सरकारलाई आपतकालीन रणनीति बनाउन नागरिक अगुवाको सुझाव

सरकारलाई आपतकालीन रणनीति बनाउन नागरिक अगुवाको सुझाव


काठमाडौं ।
नागरिक अगुवाहरुले नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन् । डा.महेश मास्के, कनकमणि दिक्षित, शुशिल प्याकुरेल लगायतका नागरिक अगुवाले बिहिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेरलसँग भेट गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसँग समन्वय गरी आपतकालिन रणनीति बनाउन सुझाव दिएका हुन् ।

संक्रमण फैलिएका देशबाट नेपाल फर्किएका नागरिकलाई सुरुमै क्वारेन्टाईनमा नराख्नु र उनीहरुको जाँच नगर्दा जोखिम बढेको भन्दै उनीहरुले शंकास्पदको तत्काल पहिचान गरी क्वारेन्टाईनमा राख्ने व्यवस्था कडाईका साथ लागू गर्न माग समेत गरेका छन् । स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी फ्लु आउटब्रेक भएको वा नभएकोबारे दैनिक जानकारी लिनुको साथै क्वारेन्टाईनमा रहेका व्यक्तिको संख्या यकिन गर्न पनि उनीहरुको सुझाव छ । उनीहरुले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामाग्रीको आपूर्ति तत्काल गर्न , तत्काल आपूर्ति गर्ने अवस्था नभए देशभित्रै पीपीई उत्पादन गर्ने काम सुरु गर्न, ल्याब/उपचारको प्रोटोकल तयार गरी कन्ट्याक्ट ट्रेसिंग सुरु गर्न, लक्षण नदेखिएका तर बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई आईसोलेट गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

केन्द्रमा एकिकृत कमाण्ड सञ्चालन गर्न तथा स्थानीय र प्रदेशको गतिविधि समेत समेटेर एकद्धारबाट दैनिक मिडिया ब्रिफिङ गरी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन पनि उनीहरुको माग छ । त्यस्तैगरी रोजगारी गुमाएका कमजोर वर्ग, दैनिक ज्यालादारी, नाङ्लो पसल आदि सञ्चाल गर्नेका लागि तत्काल राहत कार्यक्रम ल्याउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Logo