बैंकले घटाए निक्षेपको ब्याजदर

बैंकले घटाए निक्षेपको ब्याजदर


काठमाडौं ।

संचालनमा रहेका वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन् । सोमबार नेपाल बैंकर्स संघले १ प्रतिशत आधारदर घटाउन सहमति गरेको थियो । संघको सोही सहमति अनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरुले नयाँ वर्षदेखि निक्षेपको ब्याजदर घटाउने भनिए पनि बुधबारदेखि नै घटाउन थालेका हुन् ।

बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएको जनाएका छन् । बैंकहरुले १५ महिना अघि ब्याजदरमा भद्र सहमति गरेका थिए । बैंकहरुले बुधबार दैनिक पत्रिका मार्फत सूचना जारी गर्दै निक्षेपको ब्याजदर घटाएको जानकारी दिएका हुन् ।

बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दति निक्षेपका ब्याज दर ८.७५ प्रतिशत तोकेका छन् । संस्थागत निक्षेपकर्ताको ब्याज दर ८ प्रतिशत दिने भएका छन् । यसअघि बैंकहरुले संस्थागत निक्षेपमा ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । नवीकरण गर्ने निक्षेपको ब्याज भने दर ८.१ प्रतिशत हुने संघले जनाएको छ । बैंकले बचत खातामा साढे ६ प्रतिशतसम्म दिँदै आएकोमा घटाएर ५.५ प्रतिशतमा झारेका छन् । केही बैंकहरुले भने ५ प्रतिशत ब्याज तोकेका छन् ।

‘राष्ट्र बैंकले आधारदर घटाएपछि हामीले पनि घटाउनु पर्छ ।’ संघका अध्यक्ष भुवन दाहालले भने । ब्याजदर घटाउनकै लागि आधारदर घटाएको हो । आधारदर घटेपछि ब्याजदर स्वतः घट्छ । ब्याजदर ०.५ देखि ०.७५ प्रतिशत विन्दुसम्मले घट्ने अध्यक्ष दाहालको भनाइ छ । आगामी जेठसम्म ऋणको पनि ब्याज घट्ने उनले बताए । ऋणको ब्याज घटाउन नेपाल राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सीआरआर) र आधारदर पनि घटाएको छ ।

Logo