काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आज बस्दैछ । कोरोना भाइरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको क्यानको साधारण सभा भर्चुअलमार्फत हुन लागेको हो ।
नयाँ नेतृत्व आएपछि क्यानको यो पहिलो साधारण सभा हो । साधारण सभाको मुख्य एजेण्डा वार्षिक लेखापरिक्षण, सन् २०२१ को वार्षिक बजेट तथा कार्यक्रम, रणनैतिक योजना निर्माण, जिल्ला तथा प्रदेशको कार्यविधि निर्माण, संघ पदाधिकारी तथा कर्मचारीको आचार संहिता निर्माण, एन्टी करप्सन, एन्टी डोपिङ र इथिक्स पोलिसी निर्माण लगायत रहेका छन् ।
यस्तै प्रस्तावित नेपाल प्रिमियर लिग (एनपीएल) को ड्राफ्टबारे समेत छलफल हुनेछ । यस अघि क्यानले पटक पटक साधारण सभाको मिति तोक्दै आएको थियो । तर, कोरोनाको कारण सबै मिति सर्दै आएको थियो ।
चितवनको भरतपुरमा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो । तर, कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गरेको थियो ।
क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट पूर्ण रुपमा फुकुवाका लागि राखेको शर्तमा साधारण सभा समेत एक हो । यस्तै पूर्ण रुपमा फुकुवा हुन क्यानले सन् २०२० मा कम्तिमा महिला र पुरुष दुवैको एक–एक राष्ट्रिय प्रतियोगिता गराउनु पर्नेछ ।