#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
  • दुष्यन्त भट्टराई
२०४१ साल मंसिर अन्तिम हफ्ता जस्तो लाग्छ,भर्खर कक्षा सातको वार्षिक परीक्षा सकिएको थियो । परीक्षा सकिएपछि केही दिन स्कुल बन्द हुने गर्दथ्यो सरहरूलाई उत्तर पुस्तिका परिक्षण गर्ने समय दिनको लागि । त्यसपछि वार्षिक खेलकुद कार्यक्रम आयोजना हुन्थ्यो र वार्षिक उत्सव समापनको दिन रिजल्ट पनि सुनाइन्थ्यो ।
स्कुल बन्दको समयमा प्राय: घरैमा बसिन्थ्यो । मंसिर महिना भएकोले धान काट्ने धमाधम नै हुन्थ्यो सबैका घर घरमा । अहिले जस्तो होलिडे भन्दै घुम्न जाने चलन थिएन ।
स्कुल बन्दको समयमा प्राय: घरैमा बसिन्थ्यो । मंसिर महिना भएकोले धान काट्ने धमाधम नै हुन्थ्यो सबैका घर घरमा । अहिले जस्तो होलिडे भन्दै घुम्न जाने चलन थिएन । त्यतिबेला नेपालमा र नेपालीहरूमा होलिडेको सोचाई नै थिएन । कतै जाने भनेकै कि त तीर्थयात्रा कि त कोही टाढाको आफन्तकोमा हुने शुभ (विवाह, व्रतबन्ध) र अशुभ (मरिमराउ) कार्यहरूमा मात्र । त्यसैले म पनि घरैमा थिएँ त्यो बेला । धान काट्ने, पाँजा उठाएर खमारमा ल्याउने, बेला बेला गोठालो जाने, फुर्सदको समयमा मोजाको गोल खेल्ने, यस्तै यस्तै गरेर दिन बित्दथे ।मेरो माहिँली सानिमाको माहिँलो छोरा नेत्र घिमिरे दाजु त्यतिबेला काठमाडौ बसेर जागीर खाँदै पढ्दै हुनुहुन्थ्यो । वहाँको भर्खर भर्खर बिहे भएको तर भाउजु घरमै हुनुभएकोले बेला बेला आइरहनु हुन्थ्यो । त्यसरी नै आउँदा ठूली आमा ठूलो बुबालाई भेट्न आइरहनु हुन्थ्यो । यसपाला पनि वहाँ घर आउनु भएको थियो र बुबासँग बरन्डामा बसेर कुरा गर्दै हुनुहुन्थ्यो । म छेउमा बसेर सुनिरहेको थिएँ । कुरैकुराको क्रममाबुबा : कहिले फर्किन्छस् त माहिँला राजधानी ? दाजु : भोलि जान्छु बुबा । बुबा : गुगुनाउँदै “ ए नानी पूर्वतिर सोम ...... उत्तर नगर्नू बुध मंगल...., भोलि मंगलबार , हुने रहेछ पश्चिम जान “आमा भान्सामा केही गर्दै हुनुहुन्थ्यो , म दौडेर भान्सामा गएँ र आमालाई “ आमा, म पनि काठमाडौ जान्छु नि !!” भनेँ । आमा : के भन्छ ? को सँग जान्छस्? म : माल्दाईसँग जान्छु आमा : पर्दैन म : नाईँ जान्छु नि आमा : स्कुल लाग्ने बेला भएको छ म : आइहाल्छु नि स्कुल लागुञ्जेलमा आमा : एक्लै कसरी आउँछस् ? पर्दैन जान !!घुर्की लगाउन आमालाई मात्र सकिन्थ्यो, बुबालाई त मनको कुरा भन्न पनि डर लाग्थ्यो भलै बुबाले आजसम्म कहिल्यै गाली गर्नु भएको थिएन । म अँध्यारो अनुहार लगाएर भान्साबाट बाहिरिएँ र पुन: बुबा र माल्दाई गफ गरेको ठाउँमा गएर कुरा सुन्न थालेँ । मेरो अँध्यारो अनुहार देखेर बुबाले “ के भयो तँलाई ?” भनेर सोध्नु भयो । म बोलिन वा भनूँ भएको कुरा भन्ने आँट आएन । बुबाको कुरा सुनेर भान्साबाटै आमाले “ काठमाडौ जान्छ रे माहिँलासँग, मैले नजा भनेको अनि कालो मुख बनायो नि “ भन्नुभयो । त्यो कुरा सुनेपछि माल्दाईले पनि “ जाओस् न त बुबा, २/४ दिन घुम्छ, अनि म बस चढाई दिन्छु , आइहाल्छ भाइ “ भन्नुभयो । बुबाले मलाई आफूतिर तानेर “ त्यत्रो आँट कथा लेख्ने छोरोले बोल्नचाहिँ आँटै गर्दैन, जा जा !! दुईचार दिन घुमाएर पठाइदिनु है माहिँला “ भन्नुभयो । मैले त बिर्सेको कुरा पनि सम्झाइदिनु भयो बुबाले आँट कथाको बारेमा ।त्यो बेला रेडियो नेपालबाट हरेक दिन बेलुका ५:३० बजे बाल कार्यक्रम आउँथ्यो । बासुदेव मुनाल र नुपुर भट्टाचार्य चलाउनु हुन्थ्यो कार्यक्रम प्राय: गरेर । बाल सहभागिताका विभिन्न स्तम्भहरू थिए । उपत्यकाका विद्यार्थीहरू त स्वयम् स्टुडियो गएर बोलेको सुनिन्थ्यो तर बाहिरी जिल्लाका विद्यार्थीहरूलाई स्टुडियो जान सम्भव थिएन, त्यसैले त्यस्ता विद्यार्थीहरूलाई पनि सहभागि गराउने उद्देश्यले रचना पठाउन मिल्ने “को भन्दा को कम “ कार्यक्रम आउने गर्दथ्यो हरेक बुधबार । म पनि कविता, कथाहरू पठाउँथेँ । पठाएका मध्ये पुरस्कृत रचनाहरू बासुदेव मुनाल दाइले पढेर सुनाउनु हुन्थ्यो ।रेडियो प्राय: बरन्डामा झुन्डिएको हुन्थ्यो । दिनमा तीन चरणमा बज्दथ्यो रेडियो । बिहान ६ देखि ११, दिउँसो १ देखि ४ र बेलुका ५:३० देखि ११ । विहानको शंख ध्वनीसँगै रेडियो बरन्डामा झुन्डिएर बज्दथ्यो आफ्नै सुरमा । यस्तैमा एक दिन सधैँ झैँ स्कुलबाट आएर खाजा खाएर म भैँसी चराउन गएको थिएँ । ५:३० मा “ दुई एकान दुई दुई दुना चार पढपढ भाइबैनी हो भै होसियार “ भन्ने गीतबाट कार्यक्रम शुरु भएछ । बुबा त्यहीँ हुनुहुँदो रहेछ । कार्यक्रममा को भन्दा को कमको नतीजा भन्दै प्रथम भएको कथा आँट र लेखक बलभद्र जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने भाइ दुष्यन्त भट्टराई भनेर मेरो नाम आएपछि बुबाले बरन्डाबाटै कराएर खेतमा भैँसी चराइरहेको मलाई बोलाउनु भएको थियो । म भैँसीलाई एउटा सिमालीको बुटामा बाँधेर दौडेर घर आएँ । कथा आधा पढिसकिएको रहेछ । बासुदेव मुनाल दाइले कथा पढिसकेपछि उपहार स्कुलको ठेगानामा पठाउने छौँ भन्नुभयो । म खुसी भएँ म भन्दा बढी खुसी बुबा हुनुहुन्थ्यो । तर रेडियो नेपालले पठाएका उपहार मैले कहिल्यै पाइनँ , नेपाली हुलाकलाई बेला बेला धन्यवाद दिइरहन्छु अहिले पनि ।बुबाबाट अनुमति पाइसकेपछि मेरा खुट्टाले भुईँ छाडे । म खुसीले के गरूँ के गरूँ भयो । आमा खुसी हुनुहुन्नथ्यो बुबाको अनुमति सुनेर । दिदी पनि केही बोलिन, आमै पनि चुपै बस्नुभयो । बुबाको आदेशको अगाडि कसैको केही नलाग्ने भयो । पितृसतात्मक परिवार हो नि त । बेलुकाको खाना माल्दाईले पनि हाम्रैमा खाएर जानु भयो । भोलि १२ बजेतिर हिँड्नु पर्छ, तयारी भएर बस्नु भन्दै माल्दाई जानु भयो । आमाले मलाई जाडोमा चाहिने कपडाहरू, गन्जी, कट्टु, मोजा सबै झोलामा हालीदिनु भयो । जुत्ता भर्खरै दसैँमा किनिदिनुभएको थियो त्यही जुत्ता लगाएर जाने भएँ । राति सुत्न त सुतेँ तर निंद्रा लागेन । कतिबेला निँदाएँ ब्यूँझदा उज्यालो भैसकेको थियो ।इनारबाट पानी उघाएर सिलबरे लोटामा बोकेर पूर्व पट्टीको बाँसघारी भित्र रहेको हगनगौँडी गएँ । अहिले जस्तो घरभित्र बाथरूम ट्वाइलेट थिएन । बाँसघारीमा खाल्डो खनेर वरिपरी बाँसकै भाटाले बारेर हलुका सिमेन्ट दलेको थियो घरको सेन्टरबेरामा लगाउँदा बढी भएको सिमेन्ट । आमै हगनगौँडी भन्नुहुन्थ्यो मैले पनि त्यही सिकेँ । बुबा आमाले त्यसैलाई पाईखाना भन्न थालेपछि म पनि पाईखाना भन्न थालेँ । आँगनमा इनार र इनारको छेउमा काठले बारेको नुहाउने घर बनाएको थियो । आमा र दिदी मात्र त्यहाँ नुहाउनु हुन्थ्यो प्राय: । म त बाल्टीमा पानी झिकेर बाहिरै नुहाउँथेँ । हाम्रो घरमै ट्वाइलेट त २०५४ सालमा मेरो बिहे गर्ने बेलामा मात्र बन्यो पक्का बाथरूम सहितको । दाँत माझ्ने ब्रस पनि बिहान दाँत माँझेर नुहाउने घरको छानामा नसिउरिकन झोलामा लगेर राखेँ । एक वर्ष जति भएको थियो बुबाले ल्याईदिएको डोल्मा घड़ी हातमा बाँधेको । रेडियो नेपालले सात बजेको समाचार अगाडि “ नेपालमा बनेको, बलियो, भरपर्दो डोल्मा घड़ी “ भनेर विज्ञापन गर्थ्यो । कस्तो खुसी लाग्थ्यो । बुबाका हातको सिटिजन घडीको विज्ञापन कहिल्यै सुनिन । म मख्ख देखेर बुबा पनि “ अँ अँ तेरै घडी राम्रो “ भन्नुहुन्थ्यो , म झन् फुरुक्क ।कति बेला १२ बज्छ भनेर घडी हेरेको हेर्यै गर्न थालेँ । आज त घडी नै सुते जस्तो लाग्यो काँटा नै सर्दैन । त्यो सेकेन्ड काँटा जस्तै दौडिनु नि मिनेट काँटा जस्तो लाग्यो । बल्ल बल्ल ९ बज्यो, आमाले भात खान बोलाउनु भयो । नचपाईकन भात खाएँ कतै ढिलो हुन्छ कि जस्तो गरे । आमाले “ कस्तो नचपाई खाएको , के भरे भैँसीजस्तो उघ्राउँछस् ? “ भन्दै हुनुहुन्थ्यो । म नबोली खाएर उठेँ, बोल्नलाई त मुख ख़ाली हुनु परो नि । मेरो त मुखभरी बुजो भात थियो ।
