गण्डकी प्रदेश : कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

गण्डकी प्रदेश : कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स


कास्की ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखी जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएका चालकसहित ६ एम्बुलेन्स व्यवस्था गरिएको जानकारी दिए ।

शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की, आर्मी अस्पताल फूलबारी, हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सलाई पिपिईसहित परिचालन गर्ने निर्णय गरिएको हो । सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सले शंकास्पद बिरामी बोक्न आनाकानी गर्न थालेपछि यो निर्णय गरिएको हो ।

मजदूरलाई एनआइसी एशिया बैंकको राहत
लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदूरी गर्ने परिवारलाई एनआइसी एशिया बैंँकले राहत प्रदान गरेको छ । हाल मजदूर परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि बैंकले कावासोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदूरी गर्ने करीब १५० परिवारलाई स्थानीय सरकारसँगको सहकार्यमा दुई लाख ५० हजारको चामल, तेल, नुन, दाललगायत खाद्य सामग्री वितरण गरेर सामाजिक उत्तरदायित्व बहन गरिएको बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए । खनियाका अनुसार हाल बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई ध्यानमा राखी सातै प्रदेशमा ग्राहक सहायता केन्द्र स्थापना गरेर २४ सै घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरेको छ ।

कोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना
तनहुँ–व्यास नगरपालिका कार्यालयले चार जातिको भाषामा जिंगल बनाएर आइतबारदेखि कोरोना भाइरस सम्बन्धी माइकिङमार्फत सचेतनामूलक कार्य थालेको छ । दरै, गुरुङ, मगर र नेवार जातिको भाषामा जिंगल बनाएर नगरपालिकाका १४ वटै वडामा पुगेर प्रचारप्रसार गरी थालिएको हो ।रासस

Logo