कोरोना नियन्त्रण गर्न केजरीवालको ‘५ टी’ मन्त्र

कोरोना नियन्त्रण गर्न केजरीवालको ‘५ टी’ मन्त्र


विश्वका बिभिन्न देशहरूले कोरोना भाइरस (कोभिड १९) सँग लड्न आ-आफ्नै तयारी गरिरहेका छन् । छिमेकी मुलुकका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने कोरोना भाइरससँग लड्न ‘५ टी’ को अवधारणा ल्याएका छन्।  के के छन् त यस अन्तर्गत ?

पहिलो टी : टेष्टिङ

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको एउटै माध्यम हो- टेष्ट, टेष्ट अनि टेष्ट । जति धेरै टेष्ट गर्‍यो त्यति नै संक्रमण फैलिने दर जोखिम कम हुन्छ । यसको प्रमाण दक्षिण कोरिया हो । दक्षिण कोरियाले संक्रमित देखिनासाथ र्‍यापीड टेष्ट बढायो जसले गर्दा अहिले त्यहाँ संक्रमण न्यून छ ।

प्रारम्भिक चरणमै सतर्कताका साथ र्‍यापीड टेष्ट गरिएको दक्षिण कोरियामा अहिलेसम्म ४ लाख ७७ हजार टेष्ट भएका छन् । त्यहाँ अहिले ४ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० हजार पुगेको छ । जबकी शुरुमा वास्ता नगर्दा अमेरिका संक्रमितको संख्या नै ४ लाख नाघेको छ भने मृतकको संख्या १२ हजार नाघेको छ ।

केजरीवालले दक्षिण कोरियाको उदाहरण दिँदै तत्काल ५० हजार जनाको टेष्ट र एक लाख जनाको र्‍यापीड टेष्ट गर्ने बताएका छन् । उनले आफैलाई प्रश्न गरेका छन्, ‘टेष्ट नै नगरिकन को संक्रमित छन्, छैन कसरी थाहा हुन्छ ?’

दोश्रो टी : ट्रेसिङ

केजरीवालले संक्रमितको ट्रेसिङलाई महत्वपूर्ण हुने बताएका छन् । संक्रमित व्यक्ति १४ दिनमा कहाँ कहाँ गएर को कोसँग भेटघाट गरे उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्ने उनको कार्ययोजना छ । यो कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रहरीको सहयोग लिइने उनको कार्ययोजनामा उल्लेख छ ।

उनले संक्रमितको सम्पर्कमा गएका २७ हजार ७ सय २ जनाको सम्पर्क नम्वर समेत पत्ता लगाइसकेका छन् । उनीहरूलाई खोजीखोजी क्वारेन्टाइनमा राख्ने उनको योजना छ । फोन नम्वरका आधारमा उनीहरु घरमै छन् कि बाहिर निस्किए भनेर पत्ता लगाउने उनले बताएका छन् । क्वारैन्टाइन, सिल र मनिटरिङ उनको प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ ।

तेस्रो टी : ट्रिटमेन्ट

केजरीवालले सम्बोधन गर्दासम्म दिल्लीमा ५२५ पोजिटिभ केस देखिएका थिए । उनले दिल्लीका ६ वटा हस्पिटललाई कोरोना विशेष हस्टिलमा रुपान्तर गरि दुई हजार ९५० बेड तयारी अवस्थामा राखेका छन् । यदि बिरामीको संख्या ३ हजार नाघेको अवस्थामा अन्य हस्पिटललाई पनि कोरोना विशेष हस्पिटलमा रुपान्तरण गर्ने उनको योजना छ ।

कति केस पुग्दा कुन हस्पिटललाई कोरोना हस्पिटल बनाउने भन्ने खाका तयार पारेका छन् उनले । त्यहाँका होटल, बैंक्युट र धर्मशालालाई समेत हस्पिटलमा रुपान्तरण गर्ने उनको योजना छ । मुटु, मिर्गाैला, क्यान्सर, स्वासप्रस्वास, मधुमेह जस्ता रोगका रोग भएका र ५० वर्षभन्दा माथिका विरामीलाई हस्पिटलमा राख्ने र सामान्य विरामीलाई धर्मशाला, होटलहरुमा राखेर उपचार गर्ने कार्ययोजना बनाएका छन् उनले ।

यति मात्रै होइन कति विरामीका लागि कति भेन्टिलेटर र कति अक्सिजन आवश्यक पर्छ भनेर समेत उनले खाका प्रस्तुत गरेका छन् । ‘३० हजार विरामी भएमा हामीलाई ४ सय भेन्टिलेटरको जरुरी हुन्छ, १२ सय अक्सिजनको बेड आवश्यक हुन्छ ।’ सम्बोधनका क्रममा उनले भने । कति विरामीका लागि कति पिपिई किट्स आवश्यक पर्छ त्यो पनि खाका बनाएका छन् ।

चौथाे टी – टिम वर्क

कोरोनासँग लड्न टिम वर्क प्राथमिक कुरा भएको उनले बताएका छन् । अहिले राजनीति भन्दा माथि उठेर, केन्द्र राज्य सबै एक भएर काम गर्नुपर्ने उनको बुझाइ छ । एउटा राज्य र देशबाट सिकेर अरूले काम गर्नुपर्ने उनले बताए । स्वास्थ्यकर्मीहरूलाई उनले सबैभन्दा ठूला सिपाही भन्दै प्रशंसा गरेका छन् । “डाक्टर र नर्स हाम्रो यो टिमको अहम हिस्सा हुन् । कुनै पनि हालतमा हामी उनीहरुलाई बचाउँछौं । उनीहरु सबैभन्दा ठूला सिपाही हुन् । हामी उनीहरुका परिवारका ख्याल राख्छौं ।” उनले भनेका छन् । उनले भाजपाका नेता तथा सांसदहरूसँग पनि संवाद गरेर अघि बढ्ने बताएका छन् ।

पाँचौं टी : ट्रयाकिङ एण्ड मनिटरिङ

माथिका ४ वटा टी प्रभावकारी ढंगले सम्पादन हुन ‘ट्रयाकिङ एण्ड मनिटरिङ’ अत्यावयक हुने उनको बुझाइ छ । त्यसका लागि आफू  २४ सै घण्टा खट्ने उनले बाचा गरेका छन् ।

Skip This
Logo