घुर्की लगाउन आमालाई मात्र सकिन्थ्यो, बुबालाई त मनको कुरा भन्न पनि डर लाग्थ्यो भलै बुबाले आजसम्म कहिल्यै गाली गर्नु भएको थिएन ।
मेरो आँखा त आँगनतिर माल्दाईलाई खोज्दै, डोल्मा घड़ी हेर्दै थिए । बल्ल बल्ल १२ बज्यो । म झोला लिएर बाहिर निस्किएँ , माल्दाई अझै आउनु भएन । १२:३० भयो, अँह आउनु भएन । अब घड़ी किन छिटो घुमेको होला जस्तो भयो । मिनेट काँटा जसरी बिस्तारै हिँड्न नसक्ने सेकेन्ड काँटालाई गाली गर्न मन लाग्यो । दम दिने ठाउँको सुइरो तानेर उल्टो घुमाईदिऊँ जस्तो लाग्यो । मेरो छटपट देखेर आमाले “ जा न सानिमाकै घर जा “ भन्नुभयो । हेर मेरा बुद्धि, दुई सय मिटर पर त थियो सानिमाको घर । उतै नगएर किन पानी नपाएको माछो जस्तो छट्पटाएको होला !! म दौडेर एकै मिनेटमा सानिमाको घर पुगेँ । माल्दाई हिँड्नलाई साइतको टिका लगाउँदै हुनुहुँदो रहेछ सानिमाबाट । मलाई पनि लगाईदिनु भयो टिका । त्यसपछि हाम्रोमा आयौ । आमै र आमाले फेरि टिका लगाईदिनु भयो र हामी हिँड्यौँ ।चारआली पुग्न पैदल ३० मिनेट जति लाग्यो । टिकट काटेको थिएन , त्यसैले लोकल बस चढेर काँकडभिट्टा नै गयौँ । माल्दाईले चिनेका एक जना शिव बराल दाई हुनुहुँदो रहेछ टिकट काउन्टरमा । “टिकट त प्याक छ तर स्टाफ़ सिटमा बसेर जाऊ तिमी, भाइलाई बोनेटमा बसाइदिउँला “ भन्नुभयो वहाँले । ३ बजे तिर कन्काई यातायातको नाइट कोच स्टेसनमा आएर रोकियो । त्यहाँबाट चढ्ने यात्रीहरू चढे । हामी अझै काउन्टर भित्रै थियौँ । कसैले मलाई पछाडि ढाप मार्दै “कता जान लागेको भतिज ?” भन्यो । फर्केर यसो हेरेको त हरि अंकल हुनुहुँदो रहेछ । हरि अंकल मसँगै एउटै कक्षामा पढ्ने साथी नीर्मला बिस्टको बुबा हुनुहुन्थ्यो । घर त्यति नजिक त थिएन हाम्रो ६ नम्बर वडा वहाँहरूको ४ नम्बर हँडिया खोला पारि । तर साथीको बुबा भएकोले अंकल भन्ने गर्थेँ र वहाँले भतिज भन्नुहुन्थ्यो । “काठमाडौ जान लागेको अंकल “ भनेँ । “ कुन बसको टिकट ?” वहाँले सोध्नुभयो । “ टिकट छैन, तपाईँकै बसमा पठाईदिन लागेको “ शिव बरालले अंकललाई भन्नुभयो । हरि अंकल त्यही कन्काई नाइट बसको ड्राइवर हुनुहुँदो रहेछ । अब त झन् ढुक्क भयो । करिब ४ बजे काकडभिट्टाबाट बस हिँड्यो । माल्दाई पछाडि कता बस्नुभयो कुन्नी, म चाहिँ क्याबिनमा हरि अंकलले बस कुदाएको हेर्दै कुरा गर्दै बोनेटमाथि बसेँ ।ईटहरीसम्म विभिन्न स्थानबाट टिकट काटेका मान्छेहरू चढाउँदै ७ बजे बस कोसी ब्यारेज आईपुग्यो । म वराहक्षेत्र गए पनि कोसी ब्यारेज पुगेको थिइनँ । अगाडिबाट सबै हेर्दै हेर्दै गएँ । अंकलले महत्वपूर्ण ठाउँहरू बताईदिनु भयो । करिब ९ बजे बस लाहान आईपुग्यो र खाना खानको लागि रोकियो । म शाकाहारी, होटलको नखानू भनेर आमाले घरबाटै के के खानेकुरा हालिदिनुभएको थियो । तर अंकलले म शाकाहारी खुवाउँछु भतिजलाई भनेर सँगै लानु भयो । यात्रुहरू होटलमा खान थाले । स्टाफहरूलाई भित्र बेग्लै कोठामा ताजा मिठो खुवाईँदो रहेछ । माल्दाई पनि हामीसँगै हुनुहुन्थ्यो । मैले शाकाहारी र बाँकीले मासुभात खानुभयो । हेटौँडा पुग्दा लगभग १ बजेको थियो । हेटौँडामा ड्राईवर फेरिने रहेछ । हरि अंकल त्यहीँ बस्नुभयो र त्यहाँबाट अर्को ड्राईवर आएपछि पुन: हिँडियो । बिहान सकुसल करिब ८ बजे बसपार्कमा (अहिलेको पुरानो बसपार्क ) पुग्यौँ र त्यहाँबाट माल्दाईको डेरा कुपन्डोल पुगेर झोला बिसायौँ ।थापाथलीबाट बागमती पुल तरेर अलिकती अगाडि बढेपछि दाँयातिर एउटा हनुमानको मूर्ति रहेछ । त्यहाँबाट भित्र पस्ने सानो गल्लीबाट छिरेर करिब ५० मिटर भित्र एउटा पुरानो तीनतले घरको भुईँ तलाक़ो दुई कोठा भाडामा लिएर माल्दाई र वहाँका दुईजना साथीहरू बस्नुहुँदो रहेछ । एउटा कोठामा एउटा खाट, एउटा सानो टेवल, किताब राख्ने सानो -याक, अर्को कोठामा पनि एउटा खाट र भान्साको लागि चाहिने सामानहरू । हामी पुग्दा कोठामा वहाँसँगै बस्ने दुर्गा सापकोटा दाइ हुनुहुन्थ्यो । म पढ्दैगरेको स्कुलबाट फस्ट डिभिजनमा SLC पास गर्ने पहिलो विद्यार्थी भएकोले नाम सुनेको थिएँ तर भेटेको थिएन । वहाँ पुल्चोकमा इन्जीनियरिंग पढ्दै हुनुहुँदो रहेछ । हामी पुग्दा दुर्गा दाइले खाना पकाई सकेको रहेछ दुई जनालाई । अर्को साथी बिहानको क्याम्पस गएको हुनाले खाना खाएको थिएन । दुर्गा दाइ क्याम्पस जानु पर्ने भएकोले वहाँ खाएर जानुभयो । केही बेरमा अर्को साथी इन्द्र पाठक आइपुग्नु भयो । बुबा र इन्द्र सर एउटै स्कुल पढाउने भएकोले वहाँलाई चिन्थेँ म । अहिले बेतलवी बिदा लिएर पाटन क्याम्पसमा पढ्दै हुनुहुँदो रहेछ । दिउँसो काम पनि गर्नु हुँदो रहेछ । वहाँ पनि खाएर जानुभयो । बाँकी हामी दुईजना, मलाई भोक लागिसकेको थियो । राति होटलमै खाएकोले आमाले घरबाट हालिदिएको भुटेको चिउरा र चिनी म निकालेर खान थालेँ । माल्दाईले जुठा भाँडा मोलेर भात पकाउनु भयो र १२ बजेतिर दाजुभाइले भात खायौँ । त्यसपछि माल्दाई र म केहीबेर घुम्न निस्कियौँ । मलाई नहराओस् भाइ भनेर हनुमानको मूर्तिबाट यति भित्र पस्नु र यो घर हो है भनेर माल्दाईले तीनपल्ट हनुमान स्थानबाट घर ओहोरदोहोर गराउनु भयो । पहिलो पल्ट यति लामो यात्रा र अनिदो पनि भएकोले बागमती पुल सम्म पुगेर कोठा फर्किएर दुवैजना सुत्यौँ । ब्यूँझदा साँझ परेको थियो र इन्द्र सरले खाना बनाइसक्नु भएको थियो । खाना खाएर केहीबेर कुरा गरेर सुतियो । चिसो निकै भयो मलाई , म त स्वेटर नखोली सिरकमा घुस्रिएँ ।
मलाई नहराओस् भाइ भनेर हनुमानको मूर्तिबाट यति भित्र पस्नु र यो घर हो है भनेर माल्दाईले तीनपल्ट हनुमान स्थानबाट घर ओहोरदोहोर गराउनु भयो ।
