बिर्सिए धेरैले नयाँ वर्षमा मात्र फुल्ने फूल सलहेशलाई

बिर्सिए धेरैले नयाँ वर्षमा मात्र फुल्ने फूल सलहेशलाई


सिरहा ।

हरेक नेपाली नयाँ वर्ष आउँछ त यसैबेला शुरु हुन्छ एउटा अनौठो फूलको पनि । यो फूल हरेक वर्ष नयाँ वर्षको पहिलो दिन मात्र फुल्छ ।

सिरहा जिल्लाको लहानदेखि करिव ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित एक फूलबारीमा हजारौं रुखहरु छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ । माला आकारमा फूल्ने यसको नाम हो सलहेश । आजको दिन यसलाई हेर्नका लागि त्यहाँ स्वदेश तथा विदेशबाट मानिसहरुको भिड लाग्छ ।

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने यो अनौठो फूलले सिरहाको मात्र नभएर प्रदेश नं. २ कै विशेषता बोकेको छ । फूल फुल्ने नयाँ वर्षकै सन्दर्भ पारेर यहाँ हरेकवर्ष सलहेश महोत्सव पनि आयोजना गरिन्छ । तर यसवर्ष भने मुलुकभर लकडाउन गरिएकाले यहाँ न फूल हेर्ने मानिस आए न त मेला र महोत्सवकै आयोजना गरियो ।

प्रदेश नं. २ मा प्रचलनमा रहेको मिथिला संस्कृति भित्र सलहेश राजाको चर्चा पाइन्छ । यहाँ बाह्रौं शताब्दीतिर राजा सलहेशले राज्य गरेको मान्यता छ । यहाँ उनलाई भगवानको रुपमा पनि लिइन्छ । उनकै सम्झनामा मनाइने महोत्सव भएपनि फूलबारीको मध्यभागमा रहेको मालिन मन्दिर र दक्षिणतिर टाँस्सिएको हारम रुखको मध्यभागमा फुल्ने माला आकारको फूल सलहेश यहाँको अनौठो प्रतिकको रुपमा रहेको छ ।

हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई यहाँ राजा सलहेश र दौना मालिनको प्रेमको प्रतिकका रुपमा लिइन्छ । एउटै रुखमा, एउटै ठाउँमा, एउटै आकृतिमा र वर्षमा एक दिनमात्र फूल फुल्नु लाई यहाँ अलौकिक तत्वको रुपमा लिने गरिएको छ ।

Logo