कोभिड – १९, सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण

कोभिड – १९, सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण


दमौली ।
नेपाली सेनाको सहयोगमा तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । सोही वडाको चापाघाटमा रहेको कालीभञ्जन गणको सहयोगमा सम्भावित कोरोना भाइरस जोखिम हुन नदिन विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

सो भाइरसका शंकास्पद बिरामी र विदेशबाट फर्किएकालाई निगरानीमा राख्न विद्यालय हातामा टेण्ट हालेर क्वारेन्टाइन निर्माण गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘विदेशबाट फर्किएकालाई सुरक्षित रुपमा राख्नका लागि नेपाली सेनाको श्रमदानमा क्वारेन्टाइन बनाएका हौँ’ –उनले भने –‘गणबाट दश जनाले श्रमदान गर्नुभयो ।’ उक्त विद्यालयमा १३ श्ययाको क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेनाले टेण्ट र श्यया सहयोग गरेको छ । व्यास नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार वडाभित्र विदेशबाट फर्किनेको विवरण संकलन गरिएको र उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

उक्त वडामा विदेशबाट फर्किने ७ जनाको नाम संकलन गरिएको छ । तीमध्ये दुई जनालाई उक्त क्वारेन्टाइनमा राखिएको र ५ जनालाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । ‘दुवइबाट आएका एक महिला र एक पुरुषको इच्छा बमोजिम नै क्वारेन्टाइनमा राखिएको छ, उहाँहरुलाई हालसम्म कुनै पनि लक्षण देखा परेको छैन ।’–वडाध्यक्ष श्रेष्ठले भने । क्वारेन्टाइनमा वाइफाईको व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मी पनि खटाइएको छ । सो भाइरसको जोखिम हुन नदिन लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै उनले भने –‘कोही पनि घरबाट बाहिर नआउनुहोस्, घरमै सुरक्षित भएर बस्नुहोस् ।’ क्वारेन्टाइनको सुरक्षाका लागि पाटनका भूपू सैनिक क्लवले र टोल विकास संस्थाले खाना व्यवस्था गर्ने भएको छ ।

यसैगरी सो गणको सहयोगमा व्यास नगरपालिका–३ स्थित एपोलो अस्पतालमा रुघाखोकीका बिरामीको परीक्षणका लागि छुट्टै कक्ष बनाइएको छ । उक्त कक्ष बनाउनका लागि सेनाले टेण्ट सहयोग गरेको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिए । अन्य बिरामीलाई अस्पतालकै भवनबाट सेवा प्रवाह गरिएको छ । –रासस

Logo