३ तोलाको सुनको सिक्री गलामा, राहतका चामल झोलामा !

३ तोलाको सुनको सिक्री गलामा, राहतका चामल झोलामा !


काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण शुरु गरेका छन् ।

राहत वितरण शुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए । मजदुर एवं विपन्न वर्गका मानिसको स्पष्ट परिभाषा र तथ्याङ्कसमेत नहुँदा यस्तो समस्या आउने गरेको उनले सुनाए । सम्पन्न मानिससमेत पाँच किलो चामल लिन लाममा बस्ने गरेका छन् ।

“मजदुर, विपन्न, असक्तलाई राहत दिने भनिएकामा हुनेहरु पनि लाममा बसे, तपाइँहरु किन लाममा भन्दा खान पाइएन भन्छन्, सामान किन्न नपाएको भए पसललाई भनिदिन्छु भन्दा पनि राज्यले दिएको सुविधा हो भन्दै पाँच किलो चामल बोकेर हिँडे, भूकम्पका बेला हुनेखाने एवं घरमा क्षति नभएकाले पनि राहतको त्रिपाल बोकेर हिँडेजस्तो अवस्था आएको छ”, अध्यक्ष तिवारीले भने ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनमा वितरण गरिएको राहत निजी कार चढेर सुकुम्बासी बस्तीमा बसेजस्तै भएको छ । ठमेल, लैनचौर, गोङ्गबु नयाँबसपार्क जस्ता क्षेत्र पनि पर्ने वडामा मजदुरका नाममा राहत लिन लगत सङ्कलनका लागि नाम लेखाउनेको पनि उपस्थिति हुने गरेको छ । वडाले ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास समितिको सहयोगमा ३० जनालाई राहत दिइसकेको छ । बाँकीको तथ्याङ्क बिहीबार दिउँसोसम्म सङ्कलन गरी बेलुकीदेखि नै राहत वितरण गर्ने तयारी भइरहेको छ ।

पर्यटकीय क्षेत्र ठमेलसमेत पर्ने वडाका अधिकांश भाग सुनसान छन् । विदेशी पर्यटकलाई सरकारले नै स्वदेश फर्काउने नीति लिएपछि ठमेल क्षेत्र सुनसान भएको हो । यसैगरी नयाँबसपार्क क्षेत्रमा पनि लकडाउनको पालना सोचेभन्दा राम्रो भएको वडा कार्यालयले जनाएको छ ।

यसैगरी महानगरपालिका–६ ले चैत १७ गतेदेखि नै विपन्न वर्गलाई राहत वितरण गरेको छ । १७ गते ५०, १८ गते ९६ जना मजदुर वर्गलाई राहतस्वरुप चामल सात किलो, दाल दुई किलो, चिउरा दुई किलो, तेल एक लिटर, नून एक प्याकेटलगायत राहत सामग्री वितरण गरिएको वडाध्यक्ष दीपेन्द्रकुमार लामाले सुनाए।

विपन्न वर्गलाई राहत वितरणका लागि संविधानसभाका सभासद् विमल केडिया, ॐ साई सङ्गठनलगायत दाताले सहयोग गरेको वडा कार्यालयले जनाएको छ । दाताकै सहयोगमा आज २६० जनालाई राहत दिन लागिएको जानकारी पनि उनले दिए । वडा नंं. ६ मा भने अहिलेसम्म मजदुर वर्ग नै राहतका लागि आइरहेको जनाइएको छ । रासस

Logo