कोरोनो संक्रमण रोक्न, महानगरको सरसफाई अभियान

कोरोनो संक्रमण रोक्न, महानगरको सरसफाई अभियान


काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र कोरोना भाइरस फैलिन नदिन सरसफाई कार्यक्रमलाई विशेष ध्यान दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउँदै महानगरले सरसफाई कार्यलाई तीव्रता दिएको हो ।

महानगरका ३२ वटै वडामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरले बुधबारबाट काठमाडौं महानगर क्षेत्रभित्र सडक,पानी ट्याङ्की र ब्रुमरमार्फत सरसफाई  गर्ने कामलाई तीव्रता दिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । नेपालमा भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि ‘लकडाउन’ गरेको थियो । शाक्यकाअनुसार ‘लकडाउन’ को समयमा महानगर क्षेत्रभित्र फोहोर थुप्रिदा भाइसरको संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्यूनिकरणका लागि सरसफाइलाई विशेष ध्यान दिइएको हो । त्यस्तै विपद्को समयमा समान्य प्रकृतिका फोहोरजन्य वस्तु घरमा नै व्यवस्थापन गर्न पनि शाक्यको आग्रह छ । उनले भने–‘सकेसम्म दैनिक रुपमा उत्पादन हुने र व्यवस्थापन गर्न सकिने फोहोरलाई घर–घरमै व्यवस्थापन गर्न आग्रह गर्दछौ ।’

त्यस्तैगरी नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि टोली  बनाएर सरसफाईको कामलाई तीव्ररुपमा अघि बढाएको बताए । बालाजु, नयाँ बजार, लैनचौर, दरबारमार्ग, बल्खु, कुलेश्वर, कालीमाटीमा सरसफाइलाई तीव्र पारिएको छ । सापकोटाले लकडाउन अवधिभर सम्पूर्ण महानगरवासीहरूलाई सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गर्न  अनुरोध  समेत गरेका छन् । उनले कोरोना सम्बन्धी सचेतना जगाउन माइकिङमार्फत बुधबारबाट नै चार ओटा क्षेत्र बनाएर कार्यक्रम सुरु गरेको पनि जानकारी दिए ।

नयाँबानेश्वर लगायतका क्षेत्रका सडकमा चार वटा ब्रुमरको प्रयोगबाट सरसफाईको कामलाई तीव्रता दिइएको छ ।

Logo