काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने क्रम बढेसँगै सरकारले पुनः लकडाउन गर्न सक्ने संकेत गरेको छ । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।
त्यस्तै सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सोमबार ओलीसँग बालुवाटारमा भएको भेटमा प्रचण्डले विवाद मिलाउने जिम्मा ओलीकै भएको बताएका हुन् । दुई अध्यक्ष बीच आज झण्डै डेढ घण्टासम्म वार्ता चलेको बालुवाटार निकट स्रोतको भनाइ छ ।
ट्राफिक प्रहरीले सडक सुरक्षादेखि भाडादरसमेतमा नियन्त्रण गर्न सरप्राइज योजना ल्याएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ योजना लागु गरिएको महाशाखाले जनाएको हो ।
त्यस्तैगरी चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि पाँच दिनभित्र शहरका सबै नागरिकको परीक्षण गरिने भएको छ । पाँच वटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहरका ९० लाखको पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् ।
बोइलर कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको छ ।
काठमाडौंलगायतका कतिपय ठाउँमा कुखुराको मासु प्रतिकिलो २ सय भन्दा पनि कम मूल्यमा झरेको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २ सय ५ रुपैयाँ तोकेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..