कतिबेला निदाएँ कुन्नी दाइले उठाउँदा ७ बजेको थियो । चिसोले गर्दा नुहाउने आँट आएन । ट्वाइलेट जाने, दाँत माँझ्ने र मुख धुने काम भए । खाना खाएपछि र अलिक घाम लागेपछि अलिकति पानी तताएर चिसोमा मिसाई नुहाएँ मैले पनि । दिउँसोतिर माल्दाई र म पशुपति गयौँ ।शुक्रबार बिहान उठ्दा माल्दाई र इन्द्र सर बिहानै क्याम्पस जानु भएछ । दुर्गा दाइ खाना बनाउँदै । खाना पाकेपछि हामीले खायौँ , दुर्गा दाइ पनि हिँड्नु भयो । म एक्लै । केहीबेरमा माल्दाई र इन्द्र सर पनि आएर खाना खाएर इन्द्र सर अफिस जानुभयो । माल्दाईको पनि अफिस जानु पर्ने , मलाई छोड्न पनि नमिल्ने । हामी सँगै गयौँ सिंहदरबार । राष्ट्रिय कम्प्यूटर केन्द्रमा काम गर्नुहुँदो रहेछ । मलाई सिंहदरबारको मूल गेटबाट बाहिर नजानू, भित्र घुम्दै गर्नु , म केहीबेरमा आउँछु भनेर जानुभयो । म घुम्न थालेँ । गाउँबाट आएको सानो फुच्चे, दरबारै दरबार भएको ठाउँमा एक्लै भएँ । केही डर पनि लाग्यो । एउटा ठूलो छातैछाता भएको घर रहेछ, बोर्डमा नेपाल टेलिभिजन लेखिएको थियो । घरमा टिभी थिएन त्यसैले मलाई खासै चासो भएन तर टेलिभिजन भएपछि रेडियो नेपाल कहाँ छ भनेर कौतुहलता जगायो । यता उता हेर्दै गएँ , अरू बाटोमा जाँदा हराउँछु भन्ने डरले मूल गेटबाट छिरेर जुनबाटो माल्दाईसँग आएको थिएँ त्यही बाटो हिँड्दै गएँ । एउटा ठूलो दरबारमा राष्ट्रिय पन्चायत लेखेको देखेँ । अझै अगाडि हिँड्दै गएँ । मूख्य सिंहदरबारको भवन पुगेँ , अगाडि पानीको फोहोरा सहितको बगैँचामा पुगेपछि मूल गेट आयो । बाहिर निस्किन अनुमति थिएन । बगैँचामा एक जना वृद्ध काम गर्दै थिए, उनैलाई रेडियो नेपाल कहाँ छ भनेर सोधेँ । किनकि रेडियो नेपाल सिंहदरबारभित्रै छ भन्ने कुरा त दिनैपिच्छे बासुदेव दाइको मुखबाट रचना पठाउने ठेगाना भन्दा सुनिरहेको थिएँ । उनले नै बगैँचाबाटै अलिक अगाडि दाहिने तिर औँल्याउँदै रेडियो नेपाल देखाई दिए । खुसी हुँदै गेटमा पुगेँ, चिनेको कसैलाई थिएन, गेटका सूरक्षाकर्मीले भित्र जान दिएनन्, कसलाई खोजेको भने , मैले “बासुदेव मुनाललाई” भनेँ । “वहाँ त भरे ५ बजे मात्र आउनु हुन्छ, समय लिएको थियो र भेट्न?” “थिएन” मैले भनेँ । यसरी रेडियो नेपाल पुगेर पनि चिनेको मानिस नहुँदा रेडियो नेपाल घुम्ने र बासुदेव मुनाल दाइलाई भेट्ने रहर रहरमै सिमित हुनपुग्यो । पछि २०४९ सालमा म त्रिचन्द्रमा BSc पढ्दै गर्दा बासुदेव दाइलाई भेट्ने रहर पूरा गरेँ । केही वर्ष अगाडि बासुदेव मुनाल दाइ बितेको खबरले निकै दुखी भएँ । माल्दाई अफिसबाट निस्केपछि कोठा आयौँ । खानपिन गरेर सुतियो ।आज शनिवार, क्याम्पस अफिस सबैको छुट्टी । दुर्गा दाइ र इन्द्र सर कपडा धुने र सरसफाई गर्ने भन्दैहुनुहुन्थ्यो । हामी दाजुभाई बिहानै थापाथली, माइतीघर, पुतलीसडक हुँदै पैदल ८ बजेतिर बागबजारको खसी बजारबाट भित्र जाने साँघुरो गल्लीभित्रको एउटा घरको दोस्रो तलामा पुग्यौँ । कहाँ जाँदै थियौँ मलाई थाहा थिएन र मैले सोधिन पनि किनकि जता गए पनि मेरोलागि नौलो नै थियो । माल्दाईले ढोका ढक्ढकाउनु भयो । बागबजारको गल्लीको घर बाहिर घाम लागे पनि अँध्यारो छ, अनुहार राम्ररी देखिन्न । एकजना मेरै उमेरकी केटीले ढोका खोलिन् । भित्र पसेपछि र बिजुलीको उज्यालो देखेपछि मात्र लक्ष्मी माइज्यू, बहिनी रेखा र भाइ सरोजलाई भेट्न आएका रहेछौँ भन्ने थाहा पाएँ । माइज्यूले चिया बनाउनु भयो । चिया पिउँदै कुरा गर्दै गयौँ । कुरा गर्दागर्दै ९ बजेछ । अब जान्छौँ भनेर माल्दाई उठ्नुभयो , “कहाँ जाने ? खाएर जानुपर्छ” भनेर माइज्यूले हिँड्न दिनु भएन । एउटा ठूलो कोठा, कोठामा सुहाउने एउटा ठूलो खाट, कपडाले छोपेको केही सुटकेशहरूको चाङ, एउटा काठको भाँडा,मसला राख्ने -याक, त्यसमाथि स्टोभ, एउटा गोद्रेज स्टील दराज, दुईवटा मुडा । त्यो एउटा कोठा कोठा होइन सम्पूर्ण घर थियो । ट्वाईलेट भुईँतलामा सिँडीमुनिको चेप । माइज्यूको जागिर टिम्बर कर्पोरेशनमा भएकोले माइज्यू र भाइ बैनी मात्र काठमाडौ बस्नुहुन्थ्यो । मामा राम प्रसाद त्यतिबेला भद्रपुर नगर पञ्चायतको प्रशासक हुनुहुन्थ्यो ।खाना खाएर हामी रत्नपार्क, घन्टाघर, रानी पोखरी, राजदरबार हेर्दै पैदल नै कुपन्डोल कोठा आयौँ ।आइतबार बिहानको खाना खाएपछि मलाई इन्द्र सरले जावलाखेल लिएर जानुभयो र “चिडियाखाना घुम्नु र बाहिर निस्केर यहीँ बस्नु, म तीन बजे तिर आउँछु “ भनेर टिकट काटेर भित्र पठाएर जानुभयो । जिन्दगीमा पहिलो पल्ट कुनै चिडियाखाना घुम्दैथिएँ । गेट छेवैको पसलमा एउटा कापी र कलम किनेँ । जति घुम्दै गएँ देखेका पशुपंछी, जनावर सबैका नाम टिप्दै गएँ । एउटा काकातुवा नाम गरेको चरो ८४ वर्षको भनेर लेखिएको थियो, एउटा चराको त्यति लामो आयु, अचम्म लाग्यो । त्यो चरो १२ वर्ष पछि ९६ वर्षको उमेरमा मरेको सुनेको थिएँ । हात्ती त जंगलकै छेउको घर भएकोले सानैदेखि देखेको थिएँ । हरिण, जरायो, मृग, बाँदर, ढेडु आदि देखेकै थिएँ तर बाघ, भालु, गैँडा, चितुवा आदि जंगली जनावर मेरालागि नयाँ थिए । १० बजे भित्र छिरेको म करिब ३ बजे बाहिर निस्किएँ । त्यहीँ छेउको एउटा पसलमा केही किनेर खाँदै थिएँ इन्द्र सर आइपुग्नुभयो र डेरामा आयौँ ।सोमबार बिहानै माल्दाई र म थापाथलीबाट ट्रलीबस चढेर कोटेश्वर गयौँ । कोटेश्वरमा ट्रलीबसबाट ओर्लेपछि केही पश्चिम खेतको आलीआली हुँदै महादेवस्थान नजिकै एउटा पुरानो घरमा पुग्यौँ । गोपाल पोख्रेल मामा र माइज्यू त्यहीँ डेरा बस्नुहुन्थ्यो । मामाको विवाह भएको एक वर्ष पनि भएको थिएन । मामा भक्तपुर क्याम्पसमा पढाउनु हुन्थ्यो । खाना खाएर मामा, माल्दाई र म सँगै कोटेश्वर चोकमा आयौँ । माल्दाई ट्रलीबस चढेर अफिस तिर लाग्नुभयो । मामा र म ट्रलीबस मै भक्तपुर गयौँ । सूर्यविनायक सम्म जाँदो रहेछ ट्रलीबस । त्यहाँ झरेर मामाको क्याम्पस गयौँ । मामाका दुई वटा क्लास लिनु पर्ने रहेछ त्यतिन्जेल म अफिसमा बसेँ । मामा कक्षाबाट आएपछि भक्तपुर दरबार घुम्न गयौँ । पचपन्न झ्याले दरबार सुनेको र पढेको मात्र थियो देख्दा मनै प्रफुल्ल भयो । त्यो दिन म काेटेश्वरमा मामाकैमा बसेँ । भित्र खाना खाँदै थियौँ बेलुकाको , अचानक भयंकर ठूलो आवाज आयो, घर नै थररर गर्यो । म जुठैहात हतारहतार बाहिर निस्केर आकासमा हेर्न थालेँ । एउटा अजंगको विमान भर्खर उडेर आकासिँदै थियो । मामा र माइज्यू दुवै हाँस्नु भयो । त्यहाँबाट त नजिकै विमान उडेको र बसेको देखिने रहेछ । राति लगभग ९ बजे सम्म विमान उडे तर त्यसपछि आवाज सुनिन , कतिबेला निदाएँ , उठ्दा झिसमिस उज्यालो हुँदै थियो ।
मामा कक्षाबाट आएपछि भक्तपुर दरबार घुम्न गयौँ । पचपन्न झ्याले दरबार सुनेको र पढेको मात्र थियो देख्दा मनै प्रफुल्ल भयो ।
