ग्यास कालोबजारी गर्ने पक्राऊ

ग्यास कालोबजारी गर्ने पक्राऊ


पर्वत ।
लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहिबार नियन्त्रणमा लिएको हो ।

वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीमाथि बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको उपभोक्ताको आरोप छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य एक हजार ३ सय ७५ तथा ढुवानीसहित भरी सिलिण्डरको एक हजार ४ सय र आधा सिलिण्डरको ७ सय तोकेको छ । व्यवसायी रेग्मीले एक हजार ७ सय लिएर ग्यास बिक्री गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको हो ।–रासस

Logo