लकडाउन उल्लंघन रोक्न खोज्ने कांग्रेस नेतामाथि छुरा प्रहार

लकडाउन उल्लंघन रोक्न खोज्ने कांग्रेस नेतामाथि छुरा प्रहार


विराटनगर ।
‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ। कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि स्थानीय स्तरमा तामाङले त्यसलाई रोक्ने काम गरेका थिए।

डीएसपी गिरीका अनुसार लकडाउनको समयमा सवारी साधन कुदाउने, हिँडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस तेर्स्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ।

त्यही विषयलाई लिएर स्थानीय २८ वर्षीय विजय लिम्बूसँग उनको विवाद भएको थियो । मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको जानकारी डीएसपी गिरीले दिए । छुरा प्रहारबाट तामाङको बायाँ छात्तीमा गहिरो चोट लागेको छ । उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले गराएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गर्ने लिम्बूलाई भने भाग्दै गर्दा घटनास्थल नजिकैबाट पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान गर्ने काम भइरहेको डीएसपी गिरीले जानकारी दिए । प्रहरीका अनुसार छुरा प्रहार गर्ने युवा र घाइते दुवै जना चिनजानकै हुन्।अन्नपूर्णबाट

Logo