महाराष्ट्रमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित

महाराष्ट्रमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित


मुम्बइ ।
महाराष्ट्रमा ‘कोभिड १९’ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार ७८ पुगेको बताइएको छ । बुधबारमात्र महाराष्ट्रमा कोभिड १९ का ६० जना संक्रमित भेटिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका संक्रमितहरुको संख्या एक हजार नाघेको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । आज भेटिएका ती ६० जनामा ४४ जना स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका ४४ जना ‘बृहनमुम्बई म्युनिसिपल कर्पोरेसन’ क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ७ सय ७३ जना सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिनमा यतिधेरै बिरामी भेटिएको यो नै पहिलो घटना भएको अधिकारीहरुको भनाई छ । भारतमा बुधबारसम्म ५ हजार १ सय ९४ जना सङ्क्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो ।

यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४ सय १ जना सङ्क्रमित भने उपचार पछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ४ हजार ६ सय ४३ जना बिरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार यहाँ पछिल्लो २४ घन्टा भित्रमात्र निधन हुनेको संख्या १० रहेको छ । आजमात्र १० जना कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ४९ जना पुगेको बताइएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी बिरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या ६ सय ९० रहेको छ ।
त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ५ सय ७६ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । –रासस/एएनआई

Skip This
Logo