काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उमेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र उनको समुहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोही अनुसार निर्णय गरिएको बताए । सो कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिबद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको शाहले बताए ।
कार्यक्रमका सहभागिहरुले गोल्छाको नेतृत्वबाट सबल महासंघ चाहनेले प्रधान समूहलाई विजयी गराउनु पर्ने भन्दै ६ वर्षे कार्यकाल तयार गरी निर्धक्क भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउनु पर्ने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ ।
प्रदेश १ र २ को कुल मत मध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाहले बताए । कार्यक्रममा प्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्ला नगरमा जनकपूरधाम उद्योग वाणिज्य संघ (ललित शाह, अध्यक्ष), लगायत दर्जनौ अध्यक्षहरु रहेका छन् । समर्थन जनाएका सबै जिल्ला नगरका अध्यक्षहरुले महासंघमा २८ वर्ष लामो सेवा गरेर हासिल गरेको अनुभवलाई कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्ने काममा प्रयोग गर्ने लक्ष्यका साथ आफूहरुले प्रधान र उनको समूहलाई समर्थन गरेको बताएका छन् । उनीहरुको कुरा सुनेपछि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले आफूप्रति साना तथा मझौलासहित ठूला व्यवसायीको विश्वास बढेको र उनीहरुको विश्वास नतोड्ने बाचा गरेका छन् । प्रधान अहिले देशब्यापी प्रचारप्रसारमा व्यस्त छन् ।