“आफैले हुर्काएको कुखुरा आफैले मारेर फाल्नुपर्ने अवस्था आयो”- कुखुरा व्यावसायी

“आफैले हुर्काएको कुखुरा आफैले मारेर फाल्नुपर्ने अवस्था आयो”- कुखुरा व्यावसायी


काठमाडौं । विश्व भरि फैलिएको कोरोना भाइरस (कोभिड(१९) ले विश्वका आम मानिसलाई त्रसित बनाएको छ । मानिसहरुलाई त्रसितमात्र नभएर विश्वको अर्थतन्त्रमा समेत ठूलो धक्का लागेको छ ।

नेपाल सरकारले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैशाख ३ गते सम्म लकडाउन लम्ब्याएको छ । सरकारले लागू  गरेको लकडाउनका कारण अहिले विभिन्न बस्तुको आपूर्ति व्यवस्थामा समस्या आएको छ । यसको प्रत्यक्ष असर कृषकहरुलाई पर्न गएको छ । पोल्ट्री व्यवसायीहरू ठूलो समस्यामा परेको बताउँछन् ।

कोरोना भाइरसको महामारीसँगै सर्वसाधारणले मासु उपभोग गर्न छोड्नुका साथै लकडाउनसँगै पसलहरू बन्द हुनाले यसको प्रत्यक्ष असर पोल्टी व्यावसायमा पर्न गएको हो । कुखुरा बिक्रि हुन छाडेपछि फर्ममा भएका कुखुरालाई के गर्ने भन्ने चिन्ता छाएको छ । दानाको अभाव हुनु, महंगोमा किनेर दाना खुवाइरहनुपर्ने र उत्पादित कुखुरा विक्रि नहुने समस्याले कुखुरा व्यावसायीहरुलाई समस्याले घेरिएको हो ।

नेपाली बजारमा दैनिक करिव  ८ लाख किलो कुखुराको मासु बिक्री हुने गरेकोमा अहिले लकडाउन लागू भएदेखि १ लाख किलो पनि बिक्रि हुन छाडेको व्यवसायीहरुले बताएका छन्। बजारमा माग नभएको र आपूर्तिमा पनि समस्या भएकाले खोरमै कुखुरा थन्किएका छन्।

नेपालमा वार्षिक करिव १२ करोड ७७ लाख कुखुरा उत्पादन हुन्छ । यो क्षेत्रमा १ खर्ब २० अर्ब लगानी र वार्षिक ९० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ । यो सङ्कटले कुखुरा उत्पादन र बिक्रीको बतावरण नै बिग्रिएकाले यो व्यवसाय लामो समय थला पर्ने व्यवासायी हरूले अनुमान गरेका छन । यो परिस्थितिले गर्दा व्यवसाय उठ्नै नसक्ने गरी तहसनहस हुने भएको ललितपुर टीकाथलीका कुखुरापालक किसान धनश्याम श्रेष्ठले बताए ।

“पार्टनरसंग सहकार्य गरेर विभिन्न स्थानका फर्म खोलेर करिव ६० हजार कुखुरा पालिरहेका छौ ।” उनले भने । उनले दैनिक कम्तीमा १ हजार कुखुरा बिक्री गर्ने गरेकोमा अहिले बिक्री नै ठप्प भएको छ ।

ब्रोइलर कुखुरा करीब ३५ देखि ४० दिनमा तयार हुने गर्छ । त्यसपछि पाल्नुपर्दा धेरै दाना लाग्ने तथा निश्चित उमेरपछि कुखुराको तौल नबढ्ने र धेरै दिनका भएपछि पनि मृत्युदर बढ्ने जोखिम हुने उनको भनाइ छ ।

लकडाउनसँगै अण्डा, चल्ला र दाना उत्पादन, कुखुरा पालन तथा यसको बजारमा नराम्ररी प्रभावित भएको छ । दाना आपूर्ति नभएको र बजारमा बिक्री नहुने जोखिम बढेपछि कतिपय स्थानमा किसान आफैंले हुर्कंदै गरेका कुखुरा मार्न थालेको श्रेष्ठले बताए । एक हजार कुखुरा तयार पार्न करीब २ लाख भन्दा बढी दानामा खर्च हुन्छ । अहिले दानाको रकम पनि नउठ्ने भए पछि किसान आफैंले नहुर्किइसकेका कुखुरा मार्न थालेको उनले बताए ।

उपत्यकामा मात्र कुखुराका लागि दैनिक २ हजार ९८७ मेट्रिक टन दाना आवश्यक पर्छ । तर, दाना उत्पादन र आपूर्तिको चक्र बिथोलिएपछि त्यसको करीब एक तिहाईजति मात्रै आपूर्ति भइरहेको छ ।

कुखुरा पालक किसानको खोरसम्म दाना आपूर्ति नहुनु भनेको कुखुराबाट मासु र अण्डा उत्पादन औसतभन्दा कम हुनु हो।
दाना उत्पादनको कच्चा पदार्थ मकै, भटमासको पिना आदिमा नेपाल लगभग आयातमै निर्भर छ। कोरोनाभाइरसको संक्रमण फैलन नदिन नेपाल र भारत दुबैतिर लकडाउन गरिएसँगै कच्चा पदार्थ आउन रोकिएको छ। जति लकडाउन लम्बिँदै जान्छ, दानाको कच्चा पदार्थ ल्याउन नसकेर यो थप अभाव चर्किंदै जान्छ।

नेपालका १ सय ११ दाना उद्योगसँग करीब १० दिनजतिलाई पुग्ने कच्चा पदार्थ मात्र बाँकी रहेको नेपाल दाना उत्पादक संघका अध्यक्ष रविन पुरीले बताए । उनका अनुसार भारतबाट आएको कच्चा पदार्थ सिमानामै रोकिएको र लोड–अनलोड गर्ने भरियादेखि गाडीका चालक र सहायक समेत काम छोडेर बसेकाले तत्काल आयात गर्नै मुस्किल परेको छ । नेपाल ब्रोइलर कुखुरा पालक तथा उत्पादक संघले आफूहरूले थेग्नै नसक्नेगरी घाटामा जाने अवस्था आएको भन्दै खोरमा भएको कुखुराको गणना गरी क्षतिपूर्तीको व्यवस्था गर्न माग गरेको छ ।

कुखुरा पालक किसानलाई राहत दिने तयारी

कुखुरा पालक किसानलाई कोरोनाले क्षति पुर्‍याएको भन्दै राहत दिने गरि प्रस्ताव तयारि गरेको छ । कृषि मन्त्रालयले प्रस्ताव तयार पारि मन्त्रिपरिषद्को बैंठकमा पेश गरेको छ । मन्त्रालयका अनुसार राहात प्रस्तावमा एक पटकमा पाँच सय संख्याभन्दा कम बोइलर कुखुरा पालन गर्ने कृषकलाई अर्को पटकको कुखुरा पालनमा प्रतिकुखुरा ६० रुपैयाँ र सोही संख्यामा लेयर्स कुखुरा पालक कृषकलाई प्रतिकुखुरा एक सय २० रुपैयाँ अनुदान दिन प्रस्ताव गरिएको छ ।

ठूला कुखुरापालक तथा कृषकहरुलाई भने ऋणको सीमा बढाइने, ब्याजदरमा अनुदान दिने जस्ता विषय समेटेर राहत सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । क्षतिको मूल्याङ्कन गर्न मन्त्रालयले परिचालन गरेको संयन्त्रको सिफारिसका आधारमा प्रथम चरण राहतको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

Logo