विश्वभर ३४ हजार १८ जनाको मृत्यु, संक्रमित संख्या ७ लाख २३ हजार ७४०

विश्वभर ३४ हजार १८ जनाको मृत्यु, संक्रमित संख्या ७ लाख २३ हजार ७४०


जेनेभा ।

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३४ हजार १८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ७ लाख २३ हजार ७४० पुगेको छ ।

प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार ७७९ जनाको मृत्यु भएको छ । केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ । इटालीमा हालसम्म ९७ हजार ६८९ नागरिकमा कोविड–१९ को संक्रमण देखिइसकेको छ ।

त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या ६ हजार ८०३ जना पुगेको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यहाँ संक्रमितको संख्या ८० हजार ११० रहेको छ ।

यता संयुक्तराज्य अमेरिका विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख ४३ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २२९ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ ।

चीनको हुबई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०० जनाको मृत्यु भएको छ भने त्यहाँ ८२ हजार १५२ जना सङ्क्रमित रहेका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ६४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३०९ जना सङ्क्रमित रहेका छन् ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणक कारण ५४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार ४३५ मानिस सङक्रमित रहेका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ६०६ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या ४० हजार ७२३ रहेको छ ।

यस्तै बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार २२८ जनाको ज्यान गएको छ । यहाँका १९ हजार ७८४ मानिस सङ्क्रमित भएका छन् ।

युरोपेली अन्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ । आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगो जसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण नेदरल्यान्ड्समा ७७१, बेल्जियममा ४३१, स्वीट्जरल्यान्डमा ३००, टर्कीमा १३१, स्वीडेनमा ११०, पोर्चुगलमा ११९ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणका कारण १५८ जनाको मृत्यु भएको छ । यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ ।
रासस/ एपी/सिन्ह्वा/एएफपी

Logo