विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश भित्रिए

विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश भित्रिए


काठमाडौं ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत ४ देखि चैत २३ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो ।

छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर उनीहरु नेपाल आएका हुन् । यसमध्ये जहाजमार्फत ४५८ जना छन् । उनीहरु चैत ४ गते कतार एयरवेजबाट १८५, चैत ६ गते एयर अरेबियाबाट १७० र भारतको विस्तारा एयरबाट १३० जना नेपाल आएका थिए । बाँकी सबै भारतबाट नेपाल आएको बताइएको छ । काठमाडौँमा ११७ जना विदेशबाट फर्किएका नेपाली सेल्फ क्वारेन्टाइनमा बसिरहेको मन्त्रालयले जनाएको छ । उनीहरु दुबई, फ्रान्स, टर्की, साउदी अरब र अष्ट्रेलियाबाट आएका हुन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक नेपालीमा कोभिडको सङ्क्रमण देखिएको थियो । पछिल्लो पटक चैत १० गते अर्का एक नेपालीमा कोभिडको सङ्क्रमण भेटियो । हालसम्म नौ जनामा कोभिडको सङ्क्रमण भेटिएको छ । यीमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट कोभिडको रोकथाम तथा व्यवस्थापनका सम्बन्धमा गरिरहेका कामको जानकारी दिन आइतबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । कोभिडको प्रभाव नियन्त्रणका लागि देशभरका स्थानीय तहले सक्रिय रुपमा भूमिका निर्वाह गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोभिडको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय तहले सक्रियतापूर्वक काम गरिरहेको र उनीहरुको प्रोत्साहनका लागि मन्त्रालयले आवश्यक सहजीकरण गरिएको बताए । उनले कोडिभ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले गरेको निर्णय सबै ७५३ वटै स्थानीय निकायलाई निर्देशन गरिएको र आवश्यक जानकारी पनि उनीहरुबाटै लिइरहेको जानकारी दिए ।

मन्त्रालयले गत चैत ४ गते नै सातवटै प्रदेशमा सातजना उपसचिव सम्पर्क व्यक्ति तोकी निजहरुमार्फत स्थानीय तहसँग सम्पर्क, समन्वय र सहजीकरण तथा सूचना व्यवस्थापनको काम निरन्तर भइरहेको उल्लेख गरेको छ । प्रवक्ता अधिकारीले कोभिडको सङ्क्रमण रोक्न स्थानीय तहको सहजीकरण र समन्वयका लागि सबै प्रदेशमा मन्त्रालयका सातजना उपसचिवलाई सम्पर्क व्यक्ति तोकी यथार्थ जानकारी लिइरहेको बताए ।

स्थानीय तहले कोभिडविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै राहत सामग्री वितरण र राहत सामग्रीको विवरण सङ्कलन गर्ने काम भइरहेको उनले बताए । कीटनाशक औषधि छर्कने तथा धेरै स्थानीय तहले राहत सामग्री वितरण शुरु गरिसकेको मन्त्रालयले जनाएको छ ।रासस

Logo