आज हनुमान जन्मोत्सव

आज हनुमान जन्मोत्सव


काठमाडौं ।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ । त्रेतायुगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो ।

रामायणमा वर्णन गरिए अनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिएका थिए । रावणले सीता हरण गरेर लगेपछि रामले दशवटै दिशामा खोज्न दूत खटाए। त्यसबेला समुद्रबाट जानुपर्ने दक्षिणतिर खोज्ने जिम्मेवारी हुनमानको थियो ।

सूर्यका श्रापले उड्न सक्ने शक्ति बिर्सिएका हनुमानलाई रामायणकालीन पात्र जाम्ववानले त्यो शक्तिको स्मरण गराएका थिए । सीता खोज्दै लङ्का पुगेका हनुमानले अशोकवाटिकामा भेटी रामको दूतका रुपमा औँठी दिए ।

सीतालाई अशोकवाटिकामा भेटिसकेपछि हनुमान फलाहार गर्न रावणको बगैँचामा पसे। फल खाइरहेका बेला रावणका सेनाले पक्रिएर दरबारमा पु¥याए । रावणको आदेशमा बजारबाट कपडा ल्याई हनुमानको पुच्छरमा बाँधेर तेल राखी आगो लगाइदिए । हनुमानले लङ्काका विभिन्न स्थानमा आगो सल्काइदिँदै समुद्रमा गई पुच्छरको आगो निभाए । लङ्का जल्न थाल्यो । रावणका सेनामा हाहाकार मच्चियो ।

लङ्काबाट फर्किएर श्रीरामलाई सीताको खबर सुनाएका हनुमानले रामायणको युद्ध अघि दूतका रुपमा रावणलाई शान्तिको सन्देश दिए। रावण सम्मानपूर्वक सीता फर्काउन तयार नभएपछिको युद्धमा पनि हनुमानले श्रीरामलाई साथ दिए। युद्धमा लक्ष्मण मुर्छा हुँदा सञ्जीवनी बुटीका लागि पर्वत नै उचालेर लङ्कामा उतारे ।

बलशाली व्यक्तित्व हनुमानको पूजा आराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने त्रासमा घर घरमै बन्दाबन्दी (लकडाउन) मा बसेका मानिसका लागि हनुमानको पूजा, आराधना एवं पाठ पारायणले मानसिकरुपमा शान्ति र आशाको सञ्चार गर्ने उनको भनाइ छ ।

विगत वर्षमा हनुमान जन्मोत्सवका अवसरमा मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र, बजरङ्ग सत्सङ्ग मण्डल, हनुमान सेवा आराधना मण्डललगायत संस्थाले विशेष पूजा आराधनासहित रथयात्रासमेत निकाल्थे । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नियमित पूजा मात्र गरिने बजरङ्ग सत्सङ्ग मण्डलका उपाध्यक्ष कृष्णकुमार अग्रवालले जानकारी दिए।रासस

Skip This
Logo