बुधबार खाना खाएर मामाले नै एयरपोर्ट घुमाउन लानु भयो । सायद बेलुकाको जुठोहात सम्झनु भयो होला । एयरपोर्ट टर्मिनलको माथिल्लो तलामा गएर त्यति नजिकबाट त्यति ठुला हवाइजहाज देखेकै थिइनँ । चारआली व्यारेकमा कहिले कहिले हेलिकप्टर आएको र आकासमा उडेका ससाना चरा जत्रा जाहाज बाहेक देखेकै थिएन । चारआली व्यारेकमा हेलिकप्टर आउँदा हामी स्कुलबाट कुदेर आउँथ्यौँ हेर्न र व्यारेकको काँडे तारबार बाहिरबाट हेर्थ्यौँ हेलिकप्टर उडेको । एयरपोर्टबाट हामी पशुपति गयौँ, पशुपतिबाट बुढानीलकण्ठ, त्यहाँबाट बालाजु बाईसधारा, त्यहाँबाट स्वयम्भु हुँदै त्रिपुरेश्वर आएर ट्रलीबस चढेर साँझमा पुन: कोटेश्वर आइपुग्यौँ । आज धेरै घुमेकोले निक्कै थकाई अनुभव हुँदैथियो । खाना खाएर सुतेको फुस्सै निँदाएँछु कुनै आवाजले उठाएन राति ।बिहिबार खाना खाएर माइज्यूसँगै माइतीघर सम्म ट्रलीबसमा आएँ । माइज्यू पद्मकन्या पढ्नुहुन्थ्यो ,मलाई “एक्लै जान सक्नुहुन्न होला पुर्याइदिन्छु कुपन्डोल” भन्दै हुनुहुन्थ्यो । मैले “सक्छु नि किन नसक्नु “भनेपछि माइज्यू माइतीघरमा उत्रेर जानुभयो । माइज्यू गइसकेपछि यसो सोचेँ “ कोठा जाऊँ भने दिउँसो कोही हुन्न, मसँग चाबी छैन । अन्त जाऊँ भने देखेको छैन, नयाँ ठूलो बजारमा हराउँछु कि भन्ने त्रास “ । त्यो आकासे लिकमा हिँडीरहेको ट्रलीबसबाट थापाथलीमा नझरी बसिरहेँ । त्रिपुरेश्वर पुगेपछि त त्यही बस हिँडीरहने रहेछ । म पनि उत्रिनै मन लागेन । त्यही बसमा सूर्यविनायक पुगेँ । त्यहाँ त्यो बस छोडेँ तर स्टेसनबाट टाढा गईँनँ । फेरि पछिल्लो बसमा चढेर त्रिपुरेश्वर आएँ, पुन: एउटा छोडेर सूर्य विनायक गएँ । करिब ३ बजुन्जेल यो क्रम जारी रह्यो । बाटाका सबै स्टेसनहरू कण्ठस्त भए । ३:३० तिर कुपन्डोल कोठा गएँ , इन्द्र सर भर्खर आउँदै हुनुहुँदो रहेछ । बेलुका मेरो दिउँसोको ट्रलीबस मोह सुनेर सबै मरिमरी हाँस्नुभयो ।शुक्रबार वालाचतुर्दशी थियो, पुस पनि लागिसकेको थियो जस्तो लाग्छ, गते सम्झन सकिन । बिहान ४ बजेतिरै माल्दाई र म नुवाई धुवाई सकेर सत्वीज छर्न पशुपति गयौँ । ओहो, कति भीड, खुट्टा टेक्ने ठाउँ छैन । बाबुआमा हुनेले नछर्नु भन्दारहेछन् , सानाबुबाको निधन पहिल्यै भैसकेको हुनाले माल्दाई छर्ने म रमिता हेर्दै सँगसँगै हिँड्ने गरियो । इन्द्र सर र दुर्गा दाइका बुबाआमा नै भएकोले वहाँहरू जानुभएन । हामी पशुपतिबाट घर आउँदा करिब ११ बजेको थियो । अफिस क्याम्पस छुट्टी भएकोले सबै कोठामै हुनुहुन्थ्यो , खाना तयार थियो । हामीले खायौँ र त्यो दिन गफ गरेरै बितायौँ ।शनिबार माल्दाईले नयाँ सडक, हनुमान ढोका र धरहरा घुमाउन लानु भयो । बेलुकापख सबैजना पाटनको कृष्ण मन्दिर हेर्न गयौँ र पाटन ढोका हुँदै फर्कियौँ । आइतबार सबै आफ्आफ्ना काम र क्याम्पस लागेपछि म पुन: थापाथली आएर ट्रलीबस चढेँ । मलाई किन किन ट्रलिबसको प्यास मेटिएको थिएन । तर दिनभर गरिन आज चाहिँ । सूर्यविनायक पुगेर फर्केपछि पुन: कोठा आएँ । चाबी बोकेर गएको थिएँ आज चाहिँ । भोलि घर जाने भनेको सोमबार परेछ । बुबाले भनेको सम्झेँ ।“ए नानी पूर्वतिर सोम शनिश्चरैबार ठिक छैन दक्षिण दिशातिरमा विहिबार हुँदैन पश्चिम दिशातिर शुक्र आइत उत्तर नगर्नू बुध मंगलबार साइत ।”त्यसैले मंगलबार घर जाने निधो गरियो । सोमबार माल्दाईसँग नयाँ सडक गएर घरको लागि कोशेली गुदपाक र पुष्टकारी किन्यौँ , त्यहाँबाट पुरानो बसपार्कमा गएर न्यू अजिमा ट्राभल्सको B साइडको ४ नम्बर सिटको टिकट किनियो । पुरानो बसपार्कबाट हिँड्दै सिंहदरबार पुगेपछि माल्दाई “ तँ कोठा जाँदै गर, म अफिस पुगेर एउटा सानो काम सकेर आउँछु “ भनेर जानुभयो । मसँग चाबी छँदैथियो, म सरासर कोठा आएँ । कोठा पुग्दा इन्द्र सर आइसक्नु भएको रहेछ । टाउको दुखेर चाँडै आएको भन्नुभयो । वहाँ सुत्नु भयो , म पनि यसो ढल्केको निँदाएँछु ।म उठ्दा ४ बजेको थियो माल्दाई अझै आइपुग्नु भएको थिएन । दुर्गा दाइ आइसक्नु भएछ । इन्द्र सरले “ कति सुतेको उठ, तिमी सुतेपछि म पशुपति गएको थिएँ यी प्रसाद ल्याएको छु , खाऊ “ भनेर एउटा रिकापीमा एउटा कालो डल्लो दिनुभयो । दुर्गा दाइ छेउमा बसेर हेर्दै हुनुहुन्थ्यो । पशुपतिको प्रसाद नखाने वा खान्न भन्ने कुरै भएन नि । क्वाप्प मुखमा हालेँ पुस्टकारी जस्तो लागेर तर नत गुलियो, न मिठाईको स्वाद ? नुनिलो, मसला भएको, अलिकति चुइगम जस्तै चाम्रो हो कि जस्तो, अनौठो लाग्यो, तर मीठो लाग्यो । प्रसाद भनेपछि थपिथपि खाने कुरा पनि भएन । कस्तो नयाँ स्वादको पशुपतिको प्रसाद रहेछ कहिल्यै नखाएको । साँझमा माल्दाई आउनु भयो । माल्दाई आएपछि मैले भने “ दाजु हामीले त गुदपाक र पुष्टकारी मात्र किन्यौँ, इन्द्र सरले आज ल्याएको प्रसाद त झन् मिठो रहेछ, त्यो पनि अलिकति किनौँ है बिहान ।” “ कुन प्रसाद इन्द्र जी ?” माल्दाईले इन्द्र सरलाई सोध्नु भयो । इन्द्र सरले पल्लो कोठाबाट एउटा कचौरामा ल्याएर “ यी यो प्रसाद” भनेर देखाए पछि दुर्गा दाइ र इन्द्र सर पेट मिचिमिचि हाँस्न थाल्नुभयो । माल्दाईको अनुहार अलिक बिग्रियो, म केही भेउ नपाएर हेरिरहेँ । के हो कुरा केही बुझ्न सकिन । दुर्गा दाइले “ आज दुष्यन्तले पशुपतिको प्रसाद भनेर मासु खाए “ भनेपछि मात्र रहस्य खुल्यो । जिन्दगीमा कहिल्यै मासु नखाएको मलाई के थाहा त मासको स्वाद कस्तो हुन्छ भनेर, प्रसाद भनेर दिएपछि प्रसाद नै सम्झेर खाएँ । माल्दाईले इन्द्र सरलाई गाली गर्नुभयो । मलाई पनि डर लाग्यो बुबा आमाले थाहा पाउनु भयो भने तर मेरो गल्ती त के थियो र ? राति पनि एकातिर डर लागिरह्यो भने अर्कोतिर नयाँ प्रसादको स्वाद मष्तिस्कबाट निस्कनै मानेन ।आज घर जाने दिन , बिहानै दाजुभाइ पशुपति गयौँ । पशुपतिको दर्शन गरेर फूलपाति र सेतो दाने मिठाई कोसेली लिएर आयौँ । खाना खाएर सबै आआफ्ना काममा जानुभयो । करिब २ बजे तिर माल्दाई कोठा आउनुभयो । समोसा लिएर आउनु भएछ । दाजुभाइले समोसा खाजा खाएर करिब ४ बजे अहिलेको पुरानो बसपार्क पुग्यौँ माल्दाई र म । न्यू अजिमा ट्राभल्स लागिरहेको थियो स्टेसनमा । म चढेँ, झोलालाई सिट मुनि छिराएँ र B साइडको ४ नम्बर सीटमा बसेँ । माल्दाई झ्याल बाहिर हुनुहुन्थ्यो । एकजना २५/३० वर्षकी महिला मेरो छेउमा आएर बसिन् । माल्दाईले चिनेकै महिला रहिछिन्, नमस्कार गर्नुभयो झ्याल बाहिरैबाट ।माल्दाई : हजुर कहाँसम्म जाने दिदी ? दिदी : धरान हिँडेकी, इटहरीमा झर्छु यो बसबाट । माल्दाई: एए , दिदी, यो मेरो भाइ हो, पहिलो पल्ट एक्लै जाँदैछ , बाटोमा यसो रेखदेख गरिदिनु होला है ! दिदी : भैहाल्छ नि ।माल्दाई दिदीको जिम्मा लगाएर जानुभयो । बस हिँड्यो । बस थानकोटबाट अगाडि बढ्दै गर्दा दिदीले “ भाइ, म झ्यालमा बस्छु नि है “ भनिन् । मलाई त बाहिर हेर्दै जानु थियो त्यसैले “ दिदी मलाई त बमिट हुन्छ, म त झ्यालमै बस्छु “ भनेँ । म आफ्नै सुरमा बाहिर हेरिरहेको थिएँ । मैले बमिट हुन्छ भनेपछि दिदीले A साइडको मान्छेसँग सिट साटिछन् । मेरो छेउमा एकजना वृद्ध आएर बसेँ । जो बसे पनि मलाई त के र , म झ्यालमै थिएँ । बिहान सकुशल चारआलीमा उत्रिँदा डोल्मा घडीले ८ बजाएको थियो । ...… दसैँमा माल्दाई पुन: घर आउनुभयो ।“ सुकमित गुरुङसँग कतिको गफ गर्दै आइस् त ? “ माल्दाईले यसो भन्दा पो म त झसंग भएँ । सुकमित गुरुङ भन्ने चिनेको भए म सिटै छोडिदिन्थेँ नि । मैले चिन्न नसक्नुमा मेरो के दोष , गीतमा आवाजमात्र सुनेको अनुहार कहिल्यै देखेको भए पो चिन्नु । थक्क थक्क लाग्यो । रेडियोमा “ ओ हो ओ मेरो प्रियतम्, मेरो प्यार मेरो जीवन...” बजिरहेको थियो ।गीतसँगै मुखमा पशुपतिको प्रसादको स्वाद झुन्डिएको रहेछ , माल्दाईलाई देख्नासाथ जिब्रोले सुसु गरिहाल्यो !!!......अस्तु .....

