काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा नेपाल आइपुगेका कतारका राजकुमार शेख मोहमदसहितको आरोहण दल बुधबार बिहान ११ः२० बजे आमादब्लम हिमालको चुचुरोमा पुगेको हो ।
कोरोना महामारीका बीच आमादब्लम हिमालको सफल आरोहण गरी अन्तर्राष्ट्रिय जगतमै नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिदिएको उनको आरोहण व्यस्थापनमा सहभागी हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियन आरोहीका प्रतिनिधि गत दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । सो आरोहण दलमा कतारका राजकुमार अब्दुल्लाहसहित अमेरिकी, क्यानेडियन र स्वदेशी गरी १४ जना सहभागी थिए ।
यसअघि बहराइनका राजकुमार पनि नेपालका विभिन्न क्षेत्रको पदयात्रा भ्रमण गरी स्वदेश फर्किएका थिए । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार अब्दुल्लाह गत दसैंको बेला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका थिए । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली कात्तिकको पहिलो साता आमादब्लम हिमालको आधार शिविर पुगेको थियो ।