कालोबजारीको पराकाष्ठा : रिचार्जकार्डमा पनि बढी मूल्य !

कालोबजारीको पराकाष्ठा : रिचार्जकार्डमा पनि बढी मूल्य !


काठमाडौं ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकमा दैनिक उपभोग्य बस्तुदेखि हरेक सामानमा कालोबजारीले चर्काे रुप लिएको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै दैनिक उपभोग्य सामान दाल, चामल, चिनी, नुन, खानेतेल, तरकारी, मास्क, स्यानेटाइजर लगायतका औषधीजन्य वस्तुमा चर्काे कालोबजारी भइरहेको छ । यस्ता वस्तुमा भइरहेको कालोबजारी सरकारले नियन्त्रण गर्न नपाउँदै रिचार्जकार्डमा पनि कालोबजारी सुरु भएको छ ।

नेपाल टेलिकम तथा एनसेलको रिचार्जकार्डमा व्यवसायीहरुले बढी मूल्य लिन थालेका छन् । यतिबेला रिचार्जकार्डमा चर्काे रुपमा कालोबजारी भइरहेको छ । सोह्रखुट्टे कालधाराका एक किराना पसलेले एनसेल तथा नेपाल टेलिकमका रिचार्जकार्डमा प्रति कार्ड ५ देखि १० रुपैँयासम्म बढी शुल्क लिने गरेका छन् । ‘आफैंले ब्ल्याकमा किन्नु पर्छ, कहाँबाट पहिलेकै मूल्यमा दिने ?’ ती पसलले भने । अहिले बजारमा रिचार्जकार्ड पाउन निकै गाह्रो भइरहेको भन्दै पहिलेको मूल्यमा नपाउने ती पसलेको भनाइ थियो । कालधाराका ती किराना पसले प्रतिनिधी पात्र मात्रै हुन् । अहिले पसलेहरुले प्रायः रिचार्जकार्ड नै छैन भन्न थालेका छन् । साँझ बिहान मात्रै केही समय खुल्ने गल्ली गल्लीका साना साना पसलहरुले बढी शुल्क तिरेपछि मात्रै रिचार्जकार्ड दिने गरेका छन् ।

सरकारले खाद्यान्न लगायतका कुनैपनि वस्तुमा कालोबजारी गरे कडा कारवाही गर्ने बताए पनि कुनैपनि वस्तुमा कालोबजारी रोकिएको छैन । सरकारले बजारमा अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने बताउदै आएको छ । तर कालोबजारी भने रोकिएको छैन । आपूर्तिमा पनि केही असहज भएकाले मूल्यवृद्धि हुनु स्वभाविक भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालको भनाइ छ । तर बढी शुल्क लिएको पाइएमा कारवाही गर्ने सचिव अर्यालले बताए ।

Logo