संस्मरण : काठमाडौंको यात्रा साथै पशुपतिको प्रसाद

  • दुष्यन्त भट्टराई

२०४१ साल मंसिर अन्तिम हफ्ता जस्तो लाग्छ,

भर्खर कक्षा सातको वार्षिक परीक्षा सकिएको थियो । परीक्षा सकिएपछि केही दिन स्कुल बन्द हुने गर्दथ्यो सरहरूलाई उत्तर पुस्तिका परिक्षण गर्ने समय दिनको लागि । त्यसपछि वार्षिक खेलकुद कार्यक्रम आयोजना हुन्थ्यो र वार्षिक उत्सव समापनको दिन रिजल्ट पनि सुनाइन्थ्यो ।

स्कुल बन्दको समयमा प्राय: घरैमा बसिन्थ्यो । मंसिर महिना भएकोले धान काट्ने धमाधम नै हुन्थ्यो सबैका घर घरमा । अहिले जस्तो होलिडे भन्दै घुम्न जाने चलन थिएन ।

स्कुल बन्दको समयमा प्राय: घरैमा बसिन्थ्यो । मंसिर महिना भएकोले धान काट्ने धमाधम नै हुन्थ्यो सबैका घर घरमा । अहिले जस्तो होलिडे भन्दै घुम्न जाने चलन थिएन । त्यतिबेला नेपालमा र नेपालीहरूमा होलिडेको सोचाई नै थिएन । कतै जाने भनेकै कि त तीर्थयात्रा कि त कोही टाढाको आफन्तकोमा हुने शुभ (विवाह, व्रतबन्ध) र अशुभ (मरिमराउ) कार्यहरूमा मात्र । त्यसैले म पनि घरैमा थिएँ त्यो बेला । धान काट्ने, पाँजा उठाएर खमारमा ल्याउने, बेला बेला गोठालो जाने, फुर्सदको समयमा मोजाको गोल खेल्ने, यस्तै यस्तै गरेर दिन बित्दथे ।

मेरो माहिँली सानिमाको माहिँलो छोरा नेत्र घिमिरे दाजु त्यतिबेला काठमाडौ बसेर जागीर खाँदै पढ्दै हुनुहुन्थ्यो । वहाँको भर्खर भर्खर बिहे भएको तर भाउजु घरमै हुनुभएकोले बेला बेला आइरहनु हुन्थ्यो । त्यसरी नै आउँदा ठूली आमा ठूलो बुबालाई भेट्न आइरहनु हुन्थ्यो । यसपाला पनि वहाँ घर आउनु भएको थियो र बुबासँग बरन्डामा बसेर कुरा गर्दै हुनुहुन्थ्यो । म छेउमा बसेर सुनिरहेको थिएँ । कुरैकुराको क्रममा

बुबा : कहिले फर्किन्छस् त माहिँला राजधानी ?
दाजु : भोलि जान्छु बुबा ।
बुबा : गुगुनाउँदै “ ए नानी पूर्वतिर सोम …… उत्तर नगर्नू बुध मंगल…., भोलि मंगलबार , हुने रहेछ पश्चिम जान “

आमा भान्सामा केही गर्दै हुनुहुन्थ्यो , म दौडेर भान्सामा गएँ र आमालाई “ आमा, म पनि काठमाडौ जान्छु नि !!” भनेँ ।
आमा : के भन्छ ? को सँग जान्छस्?
म : माल्दाईसँग जान्छु
आमा : पर्दैन
म : नाईँ जान्छु नि
आमा : स्कुल लाग्ने बेला भएको छ
म : आइहाल्छु नि स्कुल लागुञ्जेलमा
आमा : एक्लै कसरी आउँछस् ? पर्दैन जान !!

घुर्की लगाउन आमालाई मात्र सकिन्थ्यो, बुबालाई त मनको कुरा भन्न पनि डर लाग्थ्यो भलै बुबाले आजसम्म कहिल्यै गाली गर्नु भएको थिएन । म अँध्यारो अनुहार लगाएर भान्साबाट बाहिरिएँ र पुन: बुबा र माल्दाई गफ गरेको ठाउँमा गएर कुरा सुन्न थालेँ । मेरो अँध्यारो अनुहार देखेर बुबाले “ के भयो तँलाई ?” भनेर सोध्नु भयो । म बोलिन वा भनूँ भएको कुरा भन्ने आँट आएन । बुबाको कुरा सुनेर भान्साबाटै आमाले “ काठमाडौ जान्छ रे माहिँलासँग, मैले नजा भनेको अनि कालो मुख बनायो नि “ भन्नुभयो । त्यो कुरा सुनेपछि माल्दाईले पनि “ जाओस् न त बुबा, २/४ दिन घुम्छ, अनि म बस चढाई दिन्छु , आइहाल्छ भाइ “ भन्नुभयो । बुबाले मलाई आफूतिर तानेर “ त्यत्रो आँट कथा लेख्ने छोरोले बोल्नचाहिँ आँटै गर्दैन, जा जा !! दुईचार दिन घुमाएर पठाइदिनु है माहिँला “ भन्नुभयो । मैले त बिर्सेको कुरा पनि सम्झाइदिनु भयो बुबाले आँट कथाको बारेमा ।

त्यो बेला रेडियो नेपालबाट हरेक दिन बेलुका ५:३० बजे बाल कार्यक्रम आउँथ्यो । बासुदेव मुनाल र नुपुर भट्टाचार्य चलाउनु हुन्थ्यो कार्यक्रम प्राय: गरेर । बाल सहभागिताका विभिन्न स्तम्भहरू थिए । उपत्यकाका विद्यार्थीहरू त स्वयम् स्टुडियो गएर बोलेको सुनिन्थ्यो तर बाहिरी जिल्लाका विद्यार्थीहरूलाई स्टुडियो जान सम्भव थिएन, त्यसैले त्यस्ता विद्यार्थीहरूलाई पनि सहभागि गराउने उद्देश्यले रचना पठाउन मिल्ने “को भन्दा को कम “ कार्यक्रम आउने गर्दथ्यो हरेक बुधबार । म पनि कविता, कथाहरू पठाउँथेँ । पठाएका मध्ये पुरस्कृत रचनाहरू बासुदेव मुनाल दाइले पढेर सुनाउनु हुन्थ्यो ।

रेडियो प्राय: बरन्डामा झुन्डिएको हुन्थ्यो । दिनमा तीन चरणमा बज्दथ्यो रेडियो । बिहान ६ देखि ११, दिउँसो १ देखि ४ र बेलुका ५:३० देखि ११ । विहानको शंख ध्वनीसँगै रेडियो बरन्डामा झुन्डिएर बज्दथ्यो आफ्नै सुरमा । यस्तैमा एक दिन सधैँ झैँ स्कुलबाट आएर खाजा खाएर म भैँसी चराउन गएको थिएँ । ५:३० मा “ दुई एकान दुई दुई दुना चार पढपढ भाइबैनी हो भै होसियार “ भन्ने गीतबाट कार्यक्रम शुरु भएछ । बुबा त्यहीँ हुनुहुँदो रहेछ । कार्यक्रममा को भन्दा को कमको नतीजा भन्दै प्रथम भएको कथा आँट र लेखक बलभद्र जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने भाइ दुष्यन्त भट्टराई भनेर मेरो नाम आएपछि बुबाले बरन्डाबाटै कराएर खेतमा भैँसी चराइरहेको मलाई बोलाउनु भएको थियो । म भैँसीलाई एउटा सिमालीको बुटामा बाँधेर दौडेर घर आएँ । कथा आधा पढिसकिएको रहेछ । बासुदेव मुनाल दाइले कथा पढिसकेपछि उपहार स्कुलको ठेगानामा पठाउने छौँ भन्नुभयो । म खुसी भएँ म भन्दा बढी खुसी बुबा हुनुहुन्थ्यो । तर रेडियो नेपालले पठाएका उपहार मैले कहिल्यै पाइनँ , नेपाली हुलाकलाई बेला बेला धन्यवाद दिइरहन्छु अहिले पनि ।

बुबाबाट अनुमति पाइसकेपछि मेरा खुट्टाले भुईँ छाडे । म खुसीले के गरूँ के गरूँ भयो । आमा खुसी हुनुहुन्नथ्यो बुबाको अनुमति सुनेर । दिदी पनि केही बोलिन, आमै पनि चुपै बस्नुभयो । बुबाको आदेशको अगाडि कसैको केही नलाग्ने भयो । पितृसतात्मक परिवार हो नि त । बेलुकाको खाना माल्दाईले पनि हाम्रैमा खाएर जानु भयो । भोलि १२ बजेतिर हिँड्नु पर्छ, तयारी भएर बस्नु भन्दै माल्दाई जानु भयो । आमाले मलाई जाडोमा चाहिने कपडाहरू, गन्जी, कट्टु, मोजा सबै झोलामा हालीदिनु भयो । जुत्ता भर्खरै दसैँमा किनिदिनुभएको थियो त्यही जुत्ता लगाएर जाने भएँ । राति सुत्न त सुतेँ तर निंद्रा लागेन । कतिबेला निँदाएँ ब्यूँझदा उज्यालो भैसकेको थियो ।

इनारबाट पानी उघाएर सिलबरे लोटामा बोकेर पूर्व पट्टीको बाँसघारी भित्र रहेको हगनगौँडी गएँ । अहिले जस्तो घरभित्र बाथरूम ट्वाइलेट थिएन । बाँसघारीमा खाल्डो खनेर वरिपरी बाँसकै भाटाले बारेर हलुका सिमेन्ट दलेको थियो घरको सेन्टरबेरामा लगाउँदा बढी भएको सिमेन्ट । आमै हगनगौँडी भन्नुहुन्थ्यो मैले पनि त्यही सिकेँ । बुबा आमाले त्यसैलाई पाईखाना भन्न थालेपछि म पनि पाईखाना भन्न थालेँ । आँगनमा इनार र इनारको छेउमा काठले बारेको नुहाउने घर बनाएको थियो । आमा र दिदी मात्र त्यहाँ नुहाउनु हुन्थ्यो प्राय: । म त बाल्टीमा पानी झिकेर बाहिरै नुहाउँथेँ । हाम्रो घरमै ट्वाइलेट त २०५४ सालमा मेरो बिहे गर्ने बेलामा मात्र बन्यो पक्का बाथरूम सहितको । दाँत माझ्ने ब्रस पनि बिहान दाँत माँझेर नुहाउने घरको छानामा नसिउरिकन झोलामा लगेर राखेँ । एक वर्ष जति भएको थियो बुबाले ल्याईदिएको डोल्मा घड़ी हातमा बाँधेको । रेडियो नेपालले सात बजेको समाचार अगाडि “ नेपालमा बनेको, बलियो, भरपर्दो डोल्मा घड़ी “ भनेर विज्ञापन गर्थ्यो । कस्तो खुसी लाग्थ्यो । बुबाका हातको सिटिजन घडीको विज्ञापन कहिल्यै सुनिन । म मख्ख देखेर बुबा पनि “ अँ अँ तेरै घडी राम्रो “ भन्नुहुन्थ्यो , म झन् फुरुक्क ।

