कोरोनाविरुद्धको लडाईंमा कांग्रेसले सरकारलाई सहयोग गर्ने

कोरोनाविरुद्धको लडाईंमा कांग्रेसले सरकारलाई सहयोग गर्ने


काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेलासँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लड्न सरकारलाई पर्याप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परिक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ । त्यस्तै बैठकले पीपीइ, भेन्टीलेटर, परिक्षण किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनु पर्ने र स्वास्थ्य कर्मीहरुलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए । बैठकले लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाडसका साथ उभिन आग्रह समेत गरेको छ ।

कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानविन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताए । पीपीइ, परिक्षण किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्य भन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उनले बताए । ल्याइएका स्वास्थ्य सामग्रीहरु प्रयोग गर्न उचित नहुने स्वास्थ्यकर्मीहरुले बताएको उल्लेख गर्दै गम्भिरतापूर्वक लिएको उनले बताए ।

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । त्यस्तै ज्यालादारी श्रमीकहरुलाई राहत पर्याप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ । बैंकबाट २० लाख रुपैयाँ सम्म ऋण लिएर व्यवसाय गर्नेहरुलाई कम्तिमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनु पर्ने, २० लाख भन्दा माथिको ऋण लिएकाहरु, पर्यटन व्यवसायीहरुको ब्याजदरमा छुट दिनुपर्ने लगायतको व्यवस्था गर्न समेत माग गरेको छ । कृषि क्षेत्रमा काम गरेकाहरुलाई ढाडस दिने विषयमा समेत बैठकले सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय समेत गरेको छ । पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समुहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने समेत प्रवक्ता शर्माले बताए ।

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँ, नगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरु, पार्टीको जिल्ला कार्य समितिको नेतृत्वदेखि टोल सम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानवीय भावनाका साथ काम गर्न निर्देशन दिएको समेत उनले बताए ।

Logo