२०७६ को समीक्षादेखि तरकारी बजारको जोखिमसम्म(भिडियोसहित)

२०७६ को समीक्षादेखि तरकारी बजारको जोखिमसम्म(भिडियोसहित)


काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना भाइरसको संकट नसकिदांसम्म आफ्नो सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ सालको अवसरमा सोमबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै लकडाउन लागू गर्न असफल भएको भन्दै टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले पदबाट राजीनामा दिएका छन् । ३१ शहरमा लकडाउन घोषणा गरिए लगत्तै तनावग्रस्त स्थिती आएपछि उनले राजीनामा दिएका हुन् । गृहमन्त्री सुलेमानले आफूले यस्तो स्थितीको पूर्ण जिम्मेवारी लिँदै ट्वीटरमा राजीनामा दिएको घोषणा गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् । सोमबार सामाजिक संजाल ट्वीटर मार्फत उनले यस्तो घोषणा गरेका हुन् । राष्ट्रिय सभाबाट आफूले पाउने एक वर्षको पारिश्रमिक नलिने उनले उल्लेख गरेका छन् ।

त्यस्तैगरी ०७६ को बिदाइसँगै नयाँ वर्ष २०७७ प्रारम्भ भएको छ । विगतका अनुभव र कमजोरीबाट पाठ सिकेर काम गर्न वर्ष २०७६ ले एक प्रकारको प्रेरणा दिएको छ । आर्थिक समृद्धि, दिगो विकास र सुशासनलाई प्राथमिकताका राखेको वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले वर्ष २०७५ लाई समृद्धिको आधार र वर्ष २०७६ पछि विकासमा उपलब्धि आरम्भको वर्षका रुपमा व्याख्या गरेको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको छ । लकडाउनको समयमा तरकारी जस्तो अत्यावश्यक वस्तु किन्नका लागि जम्मा हुने नागरिकको भीडभाड व्यवस्थापन फितलो हुँदा कोरोना संक्रमणको जोखिम बढेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभुल्नूहोला

Logo