कति बेला १२ बज्छ भनेर घडी हेरेको हेर्यै गर्न थालेँ । आज त घडी नै सुते जस्तो लाग्यो काँटा नै सर्दैन । त्यो सेकेन्ड काँटा जस्तै दौडिनु नि मिनेट काँटा जस्तो लाग्यो । बल्ल बल्ल ९ बज्यो, आमाले भात खान बोलाउनु भयो । नचपाईकन भात खाएँ कतै ढिलो हुन्छ कि जस्तो गरे । आमाले “ कस्तो नचपाई खाएको , के भरे भैँसीजस्तो उघ्राउँछस् ? “ भन्दै हुनुहुन्थ्यो । म नबोली खाएर उठेँ, बोल्नलाई त मुख ख़ाली हुनु परो नि । मेरो त मुखभरी बुजो भात थियो ।

घुर्की लगाउन आमालाई मात्र सकिन्थ्यो, बुबालाई त मनको कुरा भन्न पनि डर लाग्थ्यो भलै बुबाले आजसम्म कहिल्यै गाली गर्नु भएको थिएन ।

मेरो आँखा त आँगनतिर माल्दाईलाई खोज्दै, डोल्मा घड़ी हेर्दै थिए । बल्ल बल्ल १२ बज्यो । म झोला लिएर बाहिर निस्किएँ , माल्दाई अझै आउनु भएन । १२:३० भयो, अँह आउनु भएन । अब घड़ी किन छिटो घुमेको होला जस्तो भयो । मिनेट काँटा जसरी बिस्तारै हिँड्न नसक्ने सेकेन्ड काँटालाई गाली गर्न मन लाग्यो । दम दिने ठाउँको सुइरो तानेर उल्टो घुमाईदिऊँ जस्तो लाग्यो । मेरो छटपट देखेर आमाले “ जा न सानिमाकै घर जा “ भन्नुभयो । हेर मेरा बुद्धि, दुई सय मिटर पर त थियो सानिमाको घर । उतै नगएर किन पानी नपाएको माछो जस्तो छट्पटाएको होला !! म दौडेर एकै मिनेटमा सानिमाको घर पुगेँ । माल्दाई हिँड्नलाई साइतको टिका लगाउँदै हुनुहुँदो रहेछ सानिमाबाट । मलाई पनि लगाईदिनु भयो टिका । त्यसपछि हाम्रोमा आयौ । आमै र आमाले फेरि टिका लगाईदिनु भयो र हामी हिँड्यौँ ।

चारआली पुग्न पैदल ३० मिनेट जति लाग्यो । टिकट काटेको थिएन , त्यसैले लोकल बस चढेर काँकडभिट्टा नै गयौँ । माल्दाईले चिनेका एक जना शिव बराल दाई हुनुहुँदो रहेछ टिकट काउन्टरमा । “टिकट त प्याक छ तर स्टाफ़ सिटमा बसेर जाऊ तिमी, भाइलाई बोनेटमा बसाइदिउँला “ भन्नुभयो वहाँले । ३ बजे तिर कन्काई यातायातको नाइट कोच स्टेसनमा आएर रोकियो । त्यहाँबाट चढ्ने यात्रीहरू चढे । हामी अझै काउन्टर भित्रै थियौँ । कसैले मलाई पछाडि ढाप मार्दै “कता जान लागेको भतिज ?” भन्यो । फर्केर यसो हेरेको त हरि अंकल हुनुहुँदो रहेछ । हरि अंकल मसँगै एउटै कक्षामा पढ्ने साथी नीर्मला बिस्टको बुबा हुनुहुन्थ्यो । घर त्यति नजिक त थिएन हाम्रो ६ नम्बर वडा वहाँहरूको ४ नम्बर हँडिया खोला पारि । तर साथीको बुबा भएकोले अंकल भन्ने गर्थेँ र वहाँले भतिज भन्नुहुन्थ्यो । “काठमाडौ जान लागेको अंकल “ भनेँ । “ कुन बसको टिकट ?” वहाँले सोध्नुभयो । “ टिकट छैन, तपाईँकै बसमा पठाईदिन लागेको “ शिव बरालले अंकललाई भन्नुभयो । हरि अंकल त्यही कन्काई नाइट बसको ड्राइवर हुनुहुँदो रहेछ । अब त झन् ढुक्क भयो । करिब ४ बजे काकडभिट्टाबाट बस हिँड्यो । माल्दाई पछाडि कता बस्नुभयो कुन्नी, म चाहिँ क्याबिनमा हरि अंकलले बस कुदाएको हेर्दै कुरा गर्दै बोनेटमाथि बसेँ ।

ईटहरीसम्म विभिन्न स्थानबाट टिकट काटेका मान्छेहरू चढाउँदै ७ बजे बस कोसी ब्यारेज आईपुग्यो । म वराहक्षेत्र गए पनि कोसी ब्यारेज पुगेको थिइनँ । अगाडिबाट सबै हेर्दै हेर्दै गएँ । अंकलले महत्वपूर्ण ठाउँहरू बताईदिनु भयो । करिब ९ बजे बस लाहान आईपुग्यो र खाना खानको लागि रोकियो । म शाकाहारी, होटलको नखानू भनेर आमाले घरबाटै के के खानेकुरा हालिदिनुभएको थियो । तर अंकलले म शाकाहारी खुवाउँछु भतिजलाई भनेर सँगै लानु भयो । यात्रुहरू होटलमा खान थाले । स्टाफहरूलाई भित्र बेग्लै कोठामा ताजा मिठो खुवाईँदो रहेछ । माल्दाई पनि हामीसँगै हुनुहुन्थ्यो । मैले शाकाहारी र बाँकीले मासुभात खानुभयो । हेटौँडा पुग्दा लगभग १ बजेको थियो । हेटौँडामा ड्राईवर फेरिने रहेछ । हरि अंकल त्यहीँ बस्नुभयो र त्यहाँबाट अर्को ड्राईवर आएपछि पुन: हिँडियो । बिहान सकुसल करिब ८ बजे बसपार्कमा (अहिलेको पुरानो बसपार्क ) पुग्यौँ र त्यहाँबाट माल्दाईको डेरा कुपन्डोल पुगेर झोला बिसायौँ ।

थापाथलीबाट बागमती पुल तरेर अलिकती अगाडि बढेपछि दाँयातिर एउटा हनुमानको मूर्ति रहेछ । त्यहाँबाट भित्र पस्ने सानो गल्लीबाट छिरेर करिब ५० मिटर भित्र एउटा पुरानो तीनतले घरको भुईँ तलाक़ो दुई कोठा भाडामा लिएर माल्दाई र वहाँका दुईजना साथीहरू बस्नुहुँदो रहेछ । एउटा कोठामा एउटा खाट, एउटा सानो टेवल, किताब राख्ने सानो -याक, अर्को कोठामा पनि एउटा खाट र भान्साको लागि चाहिने सामानहरू । हामी पुग्दा कोठामा वहाँसँगै बस्ने दुर्गा सापकोटा दाइ हुनुहुन्थ्यो । म पढ्दैगरेको स्कुलबाट फस्ट डिभिजनमा SLC पास गर्ने पहिलो विद्यार्थी भएकोले नाम सुनेको थिएँ तर भेटेको थिएन । वहाँ पुल्चोकमा इन्जीनियरिंग पढ्दै हुनुहुँदो रहेछ । हामी पुग्दा दुर्गा दाइले खाना पकाई सकेको रहेछ दुई जनालाई । अर्को साथी बिहानको क्याम्पस गएको हुनाले खाना खाएको थिएन । दुर्गा दाइ क्याम्पस जानु पर्ने भएकोले वहाँ खाएर जानुभयो । केही बेरमा अर्को साथी इन्द्र पाठक आइपुग्नु भयो । बुबा र इन्द्र सर एउटै स्कुल पढाउने भएकोले वहाँलाई चिन्थेँ म । अहिले बेतलवी बिदा लिएर पाटन क्याम्पसमा पढ्दै हुनुहुँदो रहेछ । दिउँसो काम पनि गर्नु हुँदो रहेछ । वहाँ पनि खाएर जानुभयो । बाँकी हामी दुईजना, मलाई भोक लागिसकेको थियो । राति होटलमै खाएकोले आमाले घरबाट हालिदिएको भुटेको चिउरा र चिनी म निकालेर खान थालेँ । माल्दाईले जुठा भाँडा मोलेर भात पकाउनु भयो र १२ बजेतिर दाजुभाइले भात खायौँ । त्यसपछि माल्दाई र म केहीबेर घुम्न निस्कियौँ । मलाई नहराओस् भाइ भनेर हनुमानको मूर्तिबाट यति भित्र पस्नु र यो घर हो है भनेर माल्दाईले तीनपल्ट हनुमान स्थानबाट घर ओहोरदोहोर गराउनु भयो । पहिलो पल्ट यति लामो यात्रा र अनिदो पनि भएकोले बागमती पुल सम्म पुगेर कोठा फर्किएर दुवैजना सुत्यौँ । ब्यूँझदा साँझ परेको थियो र इन्द्र सरले खाना बनाइसक्नु भएको थियो । खाना खाएर केहीबेर कुरा गरेर सुतियो । चिसो निकै भयो मलाई , म त स्वेटर नखोली सिरकमा घुस्रिएँ ।

मलाई नहराओस् भाइ भनेर हनुमानको मूर्तिबाट यति भित्र पस्नु र यो घर हो है भनेर माल्दाईले तीनपल्ट हनुमान स्थानबाट घर ओहोरदोहोर गराउनु भयो ।

कतिबेला निदाएँ कुन्नी दाइले उठाउँदा ७ बजेको थियो । चिसोले गर्दा नुहाउने आँट आएन । ट्वाइलेट जाने, दाँत माँझ्ने र मुख धुने काम भए । खाना खाएपछि र अलिक घाम लागेपछि अलिकति पानी तताएर चिसोमा मिसाई नुहाएँ मैले पनि । दिउँसोतिर माल्दाई र म पशुपति गयौँ ।

