वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच टेलिफोन वार्ता

वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच टेलिफोन वार्ता


काठमाडौं ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच आज टेलिफोन वार्ता भएको छ । वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई सबै तवरले सहयोग गर्न वाग्मती प्रदेश सरकार तयार रहेको बताएको जनाइएको छ ।

टेलिफोन वार्तामा मुख्यमन्त्री पौडेलले प्रदेश २ को समस्या नेपालको साझा समस्या भएकाले त्यसको मिलेर समाधान गरिने बताएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । स्वकीय सचिव पौडेलका अनुसार मुख्यमन्त्री पौडेलले प्रदेश २ मा धेरैभन्दा धेरैलाई कोरोना परीक्षण गर्नुपर्ने देखिएकाले परीक्षणमा वाग्मती प्रदेशले पूर्णरुपमा सघाउने बताउँदै उक्त प्रदेशबाट पायक पर्ने जति नमूना हेटौँडाको ल्याबमा पठाउन अनुरोध गरे ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश २ मा लकडाउनलाई कडा बनाउन सल्लाह दिए । कोरोनाविरुद्ध सबैभन्दा प्रभावकारी तरिका लकडाउन मात्रै हुने भएकाले लकडाउनलाई कडा बनाउनुको विकल्प नभएको उनले सुझाएको स्वकीय सचिव पौडेलले जानकारी दिए। उनले यो वा त्यो प्रदेश भनेर आफू नबस्ने बताउँदै देशलाई नै महामारीबाट बचाउन लाग्नुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश २ प्रति देखाएको चासो र सहयोगको प्रतिबद्धताप्रति पौडेललाई धन्यवाद व्यक्त गर्दै नेपाल भारतबीचको खुल्ला सिमानाका कारण कोरोना महामारी नियन्त्रणमा समस्या पर्न सक्ने बताएको जनाइएको छ । मुख्यमन्त्री राउतले नागरिकका आनीबानी तथा शैक्षिक अवस्थाका कारणसमेत समस्या निम्तिन सक्ने बताएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।रासस

Logo