सिउरुङ गाउँ गए पाँच हजार, बसाए ३० हजार जरिवाना

सिउरुङ गाउँ गए पाँच हजार, बसाए ३० हजार जरिवाना


लमजुङ ।

जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ को पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा पाँच हजार र घरमा बसाए घरधनीलाई ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र र महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बचाउनका लागि गाउँका आमा समूह, युवा क्लब स्थानीयवासी लगायतले संयुक्तरूपमा उक्त निर्णय गरेका हुन् ।

गाउँमा कोरोना सङ्क्रमित व्यक्ति आउन सक्ने र यसको रोकथामका लागि उक्त जरिवानाको निर्णय गरिएको सिउरुङ गाउँका आमा समूह अध्यक्ष तोमाया गुरुङले बताइन् । उनले भनिन् “हाम्रो यहाँ घरवाससमेत सञ्चालन रहेकाले विभिन्न ठाउँबाट गाउँ प्रवेश गर्न सक्ने भएकाले जरिवानाले गाउँ प्रवेशमा रोक हुने अपेक्षा गरेका छौँ ।” गाउँपालिकाको कार्यापालिका सदस्य एवं सोही वडा सदस्य रहेकी स्थानीय ताराकाशी गुरुङले भनिन्, “विश्वमा कोरोनाको त्रास बढ्दै जाने क्रममा यहाँ पनि स्थानीयवासीमा जोखिम बढ्यो, स्थानीयवासी त्रासमा रहन थालेपछि हामीले यस गाउँ प्रवेश गर्ने चार ठाउँमा काँडेबारसमेत लगाएका छौँ ।”

वि.सं. ०६५ बाट शुरु भएको सिउरुङमा हाल १९ वटा घरवास रहेका छन् । सिउरुङ गाउँमा १२० घरधुरी छन् । मनास्लु हिमालको काखमा रहेको उक्त घरवास समुद्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा छ । गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायत हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवास पुग्ने पर्यटकलाई अग्रानिक खाना, लोकल कुखुराको मासु, गाउँमै उत्पादित साग सब्जी लगायतको परिकार खुवाउने गरिन्छ । साथै गुरुङ समुदायको सांस्कृतिक कृष्ण चरिण, घाँटु, सोरठी लगायतका नाच हेर्न पाइन्छ । उनीहरुको परम्परागतदेखि चलिआएको रोघी बस्ने समेत चलन छ ।

बेंसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ घरवासमा पुग्नलाई २४ किलोमिटर जिपमा पार गर्नपर्छ । पैदलयात्रुका लागि भने करिब एक दिनभरि नै लाग्ने गर्दछ । कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीयवासीले यस घरवासमा यतिबेला पर्यटकलाई रोक लगाएका कारण सुनसान बनेको छ ।

२३ हजारको स्वास्थ्य परीक्षण

यसैबिच विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट शुक्रबारसम्म २३ हजार ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको क्वीक रेस्पोन्स टिमले जनाएको छ ।

लमजुङको मुख्य प्रवेशद्वार सुन्दरबजार नगरपालिका –७ पाउँदीबजारमा राखिएको स्वास्थ्य सहायता कक्षमा सबैभन्दा बढी १२ हजार २२४ जनाको परीक्षण भएको छ । त्यस्तै मध्यनेपाल नगरपालिकास्थित दुईपिप्ले स्वास्थ्य सहायता कक्षमा सात हजार ८८७ हजार र सो नगरको रामबजारमा राखिएको हेल्थ डेस्कमा दुई हजार १८६ जनाको स्वास्थ्य परीक्षण भएको छ ।रासस

Logo