शुक्रबार बिहान उठ्दा माल्दाई र इन्द्र सर बिहानै क्याम्पस जानु भएछ । दुर्गा दाइ खाना बनाउँदै । खाना पाकेपछि हामीले खायौँ , दुर्गा दाइ पनि हिँड्नु भयो । म एक्लै । केहीबेरमा माल्दाई र इन्द्र सर पनि आएर खाना खाएर इन्द्र सर अफिस जानुभयो । माल्दाईको पनि अफिस जानु पर्ने , मलाई छोड्न पनि नमिल्ने । हामी सँगै गयौँ सिंहदरबार । राष्ट्रिय कम्प्यूटर केन्द्रमा काम गर्नुहुँदो रहेछ । मलाई सिंहदरबारको मूल गेटबाट बाहिर नजानू, भित्र घुम्दै गर्नु , म केहीबेरमा आउँछु भनेर जानुभयो । म घुम्न थालेँ । गाउँबाट आएको सानो फुच्चे, दरबारै दरबार भएको ठाउँमा एक्लै भएँ । केही डर पनि लाग्यो । एउटा ठूलो छातैछाता भएको घर रहेछ, बोर्डमा नेपाल टेलिभिजन लेखिएको थियो । घरमा टिभी थिएन त्यसैले मलाई खासै चासो भएन तर टेलिभिजन भएपछि रेडियो नेपाल कहाँ छ भनेर कौतुहलता जगायो । यता उता हेर्दै गएँ , अरू बाटोमा जाँदा हराउँछु भन्ने डरले मूल गेटबाट छिरेर जुनबाटो माल्दाईसँग आएको थिएँ त्यही बाटो हिँड्दै गएँ । एउटा ठूलो दरबारमा राष्ट्रिय पन्चायत लेखेको देखेँ । अझै अगाडि हिँड्दै गएँ । मूख्य सिंहदरबारको भवन पुगेँ , अगाडि पानीको फोहोरा सहितको बगैँचामा पुगेपछि मूल गेट आयो । बाहिर निस्किन अनुमति थिएन । बगैँचामा एक जना वृद्ध काम गर्दै थिए, उनैलाई रेडियो नेपाल कहाँ छ भनेर सोधेँ । किनकि रेडियो नेपाल सिंहदरबारभित्रै छ भन्ने कुरा त दिनैपिच्छे बासुदेव दाइको मुखबाट रचना पठाउने ठेगाना भन्दा सुनिरहेको थिएँ । उनले नै बगैँचाबाटै अलिक अगाडि दाहिने तिर औँल्याउँदै रेडियो नेपाल देखाई दिए । खुसी हुँदै गेटमा पुगेँ, चिनेको कसैलाई थिएन, गेटका सूरक्षाकर्मीले भित्र जान दिएनन्, कसलाई खोजेको भने , मैले “बासुदेव मुनाललाई” भनेँ । “वहाँ त भरे ५ बजे मात्र आउनु हुन्छ, समय लिएको थियो र भेट्न?” “थिएन” मैले भनेँ । यसरी रेडियो नेपाल पुगेर पनि चिनेको मानिस नहुँदा रेडियो नेपाल घुम्ने र बासुदेव मुनाल दाइलाई भेट्ने रहर रहरमै सिमित हुनपुग्यो । पछि २०४९ सालमा म त्रिचन्द्रमा BSc पढ्दै गर्दा बासुदेव दाइलाई भेट्ने रहर पूरा गरेँ । केही वर्ष अगाडि बासुदेव मुनाल दाइ बितेको खबरले निकै दुखी भएँ । माल्दाई अफिसबाट निस्केपछि कोठा आयौँ । खानपिन गरेर सुतियो ।

आज शनिवार, क्याम्पस अफिस सबैको छुट्टी । दुर्गा दाइ र इन्द्र सर कपडा धुने र सरसफाई गर्ने भन्दैहुनुहुन्थ्यो । हामी दाजुभाई बिहानै थापाथली, माइतीघर, पुतलीसडक हुँदै पैदल ८ बजेतिर बागबजारको खसी बजारबाट भित्र जाने साँघुरो गल्लीभित्रको एउटा घरको दोस्रो तलामा पुग्यौँ । कहाँ जाँदै थियौँ मलाई थाहा थिएन र मैले सोधिन पनि किनकि जता गए पनि मेरोलागि नौलो नै थियो । माल्दाईले ढोका ढक्ढकाउनु भयो । बागबजारको गल्लीको घर बाहिर घाम लागे पनि अँध्यारो छ, अनुहार राम्ररी देखिन्न । एकजना मेरै उमेरकी केटीले ढोका खोलिन् । भित्र पसेपछि र बिजुलीको उज्यालो देखेपछि मात्र लक्ष्मी माइज्यू, बहिनी रेखा र भाइ सरोजलाई भेट्न आएका रहेछौँ भन्ने थाहा पाएँ । माइज्यूले चिया बनाउनु भयो । चिया पिउँदै कुरा गर्दै गयौँ । कुरा गर्दागर्दै ९ बजेछ । अब जान्छौँ भनेर माल्दाई उठ्नुभयो , “कहाँ जाने ? खाएर जानुपर्छ” भनेर माइज्यूले हिँड्न दिनु भएन । एउटा ठूलो कोठा, कोठामा सुहाउने एउटा ठूलो खाट, कपडाले छोपेको केही सुटकेशहरूको चाङ, एउटा काठको भाँडा,मसला राख्ने -याक, त्यसमाथि स्टोभ, एउटा गोद्रेज स्टील दराज, दुईवटा मुडा । त्यो एउटा कोठा कोठा होइन सम्पूर्ण घर थियो । ट्वाईलेट भुईँतलामा सिँडीमुनिको चेप । माइज्यूको जागिर टिम्बर कर्पोरेशनमा भएकोले माइज्यू र भाइ बैनी मात्र काठमाडौ बस्नुहुन्थ्यो । मामा राम प्रसाद त्यतिबेला भद्रपुर नगर पञ्चायतको प्रशासक हुनुहुन्थ्यो ।

खाना खाएर हामी रत्नपार्क, घन्टाघर, रानी पोखरी, राजदरबार हेर्दै पैदल नै कुपन्डोल कोठा आयौँ ।

आइतबार बिहानको खाना खाएपछि मलाई इन्द्र सरले जावलाखेल लिएर जानुभयो र “चिडियाखाना घुम्नु र बाहिर निस्केर यहीँ बस्नु, म तीन बजे तिर आउँछु “ भनेर टिकट काटेर भित्र पठाएर जानुभयो । जिन्दगीमा पहिलो पल्ट कुनै चिडियाखाना घुम्दैथिएँ । गेट छेवैको पसलमा एउटा कापी र कलम किनेँ । जति घुम्दै गएँ देखेका पशुपंछी, जनावर सबैका नाम टिप्दै गएँ । एउटा काकातुवा नाम गरेको चरो ८४ वर्षको भनेर लेखिएको थियो, एउटा चराको त्यति लामो आयु, अचम्म लाग्यो । त्यो चरो १२ वर्ष पछि ९६ वर्षको उमेरमा मरेको सुनेको थिएँ । हात्ती त जंगलकै छेउको घर भएकोले सानैदेखि देखेको थिएँ । हरिण, जरायो, मृग, बाँदर, ढेडु आदि देखेकै थिएँ तर बाघ, भालु, गैँडा, चितुवा आदि जंगली जनावर मेरालागि नयाँ थिए । १० बजे भित्र छिरेको म करिब ३ बजे बाहिर निस्किएँ । त्यहीँ छेउको एउटा पसलमा केही किनेर खाँदै थिएँ इन्द्र सर आइपुग्नुभयो र डेरामा आयौँ ।

सोमबार बिहानै माल्दाई र म थापाथलीबाट ट्रलीबस चढेर कोटेश्वर गयौँ । कोटेश्वरमा ट्रलीबसबाट ओर्लेपछि केही पश्चिम खेतको आलीआली हुँदै महादेवस्थान नजिकै एउटा पुरानो घरमा पुग्यौँ । गोपाल पोख्रेल मामा र माइज्यू त्यहीँ डेरा बस्नुहुन्थ्यो । मामाको विवाह भएको एक वर्ष पनि भएको थिएन । मामा भक्तपुर क्याम्पसमा पढाउनु हुन्थ्यो । खाना खाएर मामा, माल्दाई र म सँगै कोटेश्वर चोकमा आयौँ । माल्दाई ट्रलीबस चढेर अफिस तिर लाग्नुभयो । मामा र म ट्रलीबस मै भक्तपुर गयौँ । सूर्यविनायक सम्म जाँदो रहेछ ट्रलीबस । त्यहाँ झरेर मामाको क्याम्पस गयौँ । मामाका दुई वटा क्लास लिनु पर्ने रहेछ त्यतिन्जेल म अफिसमा बसेँ । मामा कक्षाबाट आएपछि भक्तपुर दरबार घुम्न गयौँ । पचपन्न झ्याले दरबार सुनेको र पढेको मात्र थियो देख्दा मनै प्रफुल्ल भयो । त्यो दिन म काेटेश्वरमा मामाकैमा बसेँ । भित्र खाना खाँदै थियौँ बेलुकाको , अचानक भयंकर ठूलो आवाज आयो, घर नै थररर गर्यो । म जुठैहात हतारहतार बाहिर निस्केर आकासमा हेर्न थालेँ । एउटा अजंगको विमान भर्खर उडेर आकासिँदै थियो । मामा र माइज्यू दुवै हाँस्नु भयो । त्यहाँबाट त नजिकै विमान उडेको र बसेको देखिने रहेछ । राति लगभग ९ बजे सम्म विमान उडे तर त्यसपछि आवाज सुनिन , कतिबेला निदाएँ , उठ्दा झिसमिस उज्यालो हुँदै थियो ।

मामा कक्षाबाट आएपछि भक्तपुर दरबार घुम्न गयौँ । पचपन्न झ्याले दरबार सुनेको र पढेको मात्र थियो देख्दा मनै प्रफुल्ल भयो ।

बुधबार खाना खाएर मामाले नै एयरपोर्ट घुमाउन लानु भयो । सायद बेलुकाको जुठोहात सम्झनु भयो होला । एयरपोर्ट टर्मिनलको माथिल्लो तलामा गएर त्यति नजिकबाट त्यति ठुला हवाइजहाज देखेकै थिइनँ । चारआली व्यारेकमा कहिले कहिले हेलिकप्टर आएको र आकासमा उडेका ससाना चरा जत्रा जाहाज बाहेक देखेकै थिएन । चारआली व्यारेकमा हेलिकप्टर आउँदा हामी स्कुलबाट कुदेर आउँथ्यौँ हेर्न र व्यारेकको काँडे तारबार बाहिरबाट हेर्थ्यौँ हेलिकप्टर उडेको । एयरपोर्टबाट हामी पशुपति गयौँ, पशुपतिबाट बुढानीलकण्ठ, त्यहाँबाट बालाजु बाईसधारा, त्यहाँबाट स्वयम्भु हुँदै त्रिपुरेश्वर आएर ट्रलीबस चढेर साँझमा पुन: कोटेश्वर आइपुग्यौँ । आज धेरै घुमेकोले निक्कै थकाई अनुभव हुँदैथियो । खाना खाएर सुतेको फुस्सै निँदाएँछु कुनै आवाजले उठाएन राति ।

