अब उपभोक्ताले भरि सिलिण्डर नै ग्यास पाउने

अब उपभोक्ताले भरि सिलिण्डर नै ग्यास पाउने


काठमाडौं ।

कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै बजारमा ग्यासको अभाव हुन थाले पछि सरकारले व्यवसायीहरुलाई आधा सिलिण्डर ग्यास विक्रि गर्न निर्देशन दिएको थियो । बजारमा ग्यास अभाव हुन थालेपछि नयाँ सिलिण्डर नबेच्न समेत सरकारले व्यवसायीलाई आग्रह गरे सँगै आधा सिलिण्डर मात्र ग्यास बेच्न निर्देशन दिएको थियो ।

तर अहिले बजारमा ग्यासको अभाव हट्न थालेको छ । उपभोक्ताहरुले भारतका नाका बन्द हुने र ग्यास नपाइने भन्दै यस अघि आवश्यकता भन्दा बढि मौज्दात गरेकाले बजारमा अभाव देखिएको थियो । लकडाउनमा पनि ग्यास सहजरुपमा आपूर्ति भइरहेकाले तथा उपभोक्ताले ग्यास खपत कम गर्न लागेपछि बजारमा ग्यासको अभाव हटेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

उनका अनुसार ग्यास व्यवसायीका बिक्रि डिपो तथा निगमले सञ्चालन गरेको रिटेल आउटलेट पसलमा समेत ग्यासको माग घटेकाले अभाव हट्दै गएको छ । उनले भने, ‘ग्यास आपूर्तिमा कुनै समस्या नभएको तर, उपभोक्ताहरु आत्तिएर घरमा भएका सबै सिलिण्डर भर्न खोजेकाले ग्यास वितरण प्रणालीमा केही समस्या भएको थियो । असहज परिस्थिति आउला भनेर हामीले आधा सिलिण्डर मात्रै ग्यास दिन भनेका थियौं ।’

अब केही दिनमा निगमले पूरा सिलिण्डर नै ग्यास दिने गरि छलफल भइरहेको भट्टराईले जानकारी दिए । अहिले व्यवसायीहरुले नेपाल ग्यास बाहेक अन्य उद्योगका ग्यास बुलेटमै राख्नु परेको र माग घटेपछि भर्ने सिलिण्डर नभएको बताएका छन् ।

यो अवस्थामा पनि ग्यास पर्याप्त मात्रामा बजारमा आइरहेको र ग्यासको माग कमि भएकाले अहिले अधिकांश उद्योगहरुको भण्डारण भरिएको र नयाँ राख्ने ठाउँ नभएकाले बुलेटमै राख्नु पर्ने बाध्यता सिर्जना भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

उनले बजारमा ग्यास पर्याप्त भएको तथा उपभोक्ताको माग पनि घटेकाले अब भरी सिलिण्डर बजारमा पठाउने व्यवस्था गरिदिन निगमलाई आग्रह गरिएको छ। उनले भने, ‘हामी उद्योगीले चाहेर मात्र बजारमा भरी सिलिण्डर पठाउन नमिल्ने भएकाले त्यसका लागि निगमलाई आग्रह गर्न लागिएको हो । हामी आवश्यकता अनुसार ग्यास दिन तयार छौं ।’

निगमले बजारमा असहज परिस्थितिमा नआओस भनेर आधा सिलिण्डर वितरण गर्न भनेको हो । तर देश १५ दिनदेखि लकडाउन हुँदा होटल तथा रेष्टुरेन्टहरु बन्द भएकाले पनि ग्यास खपतमा केहि कमि भएको निगमले जनाएको छ ।

Logo