महिना यता घर फर्किएका २५१ काभ्रेलीमा गरिएको आरडिटीमा कोरोना भाइरस नेगेटिभ देखिएको थियो । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्ता ३०० किट उपलब्ध गराएपछि आरडिटी गर्न थालिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।रासस

Logo