बिहिबार खाना खाएर माइज्यूसँगै माइतीघर सम्म ट्रलीबसमा आएँ । माइज्यू पद्मकन्या पढ्नुहुन्थ्यो ,मलाई “एक्लै जान सक्नुहुन्न होला पुर्याइदिन्छु कुपन्डोल” भन्दै हुनुहुन्थ्यो । मैले “सक्छु नि किन नसक्नु “भनेपछि माइज्यू माइतीघरमा उत्रेर जानुभयो । माइज्यू गइसकेपछि यसो सोचेँ “ कोठा जाऊँ भने दिउँसो कोही हुन्न, मसँग चाबी छैन । अन्त जाऊँ भने देखेको छैन, नयाँ ठूलो बजारमा हराउँछु कि भन्ने त्रास “ । त्यो आकासे लिकमा हिँडीरहेको ट्रलीबसबाट थापाथलीमा नझरी बसिरहेँ । त्रिपुरेश्वर पुगेपछि त त्यही बस हिँडीरहने रहेछ । म पनि उत्रिनै मन लागेन । त्यही बसमा सूर्यविनायक पुगेँ । त्यहाँ त्यो बस छोडेँ तर स्टेसनबाट टाढा गईँनँ । फेरि पछिल्लो बसमा चढेर त्रिपुरेश्वर आएँ, पुन: एउटा छोडेर सूर्य विनायक गएँ । करिब ३ बजुन्जेल यो क्रम जारी रह्यो । बाटाका सबै स्टेसनहरू कण्ठस्त भए । ३:३० तिर कुपन्डोल कोठा गएँ , इन्द्र सर भर्खर आउँदै हुनुहुँदो रहेछ । बेलुका मेरो दिउँसोको ट्रलीबस मोह सुनेर सबै मरिमरी हाँस्नुभयो ।

शुक्रबार वालाचतुर्दशी थियो, पुस पनि लागिसकेको थियो जस्तो लाग्छ, गते सम्झन सकिन । बिहान ४ बजेतिरै माल्दाई र म नुवाई धुवाई सकेर सत्वीज छर्न पशुपति गयौँ । ओहो, कति भीड, खुट्टा टेक्ने ठाउँ छैन । बाबुआमा हुनेले नछर्नु भन्दारहेछन् , सानाबुबाको निधन पहिल्यै भैसकेको हुनाले माल्दाई छर्ने म रमिता हेर्दै सँगसँगै हिँड्ने गरियो । इन्द्र सर र दुर्गा दाइका बुबाआमा नै भएकोले वहाँहरू जानुभएन । हामी पशुपतिबाट घर आउँदा करिब ११ बजेको थियो । अफिस क्याम्पस छुट्टी भएकोले सबै कोठामै हुनुहुन्थ्यो , खाना तयार थियो । हामीले खायौँ र त्यो दिन गफ गरेरै बितायौँ ।

शनिबार माल्दाईले नयाँ सडक, हनुमान ढोका र धरहरा घुमाउन लानु भयो । बेलुकापख सबैजना पाटनको कृष्ण मन्दिर हेर्न गयौँ र पाटन ढोका हुँदै फर्कियौँ । आइतबार सबै आफ्आफ्ना काम र क्याम्पस लागेपछि म पुन: थापाथली आएर ट्रलीबस चढेँ । मलाई किन किन ट्रलिबसको प्यास मेटिएको थिएन । तर दिनभर गरिन आज चाहिँ । सूर्यविनायक पुगेर फर्केपछि पुन: कोठा आएँ । चाबी बोकेर गएको थिएँ आज चाहिँ । भोलि घर जाने भनेको सोमबार परेछ । बुबाले भनेको सम्झेँ ।

“ए नानी पूर्वतिर सोम शनिश्चरैबार
ठिक छैन दक्षिण दिशातिरमा विहिबार
हुँदैन पश्चिम दिशातिर शुक्र आइत
उत्तर नगर्नू बुध मंगलबार साइत ।”

त्यसैले मंगलबार घर जाने निधो गरियो । सोमबार माल्दाईसँग नयाँ सडक गएर घरको लागि कोशेली गुदपाक र पुष्टकारी किन्यौँ , त्यहाँबाट पुरानो बसपार्कमा गएर न्यू अजिमा ट्राभल्सको B साइडको ४ नम्बर सिटको टिकट किनियो । पुरानो बसपार्कबाट हिँड्दै सिंहदरबार पुगेपछि माल्दाई “ तँ कोठा जाँदै गर, म अफिस पुगेर एउटा सानो काम सकेर आउँछु “ भनेर जानुभयो । मसँग चाबी छँदैथियो, म सरासर कोठा आएँ । कोठा पुग्दा इन्द्र सर आइसक्नु भएको रहेछ । टाउको दुखेर चाँडै आएको भन्नुभयो । वहाँ सुत्नु भयो , म पनि यसो ढल्केको निँदाएँछु ।

म उठ्दा ४ बजेको थियो माल्दाई अझै आइपुग्नु भएको थिएन । दुर्गा दाइ आइसक्नु भएछ । इन्द्र सरले “ कति सुतेको उठ, तिमी सुतेपछि म पशुपति गएको थिएँ यी प्रसाद ल्याएको छु , खाऊ “ भनेर एउटा रिकापीमा एउटा कालो डल्लो दिनुभयो । दुर्गा दाइ छेउमा बसेर हेर्दै हुनुहुन्थ्यो । पशुपतिको प्रसाद नखाने वा खान्न भन्ने कुरै भएन नि । क्वाप्प मुखमा हालेँ पुस्टकारी जस्तो लागेर तर नत गुलियो, न मिठाईको स्वाद ? नुनिलो, मसला भएको, अलिकति चुइगम जस्तै चाम्रो हो कि जस्तो, अनौठो लाग्यो, तर मीठो लाग्यो । प्रसाद भनेपछि थपिथपि खाने कुरा पनि भएन । कस्तो नयाँ स्वादको पशुपतिको प्रसाद रहेछ कहिल्यै नखाएको । साँझमा माल्दाई आउनु भयो । माल्दाई आएपछि मैले भने “ दाजु हामीले त गुदपाक र पुष्टकारी मात्र किन्यौँ, इन्द्र सरले आज ल्याएको प्रसाद त झन् मिठो रहेछ, त्यो पनि अलिकति किनौँ है बिहान ।” “ कुन प्रसाद इन्द्र जी ?” माल्दाईले इन्द्र सरलाई सोध्नु भयो । इन्द्र सरले पल्लो कोठाबाट एउटा कचौरामा ल्याएर “ यी यो प्रसाद” भनेर देखाए पछि दुर्गा दाइ र इन्द्र सर पेट मिचिमिचि हाँस्न थाल्नुभयो । माल्दाईको अनुहार अलिक बिग्रियो, म केही भेउ नपाएर हेरिरहेँ । के हो कुरा केही बुझ्न सकिन । दुर्गा दाइले “ आज दुष्यन्तले पशुपतिको प्रसाद भनेर मासु खाए “ भनेपछि मात्र रहस्य खुल्यो । जिन्दगीमा कहिल्यै मासु नखाएको मलाई के थाहा त मासको स्वाद कस्तो हुन्छ भनेर, प्रसाद भनेर दिएपछि प्रसाद नै सम्झेर खाएँ । माल्दाईले इन्द्र सरलाई गाली गर्नुभयो । मलाई पनि डर लाग्यो बुबा आमाले थाहा पाउनु भयो भने तर मेरो गल्ती त के थियो र ? राति पनि एकातिर डर लागिरह्यो भने अर्कोतिर नयाँ प्रसादको स्वाद मष्तिस्कबाट निस्कनै मानेन ।

आज घर जाने दिन , बिहानै दाजुभाइ पशुपति गयौँ । पशुपतिको दर्शन गरेर फूलपाति र सेतो दाने मिठाई कोसेली लिएर आयौँ । खाना खाएर सबै आआफ्ना काममा जानुभयो । करिब २ बजे तिर माल्दाई कोठा आउनुभयो । समोसा लिएर आउनु भएछ । दाजुभाइले समोसा खाजा खाएर करिब ४ बजे अहिलेको पुरानो बसपार्क पुग्यौँ माल्दाई र म । न्यू अजिमा ट्राभल्स लागिरहेको थियो स्टेसनमा । म चढेँ, झोलालाई सिट मुनि छिराएँ र B साइडको ४ नम्बर सीटमा बसेँ । माल्दाई झ्याल बाहिर हुनुहुन्थ्यो । एकजना २५/३० वर्षकी महिला मेरो छेउमा आएर बसिन् । माल्दाईले चिनेकै महिला रहिछिन्, नमस्कार गर्नुभयो झ्याल बाहिरैबाट ।

माल्दाई : हजुर कहाँसम्म जाने दिदी ?
दिदी : धरान हिँडेकी, इटहरीमा झर्छु यो बसबाट ।
माल्दाई: एए , दिदी, यो मेरो भाइ हो, पहिलो पल्ट एक्लै जाँदैछ , बाटोमा यसो रेखदेख गरिदिनु होला है !
दिदी : भैहाल्छ नि ।

माल्दाई दिदीको जिम्मा लगाएर जानुभयो । बस हिँड्यो । बस थानकोटबाट अगाडि बढ्दै गर्दा दिदीले “ भाइ, म झ्यालमा बस्छु नि है “ भनिन् । मलाई त बाहिर हेर्दै जानु थियो त्यसैले “ दिदी मलाई त बमिट हुन्छ, म त झ्यालमै बस्छु “ भनेँ । म आफ्नै सुरमा बाहिर हेरिरहेको थिएँ । मैले बमिट हुन्छ भनेपछि दिदीले A साइडको मान्छेसँग सिट साटिछन् । मेरो छेउमा एकजना वृद्ध आएर बसेँ । जो बसे पनि मलाई त के र , म झ्यालमै थिएँ । बिहान सकुशल चारआलीमा उत्रिँदा डोल्मा घडीले ८ बजाएको थियो ।
……
दसैँमा माल्दाई पुन: घर आउनुभयो ।

“ सुकमित गुरुङसँग कतिको गफ गर्दै आइस् त ? “ माल्दाईले यसो भन्दा पो म त झसंग भएँ । सुकमित गुरुङ भन्ने चिनेको भए म सिटै छोडिदिन्थेँ नि । मैले चिन्न नसक्नुमा मेरो के दोष , गीतमा आवाजमात्र सुनेको अनुहार कहिल्यै देखेको भए पो चिन्नु । थक्क थक्क लाग्यो । रेडियोमा “ ओ हो ओ मेरो प्रियतम्, मेरो प्यार मेरो जीवन…” बजिरहेको थियो ।

गीतसँगै मुखमा पशुपतिको प्रसादको स्वाद झुन्डिएको रहेछ , माल्दाईलाई देख्नासाथ जिब्रोले सुसु गरिहाल्यो !!!

……अस्तु …..

सम्बन्धित समाचारहरु

ताजा समाचार