दोहा कतार ।
विश्वभर कोरोनाका कारण अलपत्र नेपाली नागरिकहरूलाई सरकारले सहजिकरण उडानमार्फत नेपाल ल्याइरहेको छ भने खाडी राष्ट्र कतार, दुबई र कुवेतबाट आगामी अक्टोबर १ देखि नियमित उडान गर्ने भएको छ । तर कतारबाट यो महिना भरि नेपाल, हिमालयन तथा कतार एयरवेजले उडान भरिरहेका छन् । कतार एयरले हप्ताको तीन दिन नियमित उडान गर्दैछ भने नेपाल एयरले २६, २७, २९ र ३० र हिमालयन एयरलाइन्सले २७ तारिख उडान भर्ने निश्चित भएको छ ।
४३ औँ सहजिकरणमार्फत २ महिलासहित १६७ , ४४ औँ सहजिकरण उडानमार्फत ३ महिलासहित १४५ र आज भएको ४५ औँ उडानमार्फत १५ महिलासहित १४६ जना उडेका छन् । लकडाउन यता नेपाल तथा हिमालयन एयरलाइन्सले ४५ र कतार एयरवेजले करिब १२ पटक दोहाबाट नेपालका लागि उडान गरेका छन् ।
हालसम्म १० हजार भन्दा बढी नेपाली नागरिक नेपाल फर्किएका छन् । करिब १७ हजार नागरिक नेपाल जाने फाराम भरेर दूतावासको सूचिमा नाम पर्खेर बसीरहेका छन् ।
किन टिकट लिन गएनन् यात्रु ?
नेपाली राजदूतावासले सेप्टेम्बर महिनामा नेपाल जाने यात्रुको नामावली सार्वजनिक गरिसकेको छ । नाम आए पनि टिकट पाइएन भनेर पीडितहरु सामाजिक सञ्जालमा निकै आक्रोशित बनेका देखिन्छन् तर नेपाली नियोगले पछिल्लो समय नेपाल एयरको उडानका लागि सार्वजनिक गरेको विवरणका व्यक्तिहरू टिकट लिन नगएको बुझिएको छ । यसको प्रमुख कारण अक्टोबर एक तारिखबाट नियमित फ्लाइट खुल्ने र टिकटको पैसा सस्तो पर्ने अपेक्षाले टिकट काट्न आनाकानी गर्ने गरेको बुझिएको छ ।