काठमाडौं।
देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गरेकोमा हालसम्म ६९ दशमलव ३७ प्रतिशत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।
१२ वटा प्याकेजअन्तर्गत ४६ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, १८ प्याकेजमध्येमा हालसम्म ११ हजार ८६ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ, जसमा ५०६ स्थानीय तह, चार हजार १६५ वडा कार्यालय तथा तीन हजार ४७२ माध्यमिक विद्यालय तथा दुई हजार ९४३ स्वास्थ्य संस्था रहेका छन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार दुईवटा प्याकेज अन्तर्गतका नौ जिल्लामा ५० प्रतिशतभन्दा बढी, चार प्याकेज अन्तर्गतका १९ जिल्लामा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायकहरु छनोट भई निर्माण कार्य भइरहेको छ ।
यसैगरी, चार हजार ८९६ मा इन्टरनेट जडानको कार्य बाँकी रहेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्म ४६ जिल्लाहरुमा शतप्रतिशत र बाँकी नौ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । त्यस्तै, चारवटा प्याकेज अन्तर्गत १९ जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।
कूल रु पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकम मध्येमा हालसम्म रु दुई अर्ब ७१ करोड रकम ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकहरुलाई भुक्तानी गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार, उक्त परियोजना अन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट विस्तारमा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेटेको छैन । ७४ जिल्लामा ७०२ स्थानीय तह, पाँच हजार ९३३ वडा कार्यालय, पाँच हजार २२५ मावि र चार हजार १२२ स्वास्थ्य संस्था गरी १५ हजार ९८२ स्थानमा इन्टरनेट विस्तारको अनुमान गरेर १८ प्याकेजमार्फत विस्तार गरेको छ ।