‘सरकार कोरोना संक्रमण फैलिन नदिन पूर्ण तयारीमा छ’ : प्रधानमन्त्री (भिडियोसहित)

‘सरकार कोरोना संक्रमण फैलिन नदिन पूर्ण तयारीमा छ’ : प्रधानमन्त्री (भिडियोसहित)


काठमाडौं ।
सरकारले कोरोना संक्रमण फैलिन नदिन तथा फैलिएको अवस्थामा नियन्त्रण गर्नका लागि आवश्यक पूर्ण तयारी गरेको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारस्थित सरकारी निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार सबै किसिमको अवस्थाका लागि पूर्ण तयारीमा रहेको भन्दै धैर्य हुन र कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदममा सहयोग गर्न आग्रह गरेका हुन् । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको उनले स्पष्ट पारे । उनले सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको बताए । उनले लकडाउनलाई प्रभावकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह पनि गरे । उनले आगामी दुई साता अझै चुनौतिपूर्ण हुन सक्ने भएकाले क्वारेन्टाइनमा बसेर सहयोग गर्न सबैलाई आग्रह गरे ।

उनले भने “आउने २ साता शायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ । यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिनेछ । समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।”

उनले महामारी विरुद्धको उपयुक्त हतियार नै लकडाउन भएकाले जति कस्ट भएपनि सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गरे । उनले ५ बर्ष अघिको भुकम्पको बेलामा जस्तै धैर्यता र साहस बटुलेर कोरोना भाइरसलाई फैलन नदिन सरकारको प्रयासमा ऐक्यवद्धता जनाउन आग्रह गरे ।

उनले संकटको समयमा अझै जिम्मेवार भूमिका निर्वाह गर्न संचारमाध्यमलाई आग्रह गरे । उनले भने, “मेरो आग्रह छ । मानवजातिलाई नै चुनौति दिइरहेको यो संकट सँग जुधिरहेका बेला सबैको ध्यान यसै लडाईमा एकाग्रह गरौ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै । सरकारले गरेका निर्णयहरु जनसमक्ष पुर्याउन संञ्चारमाध्यमले खेलेको भुमिकाहरु सह्रानिय छ । मेरो आग्रह छ संकटको बेलामा आशाबादको संकटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामुहिक आत्मविश्वासको बलियो सामाजिक राष्ट्रिय एकता निर्माणका लागि संञ्चारमाध्यमले अझै जिम्मेवार भूमिका खेल्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु ।

उनले सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको अवस्थामा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैप्रति श्रद्धाञ्जली अर्पण गरे ।

उनले दुई सातादेखि मुलुक लकडाउनमा रहदा पुग्न गएको असुविधाप्रति आफु संवेदनशील रहेको भन्दै आफूले पनि लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गरेको बताए । उनले सिमित पूर्वाधार, स्वास्थ्य सामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाएको कर्तव्य परायणता सराहनीय रहेको भन्दै सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको बताए ।

क्वारेन्टाईन, परीक्षण र आइसोलनको जानकारी

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा मुलुकभरको क्वारेन्टाईन, आईसोलेसन लगायतको पनि जानकारी दिए । मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइनको र ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार भएको उनले बताए । अहिले ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा र ९५ जना मात्रै आइसोलनमा उपचारत छन् । हेरौं यो भिडियोमा :

Logo