भक्तपुरमा उल्लङ्घन रोक्न एक घर एक पासको व्यवस्था

भक्तपुरमा उल्लङ्घन रोक्न एक घर एक पासको व्यवस्था


भक्तपुर।
कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको उल्लङ्घन भएपछि भक्तपुर नगरपालिकाले अनुमतिपत्रको प्रबन्ध गरेको छ । नगरपालिकाभित्र धेरै स्थानीयवासी बाक्लोरूपमा खुलेआम हिँड्न थालेपछि नगरका बासिन्दालाई लकडाउनमा राख्न नगरपालिकाले अनुमतिपत्र लागू गरेको हो ।

लकडाउनको समयमा स्थानीय बासिन्दाले हिँडडुल गर्दा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान पाउने गरी अनुमतिपत्र लागू गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । तरकारी र खाद्यान्न पसलमा मानिसको भीड लाग्ने गरेको, बाहिर खुलमखुला हिँड्ने गरेपछि यसलाई रोक्न एक घर एक पासको व्यवस्था गरेको हो । नगरपालिकाले नगरवासीका लागि सम्बन्धित वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको छ ।

एक घरबाट एक जना मात्र बाहिर निस्कन पाउने गरी वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालिएको हो । अनुमतिपत्र लिएर एक घरबाट एकपटकमा एकजना मात्र बाहिर निस्कन पाइने छ भने परिचयपत्र बोकेर अनावश्यकरूपमा हिँडेको पाइए कारवाही गरिने प्रजापतिले बताए । मन्दिर, मस्जिद, चर्च, पाटीलगायत धार्मिकस्थलमा पूजाप्रार्थना गर्ने वा मर्निङवाक, योग र शारीरिक व्यायामको नाममा असुरक्षित रुपमा घरबाट बाहिर आउने, तरकारी वा खाद्यान्न किनमेलको नाममा भीडभाड गर्न नगरपालिकाले रोक लगाएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वाले जानकारी दिए।

नगरपालिकाले आजदेखि दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूलसडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्दै निश्चित क्षेत्र तोकेको छ । नगरपालिकाले तोकेको भन्दा अन्यत्र तरकारी बजार राख्नसमेत निषेध गरेको छ भने तरकारी र खाद्यान्न पसलमा एक मिटरको दूरी राखेर कारोवार गर्नुपर्ने नियमलाई कडाइ गर्ने भएको छ ।रासस

Logo