काठमाडौंमा विदेशबाट आएका १३४ जनाको विवरण सङ्कलन

काठमाडौंमा विदेशबाट आएका १३४ जनाको विवरण सङ्कलन


काठमाडौं ।

पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले हालसम्म १३४ जनाको विवरण सङ्कलन गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले यस किसिमको अभ्यास शुरु गरेको हो ।

हाल सङ्कलन भएका विवरणमध्ये ६० जनाले विदेशबाट आएको १५ दिन पार गरिसकेका छन भने अन्य होम क्वारेन्टाइनमा रहेका महानगरपालिकाले जानकारी गराएको छ । महानगरको प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार ०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरभित्र बसोबास गरिरहेकाको विवरण सङ्कलन कार्य भइरहेको छ । विवरण सङ्कलनको काम जारी रहेको र हाल प्राप्त विवरण अनुसार सबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

विदेशबाट फर्केका नेपाली सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिकाभित्र बसोबास गर्नेको विवरण सङ्कलन शुरु गरेको हो ।

विदेशबाट फर्कने, अझ भारतबाट आएका नेपाली नागरिक १४ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नै पर्ने नियमलाई पालना गर्न महानगरले यस्तो विवरण सङ्कलनको कामलाई तीव्ररुपमा अघि बढाएको जानकारी दिएको छ । सङ्कलित विवरणमध्ये बढी दुबईबाट फर्किएका छन् ।

त्यसैगरी कतार, फ्रान्स, अष्ट्रेलिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारत लगायतका देशको भ्रमण गरी आएकाको पनि विवरण सङ्कलन गरिएको छ । कोही विदेशबाट आएका तर महानगरको सम्पर्कमा आउन नचाहनेका लागि पनि आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि भन्दै तत्काल सम्पर्कमा आउन आग्रहसमेत गरिएको छ । अन्य कसैलाई जानकारी भए पनि महानगरलाई तथा सम्बन्धित वडा कार्यालयमा जानकारी दिन भनिएको छ ।रासस

Skip This
Logo