काठमाडौं ।
वैदेशिक रोजगार व्यवसायीहरुले खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले मागपत्र स्वीकृत नगरिदिंदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन् ।
व्यवसायीहरुले पछिल्लो समय कतार, बहराइन, दुवई लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका राजदूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन् । खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको तर कोभिडलाई देखाउँदै दुतावासहरुले स्वीकृत नगरिदिंदा वैदेशिक रोजगारीको माग गुम्ने स्थिती आउन लागेको बताएका हुन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उपस्थित भएका व्यवसायीहरुले मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले वैदेशिक रोजगारीलाई खुल्ला गरेको भएपनि दुतावासहरुले मागपत्र प्रमाणिकरण नगरिदिंदा वैदेशिक रोजगारका लागि नयाँ कामदार पठाउन नसकिएको बताएका हुन् । वैदेशिक रोजगारका निमित्त आएका मागपत्रको प्रमाणिकरण नभए नेपालका लागि आएको माग अन्य मुलुकमा जान सक्ने जोखिम रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।
दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिंदा मानिसहरु भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेको व्यवसायीहरुले बताएका छन् । लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुवईबाट आएको मागपत्र स्वीकृत नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरुको संख्या बढेको बताए । भिजिट भिसामा गई काम गर्नु अवैध भए पनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भएको बताए ।
उनले नेपालबाट दैनिक ५ सयदेखि ७ सयको संख्यामा भिजिट भिसामा खाडी मुलुक गएको र एयरपोर्टमा करोडौंको चलखेल हुने गरेको दावी समेत गरे।
नेपाल सरकारले कोभिड संक्रमणको जोखिम कम भएका मुलुकहरुमा वैदेशिक रोजगारका लागि कामदार पठाउन खुला गरेको छ । वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व स्वीकृति र अन्तिम स्वीकृृति दिइरहेको छ तर सम्बन्धित देशमा रहेका राजदुतावासबाट मागपत्र प्रमाणिकरण नभएपछि नयाँ कामदार पठाउन नसकिएको गुनासो व्यवसायीहरुको छ।